पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घरघरमा पुग्ने भएको छ । यसभन्दा अघिका दिनहरुमा गाउँ/टोलहरुमा मात्र गस्तीको रुपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय क्षेत्रका घर–घरमा पुग्ने भएको हो ।
पोखरा महानगरपालिका अन्तर्गतको पर्यटकीय क्षेत्रका ११ वटा वडाहरु हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराले जनताको घरघरमा पुग्ने अभियान संचालन गरेको हो ।
प्रहरी घरघरमा पुगेको एकिन गराउन वडा प्रहरी कार्यालय बैदाम पोखराले प्रहरी पुगेको हरेक घरमा एउटा प्रहरी सम्बन्धि जानकारी र गुनासो राख्ने सम्पर्क नम्बर उल्लेख भएको क्यु आर कोड भएको स्टिकर टाँस्ने बैदाम नगरप्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
उक्त अभियानको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले आज सुरुवात गरे । सोही अवसरमा एसपी ओलियाले यस अभियानले शान्ति सुरक्षा कायम गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै जनता र प्रहरी बीचको दुरी कम गर्न, उनीहरुबीच संवाद र सहकार्य गर्नमा सहयोग हुने विश्वास व्यक्त गरे । उनले वडा प्रहरी कार्यालय बैदाम पोखराले आजबाट सुरु गरेको अभियान कास्की जिल्लाका अन्य क्षेत्रहरुम पनि लागूगर्ने बचनबद्धता व्यक्त गरे ।
वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी सन्तोष निरौलाले यस अभियान अन्तरगत वडा प्रहरी कार्यालय मातहत रहेका पोखरा महानगरका ११ वटा वडाका करीब ५० हजार घरघरमा पुगेका प्रहरीले जनताका पीर मर्का एबम समस्याहरुको सुनुवाई गर्ने र सम्भव भए तत्कालै, यदि सम्भव नभए सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गर्ने बताए ।
उक्त समारोहमा सहभागीहरुले भने प्रहरीको अभियानदेखि उत्साहित भएर स्टिकर छपाइ गरेर दिने बाचा गरेका थिए । अभियानका क्रममा आबश्यक पर्ने करीब ५० हजार स्टिकर छपाइ गरेर दिन उनीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।































प्रतिक्रिया