मानवबस्ती नजिकै दिसापिसाब छाड्दा दुर्गन्ध फैलियो

मानवबस्ती नजिकै दिसापिसाब छाड्दा दुर्गन्ध फैलियो

केन्द्रबिन्दु
75
Shares

रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजारको ढलको दिसापिसाब मानवबस्ती नजिक खुल्ला छाड्दा स्थानीयलाई समस्या भएको छ । मन्थली बजारको ढल व्यवस्थापनका लागि बनाइएको प्लान्ट बिग्रिँदा प्लान्टमा गएको दिसापिसाब खुल्ला रूपमा नै बस्तीको छेउमा बगेको कारण दुर्गन्ध फैलिएको स्थानीयले गुनासो गरेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको बजेटबाट स्थानीय उपभोक्ता समितिमार्फत मन्थलीको ढल निर्माणको काम भएको थियो । मन्थली बजारको संकलित ढल विद्युत् कार्यालयमुनि रणजोर खोला किनारमा जग्गा खरिद गरी सेफ्टिट्याङ्कीको प्लान्ट निर्माण गरेर ढल व्यवस्थापनको काम गरिएको थियो ।

अहिले ढलको फोहोर जम्मा हुने सेफ्टीट्याङ्कहरू जाम भएका छन् । त्यसैले ढलबाट सेफ्टीट्याङ्कीमा जानुपर्ने दिसापिसाब सहितको फोहोर पानी बाहिर त्यत्तिकै बगिरहेको छ ।

सो स्थानमा नजिकै बस्ती छ । जसको दुर्गन्धले बस्तीमा बस्नै नहुने अवस्था भएको स्थानीयको गुनासो छ । समस्याको बारेमा सबैतिर भनेको भए पनि कसैले चासो नदिएको स्थानीय डेकबहादुर श्रेष्ठ बताउँछन् । दुर्गन्धले गर्दा बस्ती र खोला किनारमा हिँड्न समेत असजिलो भएको उनले बताए ।

सो ढल निर्माणको विषयलाई लिएर उपभोक्ता समितिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा परेको कारण उपभोक्ता समितिले पनि काम नहेर्ने र अन्य निकायले पनि वास्ता नगर्ने गरेको कारण आफूहरू समस्या परेको स्थानीयको गुनासो छ ।

गएको असार महिनादेखि दिसापिसाब सबै बाहिर छरिएको छ । यदि सरोकारवाला निकायले ध्यान नदिने हो भने आफूहरू ढल नै थुनिदिन बाध्य हुने स्थानीयले बताए । ढल व्यवस्थापनको काम अव्यवस्थित हुँदा जताततै फोहोर फैलिएको छ । यसलाई व्यवस्थापन नगर्ने हो भने ठूलो रोग निम्त्याउने जोखिम छ ।

Skip This
Skip This
Logo