हाइड्रोपावरको तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ

हाइड्रोपावरको तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ

केन्द्रबिन्दु
27
Shares

पोखरा । हाइड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाइड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ केभी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् ।

पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २९ को सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने वर्ष ३७ को विकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने वर्ष २६ को निशान दर्जीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले उक्त स्टोरबाट चोरी गरिएका ३३ केभी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख रुपैयाँ मूल्य बराबरको सामान चोरी गरेको आरोप लगाएको छ ।

उनीहरूले उक्त स्टोरबाट चोरी गरी ल्याएका तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा पोखरा महानगरपालिका १४ चाउथेबाट पक्राउ गरिएको प्रहरीको दाबी छ । उनीहरूको साथबाट तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६ केजी तामाको तार र ७ केजी तामाको टुक्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।

अभियुक्तहरू विरुद्ध कास्की जिल्ला अदालतमा चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo