पर्वत । पर्वतमा एक जनाले आफ्नै सुत्केरी श्रीमतीलाई मरासन्न हुनेगरी कुटपिट गरेका छन् । फलेवास नगरपालिका २ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया सुत्केरी श्रीमती मुना नेपालीलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
आइतबार बिहान घरमा नै शिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका हुन् ।घाइते मुनालाई आइतबार राति नै छिमेकीको सहयोगमा जिल्ला अस्पताल पर्वत लगिएको थियो ।
त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि सोमबार दिउँसो नै पोखरा पठाइएको छ । उनको टाउकोमा गहिरो चोट लागेको र ३१ वटा टाँका मारिएको प्रहरीले जनाएको छ ।
मदनले मदिराको नशामा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मात्तिदै घरमा आएको र एक्कासी आफूमाथि हातपात गरेको पीडित मुनाले बताईन् ।
छिमेकीको सहयोगमा फलेवास नगरपालिका-१, कार्कीनेटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ । मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका छन् ।
पीडित महिलाको माइती पक्षका आफन्तहरु कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवरलगायतका व्यक्तिहरुले उनलाई अस्पतालमा सहयोग गरिरहेका छन् ।
तस्बिरः उज्यालो अनलाईन





























प्रतिक्रिया