धनुषा । धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा करिब पाँचलाख अनुयायी एवम शुभेच्छुकहरुले प्रसाद(भोजन) ग्रहण गरेका छन् ।
तीन दिनसम्म चलेको भण्डारामा पाँच लाख बढी मानिसहरुले अवलोकन गरेको आयोजकको दाबी छ । जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजकीका अनुयायीहरुको संस्था पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा तीन दिन (माघ २४ गतेदेखि २६) सम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस एवं तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा आयोजना गरिएको थियो ।
समारोहमा दाइजोविरुद्धको अभियानका क्रममा १२ जोडीले सामूहिक विवाह गरेका थिए । समारोहमा नेपाल र भारतका अनुयायी एवम शुभेच्छुकहरु जम्मा भएका हुन् । समाजलाई दाइजोमुक्त बनाउने सन्त रामपालजी अभियान अन्तर्गत सतलोक आश्रममा १२ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह गराइएको हो ।
आश्रममा तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन विभिन्न समाज सुधारका कार्यक्रमहरु भएका थिए । समाज सुधारक सन्त रामपालजीका अनुयायीहरुले हरेक वर्ष कबीर साहेब निर्वाण दिवस मनाउने गर्छन् । यसै सिलसिलामा सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको अखण्ड पाठगरी दाइजो तथा आडम्बरमुक्त विवाह गर्ने चलन रहेको अनुयायी ओमराज ढकालले जानकारी दिए ।
उक्त सामूहिक विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन भएको छैन भने बेहुला वा बेहुली दुवै पक्षको कुनै पनि खर्च नभएको, आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरिएको ढकालले बताए ।
विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको बुनियाँ तथा हलुवा प्रसादका साथै रोटी, पूरी, सब्जी, सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको थियो ।































प्रतिक्रिया