विवाहमा डोली चढ्ने चलन हराउँदै

विवाहमा डोली चढ्ने चलन हराउँदै

केन्द्रबिन्दु
9
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का ६० वर्षीय गहनु चौधरीसँग आफ्नो विवाहमा चँडोल (डोली) चढेको सम्झना अझै ताजा छ । विवाहका बेला चँडोल चढ्दाको अनुभव सुनाउँदै उहाँले त्यो चलन अब विगत भयो, आजकल देख्न पाइँदैन भने ।

डम्फुको तालसँग नाच्दै गरेका जन्तीसँगै चँडोलमा चढेर दुलही अन्माउँदाको सम्झना निकै रमाइलो रहेको उनले सुनाए । विगतमा थोरै खर्चमा परम्परागत विधि विधानअनुसार चँडोल, डोली चढेर हुने विवाह हराउँदै गएकोमा गहनुले चिन्ता व्यक्त गरे ।

थारु समुदायको विवाहमा दुलहालाई बोक्न चँडोल र दुलही बोक्नका लागि डोलीको प्रयोग परम्परागत कालदेखि हुँदै आएको छ । हाल डोली र चँडोल चढ्ने चलन आधुनिकताको प्रवेशसँगै हराउँदै गएको गहनु बताउँछन् ।

बाह्य संस्कृतिको प्रभावका कारण चँडोल, डोलीको सट्टा दुलहादुलही बोक्नका लागि आधुनिक यातायातका साधन ट्रयाक्टर, बस र जीपको प्रयोग हुन थालेपछि विवाहमा डोली हराउँदै गएको उनको भनाइ छ ।

“विवाहमा थारु समुदायले दुलहालाई चँडोलमा, दुलहीलाई डोलीमा बोक्ने कार्यसँगै जन्तीलाई बोक्नका लागि गोरु गाडाको प्रयोग हुने गरेको थियो”, थारु अगुवा विश्राम चौधरीले भने, “हाल यातायातका साधनको सहज उपलब्धताले गर्दा थारु समुदायको पहिचान बोकेको डोली लोपोन्मुख अवस्थामा पुगेको छ ।”

थारु समुदायले विवाहमा दुलही बोक्नका लागि बनाउने डोलीमा रङ्गीचङ्गी कपडाको मोहोरी, खिल्वार, छौना, मचिया, पर्गेहनी, लाखक चुनरीया, वहन्वार, घारा, लोटा, घण्टी, पघा र स्याँठाको प्रयोग हुने गरेको उनले बताए ।

“डोली दुलही पक्षका व्यक्तिले निर्माण गर्नुपर्ने चलन थारु समुदायमा रहेको छ”, विश्रामले भने, “दुलहा पक्षबाट दिएको वहन्वार खिलवारको डोलीमा प्रयोग गर्नुपर्छ ।”

यसरी बनाइएको डोली बोक्नका लागि दुई जना व्यक्तिको आवश्यकता पर्ने उनको भनाइ छ । उनका अनुसार थारु समुदायका व्यक्तिले दुलहीको घरमा जन्ती लगेर जाँदा भने विशेष प्रकारले बनाएको चँडोलको प्रयोग गर्ने कार्य गर्दै आएका छन् ।

दुलहाको इज्जत र पहिचान बेग्लै बनाउनका लागि चँडोलको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । चँडोल बनाउनका लागि छाजन, वहन्वार, घण्टी, घारा, स्वाँठा, खटिया, पर्नेहनी र पनही आवश्यक पर्छ ।

“चँडोलमा दुलहालाई सवार गराएर चार जनाले बोक्ने गरी बनाइएको हुन्छ”, फुलराम चौधरीले भने, “हाल गरिने विवाह समारोहमा यसरी दुलहा र दुलहीलाई डोली र चँडोलमा राखेर लैजाने कार्य वीरलै देख्न पाइने गरिएको छ ।”

डोली, चँडोलले थारु समुदायको संस्कृति पहिचान झल्काउने भएकाले यसलाई बचाउनका लागि थारु युवा अग्रसर हुनुपर्ने थारु समाजसेवी जगरनाथ चौधरी बताउँछन् ।

“केहीले अहिले पनि परम्परागत संस्कृति जगेर्ना गर्नका लागि घरको केही टाढासम्म दुलहा र दुलहीलाई चँडोल र डोली चढाउने गर्दछन्”, उनले भने, “घरभन्दा केही पर पुगेपछि आधुनिक सवारीकासाधन प्रयोगमा ल्याउने गरेका छन्, पहिला दुलहा र दुलहीको घरसम्म नै डोली चढ्ने चलन थियो ।”

Skip This
Skip This
Logo