एमाले सांसद भट्टचनविरुद्ध सहकारीको ९८ करोड ठगी गरेको जाहेरी, तर अघि बढेन अनुसन्धान

एमाले सांसद भट्टचनविरुद्ध सहकारीको ९८ करोड ठगी गरेको जाहेरी, तर अघि बढेन अनुसन्धान

केन्द्रबिन्दु
2.48k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन पनि सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका छन् । प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी हुन् ।

कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुलेको छ । हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी अलपत्र छ । ११ असोजमै सरकारी वकिल कार्यालयले प्रहरीमा जाहेरी पठाएको थियो । तर, उनीमाथि अनुसन्धान अघि बढेको छैन।

कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि कुसुम लामाले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुलेको छ ।

लाखौँ नेपालीको भविष्य जोडिएको सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने अनुसन्धानका क्रममा समातिएपछि यो प्रकरणले अहिले देशभर सनसनी मच्चाएको छ । सत्ताको नेतृत्व गरिरहेको एमाले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई नछाड्ने भन्दै आएको छ, तर आफ्नै सांसदमाथि यसरी करोडौं रकम हिनामिनाको जाहेरी पर्दा चुँक्क बोल्न सकेको छैन । अनुसन्धानमा एक्सन लिनु त पर को कुरा ।

एमालेको राजनीतिमा नभएपनि आर्थिक सहयोग गरेकै आधारमा भट्टचनले समानुपातिक सांसद बन्ने अवसर पाएका थिए, त्यसकारण पनि सत्ताकै दबाबमा उनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय भएको आरोप लागेको छ ।

भट्टचन प्रभु बैंकका पूर्व अध्यक्षसमेत हुन् । प्रभु बैंकमा अहिले पनि उनकै हालिमुहाली छ । भट्टचन हुन्डीमा समेत तानिने सम्भावना छ । साथै, प्रभु रेमिटेन्समाथि समेत अनुसन्धान हुने अवस्था छ । उनले विदेशबाट हुन्डीको रकम सहकारीमार्फत भुक्तानी दिँदै आएका थिए । तर, पछिल्लो समय कारोबार बिग्रिएपछि पैसा भुक्तानी दिन सकेका छैनन् । त्यसकारण भट्टचन र कुसुमको सम्बन्ध बिग्रिएर यो कर्तुत बाहिरिएको बुझ्न सकिन्छ ।

म्यानेजमेन्टको सम्पूर्ण कर्जा रकम भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेको आरोप लाग्ने गरेको छ ।

प्रभु म्यानेजमेन्ट प्रालिले विभिन्न पब्लिक कम्पनीहरूमा ६२ करोड हाराहारीमा लगानी गरेको देखिएको छ । जसमा म्यानेजमेन्टको सम्पूर्ण कर्जा रकम भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेको आरोप लाग्ने गरेको छ । तर, यता सांसद भट्टचन भने अनुसन्धानमा सहयोग गर्नुको साटो आफूविरुद्ध अफवाह फैल्याइएको र पुष्टि गरेर देखाउन चुनौती दिँदै आएका छन् ।

Logo