काठमाडौं । तिहार नजिकिएसँगै दाजुभाइलाई दिने उपहारको खोजीमा दिदीबहिनीहरूलाई बजार धाउनमा भ्याईनभ्याई हुन थालिसकेको छ । भाइटिकाको दिन भाइलाई सप्तरङ्गी टिका लगाई उपहार दिने परम्परा हुँदा दिदीबहिनी आफ्ना भाइको लागि उत्कृष्ट उपहारको खोजीमा पसल पुग्न थालेका हुन् । यति बेला भाइलाई दिने उपहार किन्न पसलहरूमा दिदीबहिनीहरूको घुइँचो देखिन्छ । दाइलाई तिहारमा उपहार दिने योजना बनाई सामान किन्न कपनबाट न्युरोड पुगेकी हरिमाया सिवाकोटी दाइलाई ढाका टोपी दिने सोचमा छिन् ।
‘बजारमा उपहार स्वरुप तिहारमा दिने सामान प्रशस्त छन्, कस्ता उपहार दिने त्यो दिदीबहिनीले छनोट गर्ने विषय हो, ढाका टोपी नेपाली पहिचान भएकाले यो दिने निर्णय गरेकी हुँ,’ उनले भनिन् ।
तिहारमा दिदीबहिनीले भाइलाई उपहार दिने परम्परा नेपाली संस्कृतिमा धेरै पुरानो र महत्वपूर्ण मानिन्छ । समाज परिवर्तनसँगै उपहार दिने चलनमा परिवर्तन आएको छ । अहिलेका युवा पुस्ताले आफ्ना भाइबहिनीलाई उनीहरूको रुचीअनुसारका उपहारहरू दिने गर्छन् ।
यस्तै, दाजुभाइलाई दिने उपहारको खोजीमा सरिता राई असनको घडी पसलमा पुगेकी छिन् । मुसुक्क हाँस्दै सरिता भन्छिन्, ‘भाइलाई समयको महत्व बुझी अगाडि बढ्न सकोस् भन्ने सोच राखेर घडी दिने भएकी हुँ, घडीसँगै कपडा पनि दिन्छु ।’
पछिल्लो समय दिदीबहिनीले मात्र नभई दाइभाइ पनि दिदीबहिनीलाई उपहार दिने चलन बढ्दै गएको छ । यद्यपि प्राय दाजुभाइहरू आफ्ना दिदीबहिनीलाई उपहार पश्चात् पैसा दिने गर्छन् । उपहार दिनु एक अर्काप्रतिको प्रेम र स्नेहको प्रतीक रहेको पनि बताइन्छ ।
तिहारमा दिदीबहिनीले भाइलाई मन परेको उपहार दिएर उसलाई खुसी बनाउने प्रयास गर्छन् । उपहार आदानप्रदानले दाजुभाइ दिदीबहिनीबिचको सम्बन्धमा सद्भाव बढाउन मद्दत गर्ने भएकाले पनि भाइटिकामा सानो भए पनि उपहार दिने गरिन्छ ।
भाइटिकामा के दिने उपहार ?
नेपालीहरूको महान चाड दशैंपछिको दोस्रो ठूलो चाड हो, तिहार । भाइटिकामा दिने उपहारमा उसको दैनिक जीवनमा उपयोग हुने बस्तु दिँदा उपयुक्त हुनसक्छ ।
ढाका टोपी
नेपाली पहिचानको प्रतीक हो, ढाका टोपी । बजारमा ढाका टोपी प्रशस्त उपलब्ध हुने र उपहारमा यो टोपी उत्कृष्ट मानिने गर्छ । दिदीबहिनीले भाइटिकाको दिने उपहारमा ढाका टोपी दिँदा पनि उपयुक्त हुन्छ ।
किताबहरू
यदि तपाईंले उपहार दिने व्यक्तिलाई पढ्न मन पर्छ भने उसलाई तिहारमा उसको रुचीअनुसारको किताब उपहार दिन सक्नुहुन्छ । यसले उसलाई पढ्न प्रेरित गर्नेछ र उसको ज्ञानमा वृद्धि हुनेछ ।
हातले बनाइएका सामग्री
नेपाली बजारमा पछिल्लोसमय हस्तकलाका आकर्षक सामग्रीहरू प्रशस्त उपलब्ध छन् । स्थानीय हस्तकलाका वस्तुहरूले व्यक्तिगत स्पर्श थप्न सक्ने भएकाले यस्ता उपहार पनि तिहारमा दिदीबहिनीले दाजुभाइलाई वा दाजुभाइले दिदीबहिनीलाई दिँदा उचित हुन्छ ।
