ललितपुर महानगरपालिकाको नगर सचेतना अभियान

ललितपुर महानगरपालिकाको नगर सचेतना अभियान

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्यसहित नगर सचेतना अभियान शुरु गरेको छ । सडक छेउमा राखिने पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता समाग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान शुरु गरेको हो ।

आइतबार एक कार्यक्रम आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याइने बताए ।

कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने उनले स्पष्ट पारे । यस्तै, फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण सामाग्री राख्ने लगायतका कार्य गर्नेहरुलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ ।

सडक छेउमा रहेका विजुलीका पोलहरुमा जथाभावि तार झुण्ड्याउने काम भइरहेकाले त्यसको व्यवस्थापन गरिने मेयर महर्जनले बताए । उनले स्वच्छ र सफा नगर निर्माणका लागि महानगरबासिको सहयोग अनिवार्य रहेको पनि बताए ।

Logo