प्रहरी इन्काउन्टरमा मारिने व्यक्ति ‘मोस्ट वान्टेड अपराधी’ भएको खुलाशा

प्रहरी इन्काउन्टरमा मारिने व्यक्ति ‘मोस्ट वान्टेड अपराधी’ भएको खुलाशा

केन्द्रबिन्दु
0
Shares

रूपन्देही । प्रहरी कारवाहीमा मारिएका व्यक्ति प्रहरीको मोस्ट वान्डेड सूचीमा रहेका अपराधी रहेको रहस्य खुलेको छ । शनिवार मध्यरातमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीको जवाफी कारवाहीमा रुपन्देहीको शंखरापुरमा एक व्यक्ति मारिएका थिए । उनको छातीमा गोली लागेको थियो । उनी प्रहरीको सूचीमा रहेका ‘मोस्ट वान्टेड अपराधी’ केदार साहनी रहेको रहस्य खुलेको हो ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि युपी ५३ एच २०२८ को नम्बर प्लेटको भारतीय मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् ।

श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका दुई जनाको समूहले सादा पोशाकमा रहेका प्रहरीमाथि गोली चलाएको थियो । प्रहरीको जवाफी कारवाहीमा साहनी मारिएको र एक जना फरार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

को हुन साहनी ?
उनी यसअघि हत्याको अभियोगमा जेल परेका र जेलबाटै भागेका थिए । सिद्धार्थनगर नगरपालिका, गल्लामन्डीका साहनी नेपालमा अपराध गरेर भारततर्फ लुक्दै आएको अपराधी भएको प्रहरीले जनाएको छ ।

भन्सार क्षेत्रमा चोरी तस्करीको धन्दा चलाउँदै आएका साहनीमाथि भैरहवाका आकाश गुरुङको हत्या गरेको आरोप छ । उनले २०७१ सालमा गुरुङलाई अपहरण गरेर नवलपरासी पु¥याएर हत्या गरेका थिए ।

गुरुङको हत्याअगाडि साहनी हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थिए । उनी २०६६ माघ २ गते अन्य ६ कैदीसहित सुरुङ खनेर भागेका थिए । जेलबाटै भागेको दुई महिनापछि पुनः पक्राउ परेका साहनी हातहतियार तथा कैदी भागे–भगाएको मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

साहनीमाथि बम विस्फोट, कर्तव्य ज्यान तथा फिरौती सम्बन्धी थुप्रै मुद्दा प्रहरीमा विचाराधीन रहेको छ । पछिल्लो समय सीमापारि बसेर भैरहवा क्षेत्रमा विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएका उनले आफैले हत्या गरेकी आकाशकी आमा उषाकिरण गुरुङलाई फोन गरेर आकाशको बच्चा मारिदिने समेत धमकी दिँदैं आएका थिए ।

अनुसन्धान भईरहेको छः एसपी थापा
प्रहरीको जवाफी कारवाहीमा मारिएका व्यक्तिबारे थप अनुसन्धान भईरहेको एसपी थापाको भनाई छ । उनी नै साहनी हुन वा होईन भन्नेबारे अझै पुष्टि हुन नसकेको उनले बताए ।

एसपी थापाले भने, ‘कुख्यात अपराधी साहनी नै हुन भन्ने हल्ला चलिरहेको छ । तर हामीले भेरिफाई गर्ने प्रयास गरिरहेका छौं । उनलाई चिन्ने व्यक्ति मार्फत उनको भेरिफाई भईरहेको छ ।’

रुपन्देहीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, एसपी भन्छन्, ‘छानविन जारी’

Logo