सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि तालिमप्राप्त ५३ औं टोली तयार भएको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको आइतबार समापन गरिएको छ ।
बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सिसं ५३ विपद् व्यवस्थापन तालिमको समापन गरिएको छ ।
समापन कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा कन्चनरूप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता र हनुमाननगर नगरपालिकाका प्रमुख वीरेन्द्र माझीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले भूकम्प र आगलागीको समयमा गरिने उद्धारको साथसाथै खोँचमा फसेका व्यक्तिको उद्धार, र्याप्लिङ क्लाइम्बिङ्ग, प्राथमिक उपचारलगायत तालिममा सिकेका विषयहरूसँग सम्बन्धित कृतिम अभ्यासहरूको प्रदर्शन गरेका थिए । समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालमा उपलब्ध विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धार सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।
११ हप्ता अवधिको उक्त तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी भएको र प्रशिक्षार्थीहरूलाई प्राथमिक उपचार, भत्किएका संरचानामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ्, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना, जलोत्पन्न प्रकोप उद्धार, विपद् पछिको उद्धार, राहत र पुनःस्थापना लगायतका विषयहरूमा प्रशिक्षण गराइएको शिक्षालयले जनाएको छ ।
समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक शीतल श्रेष्ठ पुरस्कृत भएका थिए भने सफल प्रशिक्षार्थीहरूलाई विपद् उद्धारकको परिचय झल्किने कुम चिह्न प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको र प्रकोप र उद्धार भन्ने बित्तिकै सशस्त्र प्रहरी बल,नेपालको नाम जनमनमा बस्दै गएको बताए ।
धौवजीले तालिममा दीक्षित प्रशिक्षार्थीहरूलाई विपद्को समयमा उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन समेत दिए । कन्चनरूप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले स्थानीय निकायहरूसँग विपद् सम्बन्धी जनचेतना जगाउने, उद्धार तथा पुनःस्थापनाको कार्यमा सशस्त्र प्रहरी बलले उत्कृष्ट ढंगले समन्वय गर्दै आएको बताए ।
हनुमाननगर नगरपालिका प्रमुख माझीले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले गर्दै आएको कार्यहरूको प्रशंसा गरे । तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले शिक्षालयमा पहिलो पटक सञ्चालन भएको विपद् व्यवस्थापन तालिमबाट विपद् व्यवस्थापनमा खटिने विशिष्ट जनशक्ति तयार गरिएको र भविष्यमा उनीहरूबाट उत्कृष्ट सेवा प्रवाह हुने बताए ।
कार्कीले विपद् व्यवस्थापन तालिमकै लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो र्याप्लिङ् क्लाइम्बिङ्ग टावर निर्माण गरिएको जानकारी गराए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, सशस्त्र प्रहरी बल, नेपालका कार्यलयका प्रमुखहरू, स्थानीय निकायका प्रतिनिधिहरू, शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।































प्रतिक्रिया