चण्डेनीमण्डनका माझी समुदायको खेत बचाउने अभियान

चण्डेनीमण्डनका माझी समुदायको खेत बचाउने अभियान


ज्ञानमणि नेपाल कालोटोपी
चण्डेनीमण्डन, काभ्रे

हरेक दिन उनीहरुको दैनिकी शुरु हुन्थ्यो कि बिहान उठ्ना साथ इन्द्रावती नदीमा माछा मार्न जाने अथवा नदी किनारामा घट्ट चलाउने । तर पछिल्लो २ दशक यता नदीमा माछा पनि पाइन छोडेको छ, आधुनिक मिलहरुको प्रयोगले घट्ट पनि चल्न छाडेका छन् ।

कुनै विकल्प नभएपछि आफ्नो नाउँमा थोरै मात्र जग्गा भएका काभ्रेको (साविक चण्डेनीमण्डन गाविस–२) मण्डनदेउपुर १० आँपचौरका माझीहरुको पछिल्लो समय दैनिकी आसपासका छिमेकीहरुको खेतबारीमा ज्याला गर्न जाँदैमा बित्ने गरेको छ ।

बगरलाई खेत बनाउन सक्रिय आँपचौरका माझी समुदायहरु । तस्विरः ज्ञानमणि नेपाल कालोटोपी

ज्याला मजदुरी गरेर दिक्क भएका यीनै माझीहरु अहिले सक्रिय छन्, आफ्नो खेत बचाउने अभियानमा । काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदी किनारामा भएको सार्वजनिक जग्गा (बगर) मा वर्षौंदेखि खेती गर्दै आएका माझीहरु वर्षेनी त्यो खेत नदीमा आएको बाढीले बगाउँदा दिक्क हुने गरेका थिए ।

खेत बचाउने कुनै विकल्प देखेका थिएनन्, उनीहरुले एकवर्ष खेत बनायो अर्को वर्ष बगरमा परिणत हुने गरेको समस्या लिएर समाधानका लागि तत्कालिन गाविस र जिविस सम्म पुगेका थिए । गाविसले दिएको थोरै सहयोगले अलिअलि मात्र काम गर्न सकेका यी वासिन्दाहरुको दैनिकीमा पछिल्लो एकवर्ष यता परिवर्तन आएको छ ।

उनीहरुको दैनिकीमा परिवर्तन ल्याईदिएको छ, वडा कार्यालय चण्डेनीको समन्वयमा जलस्रोत तथा सिंचाई विकास कार्यालय काभ्रेले । यहाँका ७० घर परिवारका करिब पाँच सय वासिन्दाका लागि ३ सय रोपनी खेत बचाउन सकिने निश्चित भएपछि माझीहरु अहिले ढुक्क मात्र भएका छैनन्, अब अरुको खेतमा ज्याला गर्न जानु नपर्नेमा खुशि पनि देखिएका छन् ।

बगरलाई खेत बनाउन सक्रिय आँपचौरका माझी समुदायहरु । तस्विरः ज्ञानमणि नेपाल कालोटोपी

सो कार्यालयले यहाँ ५७ मिटर लामो बाँध निर्माणका लागि आवश्यक सामान र आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । योजनाको सम्पुर्ण काम सक्न करिब १ वर्षको समय लाग्ने अनुमान गरिएको छ । ३ सय रोपनी खेत जोगाउन इन्द्रावती नदी किनारामा अहिले दैनिक काम भइरहेको छ । अब यहाँका माझीहरुको दैनिक जीवनमा ठुलो परिवर्तन हुने वडाध्यक्ष विष्णुमणि नेपालले बताए ।

यसअघि पनि त्यहाँको बगर जोगाउन पहल भएको थियो । जल उत्पन्न प्रकोप न्युनिकरण डिभिजन कार्यालय, भक्तपुरले यहाँ करिव २ सय वटा जाली भरेर एक सय मिटर जति नदीकिनारामा बाँध बनाइदिएको भएपनि वर्षायाममा आएको वाढीले अहिले त्यो बगाइदिएको छ । तर अहिले थप काम हुने भएपछि माझीहरु ढुक्क भएको वडाध्यक्ष नेपालको भनाई छ ।

बगरलाई खेत बनाउन सक्रिय आँपचौरका माझी समुदायहरु । तस्विरः ज्ञानमणि नेपाल कालोटोपी

सामाजिक, आर्थिक, राजनितिक र शैक्षिक रुपमा वर्षौंदेखि पुरै पछाडि रहेका यहाँको माझी समुदाय अहिले आफैं पनि दंग छ । यसरी बगर खेतलाई जोगाउन सकिएला भनेर थोरै पनि नसोचेका स्थानिय भन्छन्, ‘बगरको खेत बचाउने र बस्ती जोगाउने हाम्रो सपना पुरा हुन लाग्दा हामीलाई खुशी लागेको छ ।’ आफ्नो लागि राम्रै कामको शुरुवात गरेको चण्डेनीमण्डनका माझीहरुको सामुहिक भनाई छ –‘अब हाम्रा दुःखका दिनहरु विस्तारै सकिदै जाने छन् ।’

Logo