सफ्टवेयर वा अनलाइन कोर्सहरू
उपहारमा वस्तु नै दिनुपर्छ भन्ने हुँदैन । प्रविधिको जमाना भएकाले प्रविधि जान्ने र सिक्ने इच्छा धेरैले राखेको हुन सक्छ । यदि तपाईं दाजुभाइ वा दिदीबहिनीले प्रविधिका कुराहरू सिक्ने इच्छा राख्छ भने उसलाई उपहार स्वरुप पैसा तिरिदिएर कम्प्युटरका कोर्स लगायतका प्रविधिसँग जोडिएका विषय सिकाइ दिन सक्नुहुनेछ ।
गिफ्ट कार्ड
तपाईंलाई के उपहार दिने भनेर अन्योल छ भने तपाईं आफ्नो दाजुभाइलाई उसको मन पर्ने पसलको गिफ्ट कार्ड दिन सक्नुहुन्छ । यसले उसलाई आफैँले उपहार छान्ने मौका दिनेछ । यस्तै, तपाईं आफ्नो दाजुभाइलाई उसको मनपर्ने कुनै ठाउँमा लगेर खाना खान वा घुम्न लैजान पनि सक्नुहुन्छ ।
कपडा
कपडा दैनिक प्रयोगका लागि उपयोगी बस्तु हो । भाइटिकामा उपहार स्वरूप नयाँ कपडा दिने चलन धेरै छ । यो दाजुभाइका लागि आकर्षक र उपयोगी हुने भएकाले कपडा प्राय दिने गरिन्छ ।
दाजुभाइलाई जुत्ता, सर्ट, दौरा, सुरुवाल, प्यान्ट, आदि दिन सकिन्छ भने उपहारमा दिदीबहिनीलाई स्विटर, ज्याकेट, टप्स, टिसर्ट प्यान्ट, सारी, कुर्ता लगायत सामग्री उपहारमा दिन सक्नेछन् ।
घडी
घडीलाई समयको महत्वको प्रतीक ठानिन्छ । तिहारमा उपहार स्वरुप घडी दिने प्रचलन पनि छ । बजारमा विभिन्न ब्रान्डका घडी उपलब्ध छन् । जसमध्ये विभिन्न डिजाइनका घडी छानेर उपहारमा दिन सकिन्छ ।
खेलकुदका सामग्री
उपहार दिएपछि त्यसको महत्व हुन आवश्यक छ । उसको रुचिअनुसारको उपहार दिइयो भने त्यो व्यक्ति पनि खुसी हुनुका साथै उपहार पनि उसको प्राथमिकता पर्छ । कोही खेलकुदमा धेरै चासो दिएर लागि परेका हुन्छन् । तिहारमा उपहारमा खेलकुदमा चासो राख्नेहरूलाई सोही किसिमका सामग्रीहरू दिँदा पनि उचित हुन्छ ।
ग्याजेट्स
प्रविधिको युग छ । प्रत्येक हातमा स्मार्ट फोन छन् । यदि उसलाई पनि प्रविधि मन पर्छ भने उपहारमा ग्याजेट उपहार दिन सक्नुहुन्छ । यसमा मोबाइल फोन, हेडफोन, स्मार्ट वाच, गेमिङ कन्सोल आदि पर्न सक्छन् ।
ब्याग
दाई र भाइहरूका लागि सजिलो र राम्रो उपहारमा ब्याग पनि हो । ब्याग हरेक दिनका लागि आवश्यक रहने वस्तु भएकाले उपहारमा विभिन्न डिजाइन ब्याग दिँदा पनि राम्रो हुन्छ ।
चकलेट
नेपालमा केही चकलेटहरू महँगा र निकै लोकप्रिय छन् । गुलियो मन पराउनेहरूको लागि त उपहारमा स्वरुप चकलेट दिँदा उचित हुन्छ । भाइटिकामा उपहार स्वरुप विभिन्न नामक चकलेटका खारेर दिँदा पनि उत्कृष्ट छनोट हुन सक्छ ।
त्यस्तै, बजारमा उपहार दिने वा उपहारका लागि भनेरै बनेका सामग्रीहरू धेरै छन् । आवश्यक अनुसारको उपहार दिन सकियो भने त्यो उपहारले पनि निकै महत्व पाउँछ । उपहारमा पर्फ्यूम, वालेट, बेल्ट आदि पनि दिन सकिन्छ । तपाईंले उपहार दिन लागेको व्यक्तिको उमेरअनुसारको उपहार छान्दा उचित हुन्छ ।
शुभ भाइटिका !































प्रतिक्रिया