काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि इजरायल जाने व्यक्तिको छनोट प्रक्रियाको विश्वसनीयता सुनिश्चित गर्न समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएका सहायक कामदारहरूको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले इजरायल जाने कामदारले पेश गरेका कागजपत्रबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै समितिले छनोट प्रक्रियामा पेश भएका कागजपत्रको सत्यता छानबिन गरी समग्र चयन प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन समिति बनाइएको बताएका छन् ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल र इजरायलबीच भएको सरकार–सरकार सम्झौता कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको र छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएको छ ।
प्रतिक्रिया