चरिकोट ।
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा मंगलबार दिउसो ‘पसिना’ आएको छ । दिउसो १ बजेर ४३ मिनेटदेखि २ बजेर ५४ मिनेटसम्म शिलामा ३ पटक ‘पसिना’ आएको हो ।
भीमेश्वरको शिला (चट्टान) मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’आएको भनेर विश्वास गरिन्छ । कोरोनाका कारण बन्द भएको मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीयवासीलाई खबर गरेका थिए । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दोलखाका प्रमुखहरु मन्दिरमा पुगेर दर्शन गरेका थिए ।
भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनहरुले मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने गरेका थिए । मन्दिरमा अहिले भक्तजनको बाक्लो भिड लागेको दोलखाबाट स्थानियवासी बलराम सापकोटाले जानकारी दिए ।
यहाँको शिलामा ‘पसिना’ आएपछि राष्ट्रप्रमुखबाट क्षमापूजा गर्नु पर्ने अन्यथा देशमा अनिष्ट हुने विश्वास छ । यसका लागि आज क्षमापूजा गर्न यहाँको महाप्रसाद राष्ट्रपति समक्ष पठाइने जिल्ला प्रशासन कार्यालय दोलखाले एक सुचना जारी गरि जानकारी दिएको छ ।

राजाको शासनकालमा यसरी पसिना आउँदा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो । हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । यसअघि पनि भिमेश्वरको शिलामा पसिना आएको थियो । विसं. १९९०, २००७, २०२८, २०७० र ०७४ सालमा पनि ‘पसिना’ आएको थियो ।





























प्रतिक्रिया