काठमाडौं । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको रिजर्भ बस मकवानपुरमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । गएराति ९:३० बजेतिर मकवानपुरको बकैया गाउँपालिका ३ चिसापानी बजारस्थित धरान-चतरा सडकमा बस पल्टिएको हो ।
भीमफेदी गाउँपालिकाका कृषि तथा पशु शाखाका कर्मचारीहरूको टोली सिन्धुली भ्रमणबाट भीमफेदी फर्कने क्रममा दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार बसमा चालकसहित ३१ जना थिए । तीमध्ये २३ जना घाइते भएका हुन् । जसमा केहीको अवस्था गम्भीर रहेको डीएसपी अर्यालले जानकारी दिए ।
घाइते हुनेमा वडाध्यक्षदेखि गाउँपालिकामा कार्यरत कर्मचारी छन् । दुर्घटनामा भीमफेदी गाउँपालिका २ का वडाध्यक्ष ४९ वर्षका कासीराम बज्यु घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा भीमफेदी ३ बुल्मिङ बस्ने ४६ वर्षका श्रीराम बज्यु, भीमफेदी ५ ज्यामिरेकी ५५ वर्षीया रीता कुमारी मगर, भीमफेदी गाउँपालिकाको कार्यपालिका सदस्य ४५ वर्षीया सुमित्रा लामा र सोही स्थानकी ५५ वर्षीया सानी आलेको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुधबार राति नै भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ ।
यस्तै अन्य घाइतेहरुमा चितवनको राप्ति नगरपालिका २ गडौली बस्ने २९ वर्षका पशु प्राविधिक डा. सरोज ओझा, उनकी श्रीमती २७ वर्षकी रेश्मा सुवेदी, मकवानपुरको भीमफेदी २ निगालेका ४५ वर्षका दिलीप राज बुलन, सोही स्थानका यदुनाथ पुडासैनी रहेका छन् ।
मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुली बस्ने ४२ वर्षका नारायणप्रसाद शर्मा, हेटौँडा ११ थानाभर्याङ बस्ने २९ वर्षका उज्वल राना मगर, सोही स्थानका ३२ वर्षका सुदिप पराजुली, २७ वर्षका सुयास पाख्रिन, २७ वर्षका शुभाष रुम्बा, भीमफेदी ५ का ५२ वर्षका हितचन्द्र मोक्तान, सोही स्थानका २५ वर्षका अनिल स्याङबो, हेटौँडा १८ बस्ने रुबिन घर्ति पनि घाइते भएका छन् ।
यस्तै भीमफेदीकै ५३ वर्षका बुद्विसिंह दोङ, ३९ वर्षकी सीता थिङ, सूर्य माया घलान, करणध्वज पाख्रिन, हेटौँडा १८ हर्नामाडीका २९ वर्षका विमल ढुंगाना, भीमफेदी ४ बस्ने ४० वर्षका कृष्णहरि गाहामगर, सोही स्थानका ३८ वर्षका सुजन प्रजा, ४३ वर्षका मान बहादुर लामा, भीमफेदी १ सानुटार बस्ने ४२ वर्षका राजेन्द्र कुमार स्याङतान, गाउँपालिकाका कृषि प्राविधिक २९ वर्षका सानुकान्छा घिसिङ, पशु प्राविधिक पुष्पलाल बज्यु, भीमफेदी ३ बस्ने ४८ वर्षको अर्जुन तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका सहचालक उदयपुर रौतामाई गाउँपालिका ५ बस्ने ३२ वर्षकोे सतिह दाहाल पनि घाइते भएका छन् । चालक भने हालसम्म फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरू हेटौँडास्थित विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया