सञ्चार मन्त्री भन्छन्, ‘विष्णु पौडेललाई ठग्नेले नै क्षतिपूर्ति दिनुपर्छ’

सञ्चार मन्त्री भन्छन्, ‘विष्णु पौडेललाई ठग्नेले नै क्षतिपूर्ति दिनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

बुटवल । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेकपा महासचिव जग्गा दलालबाट ठगिएको दोहोर्‍याएका छन् । बालुवाटारको ललितानिवासमा जग्गा किनेका महासचिव पौडललाई दलालबाट ठगिएको भन्दै क्षतिपूर्ति दिनुपर्ने बताएका हुन् । पौडललाई जसले ठगेको हो उसैले क्षतिपूर्ति दिनुपर्ने तर्क अघि सारे ।

प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले महासचिव पौडेल नक्कली जग्गा किनेर ठगिएको दाबी गरे । ‘उहाँले थर्ड ह्याण्डबाट किन्नु भएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनु भएछ । अब जोसँग किन्नु भएको हो उसले क्षतिपुर्ति दिनुपर्छ’ मन्त्री बास्कोटाले भने ।

उक्त जग्गा प्रकरणमा अरु पनि ठगिएको हुनसक्ने भन्दै ठग्नेहरु पानीमुनि गए पनि नछाड्ने दाबी गरे । जग्गा प्रकरणमा पद, ओहोदा, विचारले छानविन र कारवाहीलाई प्रभावित नगर्ने उनको दाबी छ ।

उनले तथ्यविपरीत सरकारको आलोचना नगर्न सबैमा आग्रह गरे । ‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ, उठ्नै नसक्ने गरी ठटाए हुन्छ’, बास्कोटाले भने, ‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रवको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’

देशले नवनिर्माणको बाटो पक्रिसकेको र समृद्धि सिंगो देशको बहसको विषय बनेको दाबी गर्दै मन्त्री बास्कोटाले आलोचनाकाबीच पनि सरकारले नव निर्माणको लडाइँ जितेको जिकिर गरे । सरकारले रेल र पानीजहाज ल्याउने कुरा गर्दा शुरुमा विश्वास नगरेर शंका गर्नेहरुले अहिले ती कुरा वास्तकितामा परिणत हुन थालेपछि किन आवश्यक पर्‍यो भनेर प्रश्न गर्न थालेको उनको भनाई छ ।

‘पहिला रेल र पानीजहाजको कुरा गर्दा नपत्याउनेहरुले अहिले रेल आएपछि नेपाललाई के कति फाइदा हुन्छ भनेर बहस गर्न प्रश्न गर्न थालेका छन्,’ प्रवक्ता बास्कोटाले भने, ‘अब रेल र पानीजहाज आउने भएपछि ल्याउन हुन्न कि भनेर गरिने बहस घातक छ ।’

चीनको ग्रेटवाल पनि एकै दिनमा नबनेको उल्लेख गर्दै उनले सरकारसंग विकास र समृद्धिको स्पष्ट भिजन र समर्पण भएकाले धैर्य गर्न आग्रह गरे ।

Logo