कपिलवस्तुको बाणगङ्गा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए, अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडकछेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए । उनको आफ्नै शरीरले घाउ थिचिदा परालका त्यान्द्रा अड्किएर शरीरमै गुजुल्टिएको थियो । घाउमा किरा परिसकेको अवस्थाबाट उनलाई गत पुस २७ गते मानवसेवा आश्रमले उद्धार गर्यो । अरुणका शरीरका केही भाग नचल्ने अवस्थामा थिए । उनी मनोरोगीसमेत हुन् ।
आश्रमको रुपन्देही शाखाको संरक्षणमा राखेर उनको औषधोपचार जारी छ । शाखाकी सहसंयोजक टीकामाया थापा भन्छिन्, “ल्याउँदा उनको अवस्था दयनीय थियो, अहिले धेरै सुधार भएको छ, आफैँ खाना खान थाल्नु भएको छ ।” उद्धारको क्रममा उनले कयौँदिन भोकै भएको अनुभव सुनाउनुभएको थियो । भारतीय नागरिक उनलाई आश्रमले नै अरुणकुमार मानव भनेर नाम राखिदिएको हो ।”
यस्तै पुसको दोस्रो साता सर्लाहीको हरिवन नगरपालिका–४ पटौना अर्को घटना भेटिएको थियो । त्यहाँबाट एकै परिवारका तीन भाइ मनोरोगीको उद्धार गरिएको थियो । उनबहादुर कार्कीले केही सीप नलागेपछि कान्छा छोरा रुद्रबहादुरलाई खोरमा थुनेर राखेका थिए । जेठो र माहिलो छोरा पवन र हेमबहादुर पनि मनोरोगी हुन् ।
उनबहादुर कयौँ प्रयास गर्दा पनि उनीहरूलाई पुरानै अवस्थामा फर्काउन नसकेर बाध्यताले खोरमा थुनेकाे सुनाउछन् । त्यो जानकारी पाएर पुसको दोस्रो साता मानवसेवा आश्रमले उद्धार गरेकोमा उनीहरूको अवस्था क्रमशः सुधार हुँदै गएको छ । यी दुई प्रतिनिधिमूलक घटना हुन् । एक महिनामा पीडामा परेका ७५८ व्यक्तिलाई आश्रमले उद्धार गरेको छ ।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन भएको उद्धार अभियानका क्रममा भेटिएका उनीहरुलाई औषधोपचारसहित पालनपोषण गर्ने र आवश्यक मनोपरामर्श दिएर परिवारमा मिलन गराउने अभियान जारी रहेको आश्रमका अभियन्ता होमनाथ तिमिल्सिना बताउछन् । उनका अनुसार पुस ७ गतेदेखि सुरु भएको अभियानको यही माघ १७ गते समापनसम्म ७५८ मध्ये २३५ लाई परिवारमा मिलनसमेत गराइसकिएको छ । यसअघि उद्धार गरिएका व्यक्तिसहित अहिले आश्रममा एक हजार ५२३ व्यक्तिले आश्रय पाइरहेका छन् ।
विविध कारणले मानिसहरु सडकमा आइपुग्ने गरेका छन् । त्यसमध्ये आफ्नै पारिवारिक हेलत्व पनि एउटा कारण छ । कतिले सडकमा ल्याएर फ्याँकेका समेत भेटिएको आश्रमले जनाएको छ । त्यस्ता गतिविधिले मन भक्कानिने उल्लेख गर्दै एकजना सन्त आदर्श साहेब भन्छन्, “मानव भएर मानवताका लागि अहिले जुटेनौँ भने कहिले जुट्ने ?”
एक महिने सडक उद्धार अभियानमा सहभागी युवा अर्जुन भुषाल साँच्चै नै मानवताका हिसाबले मुलुक खोक्रो रहेको पाएको बताउछन् । यत्रतत्र मानिस बाटोमा फ्याँकिएका र कयौँदिन भोकै बसेका, मागेरसमेत खान नसक्ने अवस्थाका मानिस भेट्दा पीडाबोध महशुस गर्ने भुषाल बताउछन्, “त्यो खोक्रो भएको देशलाई आश्रमले टाल्ने काम गरेको छ ।”
विसं २०६९ देखि यसरी सडक उद्धार अभियान चलाइएको थियो । सडकमा रहेका असक्त, असहाय, वेवारिसे, मनोरोगीलगायतको सेवामा जुटेको आश्रमले अहिलेसम्म पाँच हजार बढीलाई उद्धार गरी सेवा दिइसकेको छ । एक हजार ५०० बढीलाई परिवारमा मिलन गराइसकेको छ । आश्रमले त्यस्ता व्यक्तिको घर पहिचान गरी भारत, बङ्गलादेशलगायत बाह्य मुलुकमा पुगेर परिवारिक पुनःमिलन गराइसकेको छ ।
सरकारले विसं २०७८ सम्म मुलुकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने लक्ष्य लिएको छ । त्यसलाई पूरा गर्न आश्रम एउटा सारथी बनेर उभिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महत्तो बताउछिन् । गायिका आनी छोइङ डोल्मा पनि आश्रमको कार्यबाट प्रभावित छिन् । उनले सार्वजनिक नगर्ने गरी अभियानलाई सफल पार्न लाखौँ सहयोग गरेकी छन् । गायिका डोल्मा , “आश्रम मानिसको मनमस्तिष्कमा करुणा जगाउन सफल छ, हामी सबैले साथ दिनुपर्छ ।”
प्रमुख संरक्षक गोविन्द टण्डनले दिएको नैतिक शिक्षाबाट सिकेर रामजी अधिकारीको सङ्कल्पबाट आश्रम स्थापना भएको हो । सन् २०८२ सालभित्र कोही पनि व्यक्ति वेवारिसे बनेर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य आश्रमले लिएको छ ।





























प्रतिक्रिया