तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु

तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु

केन्द्रबिन्दु
12
Shares

दमौली (तनहुँ) । जिल्लामा चालु आर्थिक वर्षमा १७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा दश वटै स्थानीय तहमा एक सय ७९ क्षयरोगका बिरामी भेटिएका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ‘ल्याव टेक्निसियन’ दीपक श्रेष्ठका अनुसार आँबुखैरेनी गाउँपालिकामा २०, बन्दीपुर गाउँपालिकामा १९, भानु नगरपालिकामा ११, भिमाद नगरपालिकामा छ, व्यास नगरपालिकामा ५३, देवघाट गाउँपालिकामा १५, घिरिङ गाउँपालिकामा १४, ऋषिङ गाउँपालिकामा सात, म्याग्दे गाउँपालिकामा ११ र शुक्लागण्डकी नगरपालिकामा २३ जनामा क्षयरोग पुष्टि भएको छ । त्यसमध्ये छ जना बालबालिका छन् भने तीन जना एचआइभी सङ्क्रमित छन् ।

त्यसैगरी जिल्लामा क्षयरोगबाट १५ जनाको मृत्यु भएको छ । साउन महिनादेखि फागुन मसान्तसम्ममा क्षयरोगबाट १५ जनाको मृत्यु भएको उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा क्षयरोगबाट जिल्लामा १४ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षमा जिल्लामा दुई सय ८६ क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित एक सय ११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । त्यसैगरी १४ स्वास्थ्य संस्थामार्फत क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको बताए । “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ,” उनले भने, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

Logo