स्याङ्जामा विविध कार्यक्रमका साथ मगर दिवस मनाइँदै

स्याङ्जामा विविध कार्यक्रमका साथ मगर दिवस मनाइँदै

केन्द्रबिन्दु
12
Shares

वालिङ (स्याङ्जा) । त्रिचालीसौँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिलमा रहेका एघार पालिकामध्य आठ पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

विदा दिनेमा जिल्लाका पाँच नगरपालिका र तीन गाउँपालिका छन्। वालिङ, पुतलीबजार, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् ।

मगर समुदायको बाहुल्यता रहेका ती स्थानीय तहले छुट्टाछुट्टै सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् । चाडपर्व तथा मगर भाषा कला संस्कृति संरक्षणका लागि स्थानीय तहहरूले आफू मातहतका वडा कार्यालय, विद्यालय, सङ्घ संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहहरूमा रहेका मगर सङ्घ संस्थाले राष्ट्रिय मगर एकता दिवसमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाउँदै आएका छन् । सार्वजनिक बिदा दिएका पालिकामा मगर समुदायको बसोबास धेरै रहेको छ । मगर समुदायको बसोबास धेरै भएका स्थानीय तहहरूले सरकारी कामकाजको भाषाको रुपमा समेत मगर भाषाको प्रयोग गर्ने क्रम अगाडि बढेको छ ।

राष्ट्रिय मगर एकता दिवसका अवसरमा बिहीबार मगर सङ्घ संस्थाले मगर वेशभूषा, कला संस्कृति, झाँकीको प्रदर्शनीलगायतका मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेका छन् ।

विसं २०३९ साल फागुन १५ गतेलाई पहिलो स्थापना दिवस मानेर त्यसैको आधारमा यसपटक ४३ औँ मगर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागेका हुन् ।

Logo