पुनर्निर्माण पछिको केशर महलः भव्य संरचना, आकर्षक पुस्तकालय

पुनर्निर्माण पछिको केशर महलः भव्य संरचना, आकर्षक पुस्तकालय

केन्द्रबिन्दु
672
Shares

काठमाडौं । केशर महलको पुनःनिर्माण कार्य सकिएसँगै भवनभित्रै सुविधा सम्पन्न पुस्तकालय सञ्चालनमा ल्याउने तयारी थालिएको छ । वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त भएको केशर महल पुनर्निर्माण पश्चात् नयाँ स्वरूपसहित सञ्चालनमा आउन लागेको हो ।

भूकम्पले भवनमा क्षति पुर्याएपछि सानो ट्रस्टमा पुस्तकालय सञ्चालन हुँदै आएको थियो । यद्यपि अब भने भवनको पुनर्निर्माण भएसँगै महलभित्रै छिट्टै सञ्चालनमा पुस्तकालय आउँदै छ । महलमा ५८ वटा कोठा छन् ।

जसमध्ये २५ वटा कोठामा पुस्तकालय हुने र बाँकीमा विभिन्न संस्थाका कार्यालय हुने जेडसिजीआई खानी जेभी कम्पनीका इन्जिनियर प्रेमसिंह धामीले बताए । उक्त भवनमा सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालय हुने बताइएको छ ।

करिव ५९ करोड रुपैयाँ गरेर पुनर्निर्माण गरिएको केशर महल फिनिसिङको काम सकिएर हाल सरसफाइको काम चलिरहेको धामीले जनकारी दिए । ‘अहिले महलभित्र-बाहिर सरसफाइको काम चलिरहेको छ भने पुस्तकालयमा पुस्तकहरू सारिँदै छ, यी काम सकिएपछि छिटै नयाँ पुस्तकालयमा बसेर विद्यार्थीहरूले अध्ययन गर्न पाउँने छन्,’ उनले भने ।

इन्जिनियर धामीका अनुसार केसर पुस्तकालय दैनिक १०० भन्दा बढी विद्यार्थी पढ्नेका लागि पुग्ने गर्छन् । पुस्तकालय बिहान १० बजेदेखि ५ बजेसम्म खुल्ला हुँदै आएको छ । ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको केशर महलको मात्र नभई बगैँचाको सजावट पनि निकै लोभलाग्दो बनाइएको छ । भूकम्पले क्षति पुर्याएपछि बजेटको व्यवस्थापन गरी साढे ३ वर्षसम्म चलेको पुनर्निर्माण सकिएपछि उक्त स्थानको नजारा पनि आकर्षक देखिएको छ ।

तस्विरः राम कुमार थापा/केन्द्रबिन्दु

Logo