सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् ।
पहिले देखि नै सरकारको काम कारवाहीप्रति त्यति सन्तुष्ट नदेखिएका नेता नेपालले हेटौंडामा स्थानीय संचारकर्मीमाझ जनताको चाहाना अनुसार सरकारले काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
वरिष्ठ नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । आईतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।
वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।
फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनाएजेन्डा आन्दोलन सुरु गरेको भन्दै आपत्ति जनाए । उनले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर काँग्रेसले आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई जनताले सकारात्मक रुपमा लिन नसक्ने दावी पनि गरे ।
वरिष्ठ नेता नेपालले काँग्रेसलाई भ्रष्टाचार नियन्त्रण र मुलुकको सुशासनका लागि सरकारलाई सचेत गराउने अभियानमा लाग्न पनि आग्रह गरे ।
प्रतिक्रिया