दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्दै जेल्टुङ–नाउराका बगरवासी

दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्दै जेल्टुङ–नाउराका बगरवासी

केन्द्रबिन्दु
0
Shares


काठमाडौँ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगर र जेल्टुङ गाउँवासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ–नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भ-याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता आएको हो ।

गत असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्ण रुपमा बगाएर लगेको स्थानीय कैलास आधारभूत विद्यालयका शिक्षक जगलाल हर्मेलले जानकारी दिए । उनका अनुसार, ठाडो खोल्साबाट आएको बाढीपहिरोले बाटोको बेस नै नरहने गरी बगाएपछि स्थानीयवासीले आवतजावतमा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । दैनिकजसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि जनजीवन नै कष्टकर बनेको छ ।

बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पु¥याउन समेत सकस भएको धवलागिरि गाउँपालिका–४ का वडा सदस्यसमेत रहनुभएका स्थानीय अगुवा हरिप्रसाद तिलिजाले बताए। उनले भने, ‘‘हामीले दिनहुँजसो पहिरोग्रस्त ठाउँमा मर्मत गरी जोखिम मोलेर वारपार गर्दै आएका छौँ, बालबालिका, महिला र ज्येष्ठ नागरिक आवतजावत गर्न मुस्किल छ ।’’

जेल्टुङ र बगर गाउँमा करिब ७० घरधुरीको बसोबास रहेको छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेहरुसमेत गाउँ पुग्ने बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रिय धौलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।

शरदयामको लागि हिमाल आरोहण र चक्रिय धौलागिरि पदयात्राका लागि आउन लागेका पर्यटकले यो बाटोको विकल्पकारुपमा मार्फा हुँदै आधारशिविर पुग्ने र हेलिकप्टरमार्फत जान सुरु गरेका छन् ।

Logo