भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौं नेपालीहरु बन्धक बनाइएको पाइएको छ । उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ ।

गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो। आइतबार राती साँझ थप २२ नेपालीको उद्धार गरिएको जोशीले जानकारी दिए ।

जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नावालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन। उनीहरुलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको उनले जानकारी दिए।

बन्धक बनाउन सक्रिय गिरोहले उद्धारका लागि भारतीय प्रहरी, किन नेपालको उद्धार टोली आउँदै गरेको सूचना पाएपछि भागेको र बाँकी बन्धक बनाइएका नेपालीहरूलाई घर सारेर राखिरहेको जोशीले बताए। ‘हामीले जंगलमा भगाउँदै गर्दा अहिले राती २२ जनालाई उद्धार गर्यौं । बन्धक बनाउने समुहका नाइकेहरुको अहिले भागाभाग भएको छ । कतिपयलाई उनीहरुले घर फेरेर लुकाइरहेको भन्ने सूचना आएको छ,’ उनले भने ।

निर्देशक जोशीका अनुसार गत बिहीबार उद्धार गरिएका ३५ जनालाई अदालती र प्रशासनीक प्रक्रिया पूरा गरेर मंगलबारसम्म नेपाल ल्याउने तयारी भइरहेको बेला थपको उद्धार भएको हो। अन्य पाँचसय बढी बन्धक बनाएको डाटाहरु आफूलाई प्राप्त भएको जोशीले जानकारी दिए।

‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौं। अन्य २२ जनालाई पनि हाम्रो सम्पर्कमा ल्याएका छौं । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने।

पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याइ बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो।

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रहरी, किन इन्डियान नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते ३५ जनाको उद्धार कार्य सम्पन्न गरेको थियो।

इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने।

आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ । जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् ।

नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo