काठमाडौं । नेपालका जंगलहरू जलवायु परिवर्तनका कारण बढ्दो वन डढेलोको गम्भीर जोखिममा रहेकाे इन्फर्मेशन जियोग्राफीमा प्रकाशित अध्ययनले देखाएकाे छ ।
अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीद्वारा सञ्चालित यस अनुसन्धानले अनुमान गरे अनुसार यदि डढेलोको जोखिम नियन्त्रण गरिएन भने १७० मिलियन टन माटो कार्बन र ३२५ मिलियन टन काठ कार्बन वातावरणमा मुक्त हुनसक्छ । यसले जलवायु चुनौतीलाई थप गम्भीर बनाउनेछ।
बढ्दो संकट
अध्ययनका अनुसार नेपालका दक्षिणी प्रदेशहरू—लुम्बिनी, मधेश, र सुदूरपश्चिम—सबैभन्दा उच्च वन डढेलो जोखिममा छन्। नेपालका २० मध्ये ६ वटा संरक्षित क्षेत्रहरू, जस्तै चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज, चरम खतरा सामना गरिरहेका छन्, जसले दुर्लभ वन्यजन्तुहरू—बंगाल बाघ, एक सिंगे गैँडा, र जङ्गली हात्तीलाई जोखिममा पार्छ। साथै, काठमाडौंलगायतका प्रमुख शहरहरूको हावाको गुणस्तर झन् बिग्रिन सक्छ।
नेपालमा वन डढेलोको सुरुवात भइसकेको छ। हालैको तथ्याङ्क अनुसार, यसवर्ष ५३ जिल्लाका ४३६ स्थानमा वन डढेलो लागिरहेको छ । यसको खतरा अप्रिल तथा मे महिनामा उच्च विन्दुमा पुग्छ। “लस एन्जलसजस्तै, नेपाल पनि कार्बन–तापमानको दुष्चक्रमा फसेको छ,” एरिजोना स्टेट युनिभर्सिटी यूएसएका विद्यावारिधि विद्यार्थी प्रमुख लेखक क्षितिज दाहालले भने, “तर मुख्य भिन्नता के छ भने, नेपालका डढेलोहरूले त्यस्ता जैविक विविधतालाई खतरामा पार्छन् जुन पृथ्वीको अन्य कुनै ठाउँमा पाइँदैन।”
काठमाडौं फरेस्ट्री कलेजकी प्रा.डा. अम्बिका गौतम भन्छिन्, “नेपालमा वन डढेलोहरू तीव्र गतिमा बढ्दैछन्। यदि हामी अहिले नै कारबाही गरेनौं भने, केही महिनाभित्र नै हामीले महत्वपूर्ण जैविक विविधता गुमाउन सक्छौं र वैश्विक जलवायु परिवर्तन झन् गम्भीर बन्नेछ। हामीले हाम्रो वन र त्यसमा निर्भर जनतालाई जोगाउन तुरुन्तै प्रभावकारी डढेलो नियन्त्रण रणनीति आवश्यक छ।”
ज्याक्सन स्टेट युनिभर्सिटी, युएसएका डा. रकि ताल्चाभडेलले थपे, “हाम्रो मोडेलहरूले देखाउँछ कि सन् २००१ देखि नेपालका दक्षिणी क्षेत्रमा वन डढेलोको जोखिम बढ्दै गएको छ। यदि तुरुन्तै केही नगरिएमा, यी डढेलोहरूले दशकौंको संरक्षण प्रयासलाई ध्वस्त पार्न सक्छ।”
रोकथामका रणनीति
अध्ययनमा संलग्न विज्ञहरुले तत्काल वन डढेलो रोकथाम रणनीति अपनाउन आग्रह गरेका छन्, जस्तै सामुदायिक गस्ती समूहहरू, एआई–आधारित प्रारम्भिक चेतावनी प्रणालीहरू र अन्तरदेशीय सहकार्य (दक्षिण एसियाली जलवायु साझेदारीहरूलाई उपयोग गर्ने)। डा. प्रजल प्रधान (ग्रोनिङ्गन विश्वविद्यालय, नेदरल्यान्ड्स) ले दिगो समाधानहरूको आवश्यकता औंल्याउँदै भने,’यो केवल डढेलो रोक्ने विषय मात्र होइन। नेपालले जलवायु नीति तथा जैव विविधता संरक्षण पहलहरूलाई दिगो विकाससँग जोडेर डिजाइन गर्नुपर्छ। उदाहरणका लागि, दिगो वन व्यवस्थापन अपनाएर काठ तथा गैरकाष्ठजन्य वन उत्पादनहरूको उचित संकलन गर्न सकेमा वन डढेलोको जोखिम कम गर्न सकिन्छ र नेपालको वनलाई भविष्यका लागि सुरक्षित राख्न सकिन्छ।’
स्टोरीसाइकलका निर्देशक (जलवायु र वन) पशुपति नाथ कोइराला भन्छन्, ‘वन डढेलोहरू प्रायः एक्लिएका वन क्षेत्रहरू र मुख्य सडकहरू आसपास धेरै घना रुपमा लाग्ने गर्छन्। धेरैजसो डढेलो संरक्षित क्षेत्रहरूमा प्रभावकारी तथा अप्रभावकारी व्यवस्थापनका कारण हुने गरेका छन्। यी डढेलोहरूले जैविक विविधतालाई मात्र नभई नेपालको कार्बन व्यापारका लाभहरूलाई कमजोर पार्दै २०४५ सम्म नेट(जीरो कार्बन देश बन्ने लक्ष्यलाई समेत खतरामा पार्नेछन्।’
यस अनुसन्धानमा एरिजोना स्टेट युनिभर्सिटी, ज्याक्सन स्टेट युनिभर्सिटी, ग्रोनिङ्गन विश्वविद्यालय, र काठमाडौं फरेस्ट्री कलेजका अनुसन्धानकर्ताहरू संलग्न थिए। अध्ययनले नासा पृथ्वी अवलोकनहरू र मेसिन लर्निङ प्रविधि प्रयोग गरी विगत दुई दशकको अवधिमा नेपालमा डढेलोको जोखिमको नक्सांकन गरेको छ। यो नेपालमा वन डढेलो, कार्बन भण्डारण, र जैविक विविधताको अन्तरसम्बन्ध सम्बन्धी पहिलो राष्ट्रियस्तरको अध्ययन हो।
































