नेपालगञ्ज (बाँके) । जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ ।
जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेका जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए । “फायर एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्माण गरिरहेका छौँ, केही दिनमा यो तयार हुन्छ”, उनले भने ।
उनका अनुसार सो एम्बुलेन्समा एक पटकमा छ हजार लिटर पानी राख्ने क्षमता हुन्छ । एम्बुलेन्समार्फत डढेलो लागेका क्षेत्रमा एक सय फिटसम्म पानी पु¥याएर आगो नियन्त्रणमा लिन सकिने उनले जानकारी दिए।
जिल्ला वन प्रमुख गुप्ताले डढेलो नियन्त्रणका लागि करारमा १५ अग्नि हेरालुलाई नियुक्त गरिएको जानकारी दिँदै १८ वटा सामुदायकि वनका समूहलाई परिचालन गरिएको बताए। उनले वनमा डढेलो लाग्न नदिन प्रचारप्रसारको काम भइरहेको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको बताए।
“समुदायस्तरमा डढेलो लाग्न नदिने उपाय, लागेमा अपनाउनुपर्ने विधिलगायत विषयमा सचेतनामूलक जानकारी दिइएको छ । डढेलोका विषयमा सामुदायिक वनका समूहसँग आवश्यक छलफल र सहकार्य भइरहेको छ”, उनले भने ।































प्रतिक्रिया