काठमाडौं । चार महिना अघि बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ की निर्मला पन्तका बुवा यज्ञराज पन्त अधिकारकर्मीमाथि नै खनिएका छन् ।
छोरीको हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना बसेका निर्मलाका बाबु यज्ञराज शुक्रबार दिउँसो बजारमा आएर अधिकारकर्मी माया नेगीमाथि नै गालीगलौजमा उत्रिएका छन् ।
होटेल ओपेरा अगाडि केही अधिकारकर्मीका साथ सडकमा हिँडि रहेका पन्तले नेगीको पार्टी नयाँ शक्तिको नाम लिएर अपशब्द प्रयोग गरी गालीगलौज गरेका हुन् । उनले नेगीलाई विगतमा साइकलमा समान बोक्ने भनेर समेत अपहेलना गरेका छन् । नयाँ शक्ति पार्टीकी नेतृ नेगी सुरुदेखि निर्मलालाई न्याय दिलाउने आन्दोलनमा सहभागी छिन् ।
गत साउन १० गते भीनपा १८ भगतपुरस्थित साथीको घर आएकी १३ वर्षकी पन्तको शव दोस्रो दिन विहान भगतपुरमा उखुबारीमा भेटिएको थियो । त्यसपछि निर्मलालाई न्याय दिलाउन माग गर्दै आन्दोलन सुरु गरिएको थियो ।
निर्मलालाई न्याय दिलाउन माग गर्दै अधिकारकर्मीद्वय मिना भण्डारी र हेलेन श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै संघर्ष समिति आन्दोलनमा छन् । दशैं तिहारसम्म दुबै समितिको आन्दोलन स्थगित गरिएको थियो । तिहारपछि मिना भण्डारी नेतृत्वको संघर्ष समितिको अगुवाईमा निर्मलाका आमा बुवा प्रशासन कार्यालयमा अनिश्चितकालिन धर्नामा बसेका हुन् ।
प्रशासन कार्यालयमा धर्नामा बसेका बेला पन्तले आन्दोलनमा सहभागी नेगीलाई गालीलौज गरेका हुन् । सामाजिक सञ्जालमा अपलोड गरिएको एक भिडियोमा केही महिलासहित होटेल ओपेरा अगाडि पन्तले नेगीलाई गालीगलौज गरेका छन् ।
भिडियोमा केही महिलाहरुसहित देखिएका पन्तको एक महिलाले मुखमा केही समान खुवाएको दृष्य देखिएको छ । यसैगरी गालीगलौज गरी हिड्न लागेका पन्त एकछिन अघिसम्म अगाडि हिँड्दै गरेको स्कुटीमा चढ्न लागेको भिडियोमा छ ।
गालीगलौजका क्रममा पन्तले भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द विष्टलाई समेत अपशब्द प्रयोग गरेका छन् । निर्मलाको न्यायका लागि गरिएका आन्दोलनमा मेयर विष्टलाई सुरुदेखि अनावश्यक रुपमा विवादमा मुछिएको थियो ।
नयाँ शक्तिकी नेगी यस अघि निर्मलालाई न्यायका लागि काठमाडौंसम्म गएकी थिइन् । प्रशासन कार्यालय अगाडि धर्नामा नेगीले धर्ना स्थगित गरी पन्तको उपचार गराउनुपर्ने बताएकी थिइन् । धर्नामा सहभागीहरुका अनुसार नेगीको त्यस अभिव्यक्तिले पन्त नेगीलाई गालीगलौजमा उत्रिएका हुन् ।
यज्ञराजको स्वास्थ्यसँगै मानसिक समस्याः
कार्तिक २५ गतेदेखि अनिश्चितकालिन धर्नामा बसेका पन्तको मानसिक समस्या देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए । पन्तलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको उनले बताए । प्रशासनले ४ जनालाई काठमाडौं पठाउने तयारी गरेको छ ।
मानसिक समस्या देखिएका पन्तले समेत नगर प्रमुख विष्टलाई गालीगलौज गरेपछि आन्दोलनमाथि आशंका उब्जिएको छ । ओपेरा अगाडिको भिडियोमा देखिएका महिलाहरु धर्नामा बस्ने गरेका छन्, भने नागरिक समाजका अगुवा नर बहादुर साउँद भिडियोमा पन्तसित देखिएका छन् । नयाँ शक्तिले केही दिन अघि अनिश्चिकालिन धर्नामा ऐक्यवद्धता जनाएको थियो ।































प्रतिक्रिया