आलु खेतीबाट आम्दानी लिँदै किसान

आलु खेतीबाट आम्दानी लिँदै किसान

केन्द्रबिन्दु
24
Shares

अत्तरिया (कैलाली) । यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष तीन लाख आम्दानी लिएको बताए। उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए । ४० क्विन्टल आलु उत्पादन गरेका उनले भने “अझै २० क्विन्टल आलु बेच्न बाँकी छ । यस वर्ष आलु राम्रो फलेको थियो । समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो । प्रतिकिलो रु. एक सय ५० मा बिक्री गरियो ।”

उनका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन । उनले तरकारी खेती समेत गर्ने गरेका छन् । उनले भने, “सिजनअनुसारको तरकारी लगाउँछु । तरकारीखेती र आलुबाट सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुन्छ । तरकारी खेतीबाटै चार जनाको परिवारको घरखर्च र छोराछोरीको पढाइलेखाइ खर्च धानेको छु ।”

सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताए। उनले भने, “मैले यस वर्ष सात कठ्ठा जग्गामा थारु आलु लगाएको थिएँ । आठ क्विन्टल बेचेको छु । बाँकी अब असारतिर बेच्ने गरी राखेको छु । २० क्विन्टलसम्म विक्री गर्छौँ । बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।”

चौधरीले पनि आलुखेतीसँगै तरकारी खेती समेत गर्ने गरेको बताए । उनले तरकारी र आलु बिक्रीबाट वार्षिक तीन लाखसम्म बचत गर्ने गरेका छन्। माग बढ्न थालेपछि लगाउन छाडिएको थारु जातको आलु पछिल्लो समय लगाउन थालिएको उनको भनाइ छ ।

सोही ठाउँका स्थानीय रवि चौधरीले यस वर्ष चार कठ्ठामा थारुआलु खेती गरेको बताए। उनले भने, “यस वर्ष आठ क्विन्टल जति उत्पादन भएको छ । अहिले मूल्य घटेकाले बेचेका छैनौँ । मूल्य बढेपछि बिक्री गर्छौँ ।” उनले तरकारी तथा थारुआलु बिक्रीबाट वार्षिक दुई लाख आम्दानी हुने गरेको बताए।

Logo