मृत्युमा पनि सरकारको विभेद [भिडियाेसहित]

मृत्युमा पनि सरकारको विभेद [भिडियाेसहित]

केन्द्रबिन्दु
27
Shares

सबैलाई थाहा छ, प्रायः पैसा हुने “सुकिला मुकिलाहरु” हवाईजहाज चढ्छन् र पैसा थोरै हुने र “मैलाधैलाहरु” गाडी चढ्छन् । तर, मृत्यु त चाहे आकासमा होस चाहे जमिनमा त्यो उत्तिकै पीडादायी हुन्छ र राज्यले त्यसलाई उत्तिकै गम्भीर रुपमा लिनुपर्छ । तर, त्यो भएन । यो केही दिनको घटनाले राज्यको नजरमा “सुकिला मुकिलाहरु” र “मैलाधैलाहरु” को जीवनको महत्व फरक भएको प्रष्ट्याएको छ ।

बुधबार काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरलाइन्सको सीआरजे-७ जहाज दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको घटनास्थलमै निधन भयो । भाग्यले क्याप्टेन मणि शाक्य भने बाँचे । उनको खतरामुक्त अवस्थामा उपचार भइरहेको छ । उक्त जहाजलाई पोखरामा मेन्टेनेन्सको कामका लागि लगिँदै थियो । जहाजमा सौर्यकै व्यवस्थापक समूह र अधिकांश इन्जिनियर तथा प्राविधिकहरू थिए । तर, टेकअफ लगत्तै जहाज सुरुमा देब्रेतर्फ खसेर बजारिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको थियो । त्यस्तोमा जहाजमा सवार १८ जनाको शव यत्रतत्र छरिए । उनीहरुको शव पोष्र्टमार्टम गरेर परिवारलाई बुझाइने तयारी छ ।

त्यसैबीच प्रध्रानमन्त्री केपी शर्मासहित मन्त्रीहरुको टोली नै घटनास्थल पुग्यो र आकस्मिक मन्त्रिपरिषद् बैठक बसेर पाँच सदस्यीय जाँचबुझ आयोग गठनको निर्णयसँगै शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्यो । आज पनि परिवारलाई सान्त्वना दिन अस्पतालमा प्रधानमन्त्रीसहित उच्च पदस्थको लाइन छ ।

तर, गत असार २८ मा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भयो र ६५ जना सवार यात्रुमा ६२ जना त्रिशुलीमा हेलिए । हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ । अन्य यात्रु कहाँ छन् पत्तो छैन।

विपद्मा उद्धार र खोजीको जिम्मेवारी पाएको सेना, प्रहरी अनि अझ विशेष सशस्त्र प्रहरीको जनशक्ति असफल भएपछि भारतबाटै गोताखोर मगाएर खोजी सुरु भए पनि उल्लेख्य उपलब्धि भएको छैन। चितवनको सिमलताल पहिरोमा हराएका आफन्तको शवका लागि नागरिक शोकमा रहँदा केन्द्रमा दलहरू सरकार जोगाउने र आफ्नो नेतृत्वमा बनाउने राजनीतिक खेलमा व्यस्त थिए। अहिलेसम्म सरकारका कुनै मन्त्रीले पीडित परिवारलाई भेटेर सान्त्वना समेत दिएको छैन। त्यसपछि मृत्युमा पनि सरकारले विभेद गरेको भन्दै चौतर्फी आलोचना भएको हो ।

राज्य भनेको अभिभावक हो नागरिकको। अभिभावकले जहिले पनि सवै सन्तानलाई उत्तिकै माया गर्नु पर्छ तर यहाँ त अभिभावकले धेरै कमाउने र बलियो सन्तानलाई मात्रै माया गरे जस्तो देखिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको हो । तर, यो अवश्य सत्य हो कि हवाई यात्रा सडक यात्रा भन्दा अत्यन्त संवेदनशील हुन्छ । यसप्रति राज्यका प्रधानमन्त्रीदेखि निम्न तहका कर्मचारी सम्म संवेदनशील हुनु सुखद कुरो हो। तर मृत्यु त मृत्यु नै हो । हवाई दुर्घटना हुँदा छानबिन समिति बनाउन हतारिने तर सडक दुर्घटनामा दर्जनौं मान्छे मर्दा पनि कानमा तेल हालेर बस्ने संवेदनहिनताको अन्त्य हुनु पर्ने आवाज उठेको छ । यही संवेदनहिनताको कारण भीरबाट गाडी खसेर वर्षेनी सयौं नागरिकले ज्यान गुमाउँछन्। त्यो किन भयो भनेर केही दिन चर्चा हुन्छ र त्यसै सेलाउँछ। फेरि त्यही दोहोरिरहन्छ। तर कुनै छानबिन समिति बन्दैन।

२०७९ मा काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान दुर्घटनामा ६८ यात्रुको निधन भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गर्दै एक दिन सार्वजनिक विदा नै दिएको थियो। नागरिकतहबाट सो विदाको आलोचना समेत भएको थियो। सरकारले नागरिक मर्दा पनि उड्दा मारिएका हुन् या गुड्ँदा मारिएका हुन् भन्ने आधारमा व्यवहार गर्दै आएको भन्दै आलोचना भइनै रहेको छ। यसलाई बुधबार मन्त्रीपरिषद्ले गरेको निर्णयले समेत थप पुष्टि गरेको छ।

Skip This
Skip This
Logo