काठमाडाैं । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने बताएको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत पहाडी भागका केही स्थानमा र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै महाशाखाले सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।
यता बाढी पूर्वानुमान महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तल नै छ तर दिउँसो बढ्ने सम्भावना छ।
जिल्लाका दृष्टिले डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।
साथै आज इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, बागलुङ, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, बाजुरा, बाझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने केही ससाना नदी आसपास पनि उत्तिकै जोखिम रहेको महाशाखाको भनाइ छ ।































प्रतिक्रिया