काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका भनिएका हायु परिवार पोखरामा भेटिएका छन् ।
उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए । त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जंगल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो । तर अन्तिममा हायु परिवारलाई सोमबार साँझ प्रहरीले पोखरामा फेला पारेको हो ।
उनीहरू शनिबार नै पोखरा पुगेको पाइएको छ ।
परिवारकी माइली छोरी सुजता हायु सम्पर्कमा आएपछि परिवार पोखरामा रहेको पत्ता लागेको हो । सुजता उनका श्रीमान आयुष श्रेष्ठसँग केही महिनादेखि नै काठमाडौंमा बस्दै आएकी थिइन्। तर हराएको सूचीमा सुजताको नाम पनि थियो। गाउँलेहरूले उनको पनि नाम जोडे पनि गाउँको घरमा उनी नभएको प्रहरी अनुसन्धानमा खुलेको हो।
उनीहरूको परिवारका सदस्यहरूले मोबाइल प्रयोग गर्ने गरे पनि सबै स्वीच अफ थियो। खोजतलासका क्रममा बाख्रा र कुकुरलाई कसैको जिम्मा नलगाई किन परिवार बाहिरियो होला भन्ने प्रश्न पनि आफैँमा गम्भीर बन्न पुगेको थियो । उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केका घटनाले पुष्टि गरेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेकेा छ ।





























प्रतिक्रिया