म्याग्दी । उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् ।
बर्खायामलाई बिदाइ गर्ने पर्वका रूपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छियुमी बिष्टले बर्खायामको बिदाइ गर्न यार्तुङ पर्व मनाउने गरिएको बताए । “यार्तुङ उपल्लो मुस्ताङको सांस्कृतिक पर्व र पहिचान हो,” उनले भने “बर्खायाम सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक विपद्, रोगब्याधी र अप्रिय घटना नहोस् भन्ने कामना सहित यो पर्व मनाउने चलन छ ।”
यार्तुङमा खेतीबाली राम्रो होस् भनेर लामाहरूले देवी देवताको पुजाआजा गर्छन् । घोडचढी कौशल देखाउने उत्सवको रूपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, साँस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङले यार्तुङ पर्व सामाजिक सद्भाव कायम राख्नका लागि पनि महत्त्वपूर्ण रहेको बताए ।
स्थानीयबासीको अनुकुलता र फुर्सद मिलाएर तीन दिन यार्तुङ पर्व मनाउने चलन छ । रानीपौवाको पुराङको जनप्रिय युवा क्लवका अध्यक्ष कैशाङ ठोक्या ठकुरीले मौलिक पर्व यार्तुङको सांस्कृति, संस्कार र मौलिकता संरक्षणसँग खेलकुद र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताए ।
यार्तुङमा गरिने घोडादौड प्रतियोगिता अवलोकनका लागि विदेशी र आन्तरिक पर्यटकहरु मुक्तिनाथ आउने गरेका बताए । तारो (घनुषवाण) र फुटबल लगायतका खेलकुद प्रतियोगिताहरू पनि आयोजना गरिएको छ ।
यार्तुङ मनाएपछि खेतीबाली भित्र्याउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्र्याएपछि चिसो शुरु नहुँदै उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौँ, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी शुरु भएपछि घर फर्कने उनीहरू सहरमा घुम्ती व्यवसाय गर्छन् ।
प्रतिक्रिया