बडादसैंको पाँचौं दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

बडादसैंको पाँचौं दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आज नेपालीहरूको महान् पर्व बडादशैंको पाँचौं दिन विशेष उत्साहका साथ देवी स्कन्दमाताको पूजा–आराधना गरिँदै छ । नवरात्रिको पाँचौं दिन आश्विन शुक्ल पञ्चमी, दुर्गा भवानीका नौ रूपहरूमध्ये पाँचौं रूप स्कन्दमातालाई समर्पित छ ।

बडादशैं असत्य र आसुरी शक्तिमाथि सत्य र दैवी शक्तिको विजयको प्रतीक हो, जसले भक्तजनहरूलाई आध्यात्मिक ऊर्जा र सन्तान सुख प्रदान गर्ने विश्वास गरिन्छ । पौराणिक कथा अनुसार स्कन्दमाता देवीको नाम भगवान् कार्तिकेय (स्कन्द)सँग जोडिएको छ ।

धार्मिक ग्रन्थहरूका अनुसार, स्कन्दमाता इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिको समागम हुन् । जब यी शक्तिहरू शिव तत्वसँग मिल्दछन्, तब स्कन्दको जन्म हुन्छ । पौराणिक कथा अनुसार, शिवको पसिनाबाट बनेको वीर्यबीजबाट स्कन्दको जन्म भएको उल्लेख छ । स्कन्दको यो रूपले हामीलाई सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नभई यसलाई व्यवहारमा उतार्नु आवश्यक पनि रहेको स्मरण गराउँछ । स्कन्दमाताको भक्ति गर्नाले सन्तान सुख, उर्वरा भूमि र अलौकिक तेज प्राप्त हुने विश्वास रहेको छ । एक पौराणिक कथा अनुसार पार्वतीले ऋषि सनतकुमारलाई ऊँटको योनीमा श्राप दिएपछि पश्चात्ताप गर्दै उनलाई पुत्रका रूपमा प्राप्त गर्न चाहनु भएको थियो, जसबाट स्कन्द नाम रहन गएको विश्वास पनि गरिन्छ ।

स्कन्दमाताको पूजा विधि अत्यन्त विधिवत् र संरचित रहेको छ । सबैभन्दा पहिले काठको चौकोसमा स्कन्दमाताको प्रतिमा स्थापित गर्नुहोस् । त्यसपछि गङ्गाजल वा गोमूत्रले चौकोसलाई शुद्ध गर्नुहोस् । चाँदी, तामा वा माटोको घडामा जल भरेर कलश स्थापना गर्नुहोस् । चौकोसमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका अर्थात १६ देवीहरू र सप्त घृत मातृका अर्थात सात सिन्दूर टीका लगाएका देवीहरूको स्थापना गर्नुहोस् । त्यसपछि पूजनको संकल्प लिनुहोस् र व्रत धारण गर्नुहोस् । वैदिक तथा सप्तशती मन्त्रहरूबाट स्कन्दमातासहित सबै स्थापित देवताहरूको पूजा गर्नुहोस् ।

आज देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकामा गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी जस्ता मन्दिरहरूमा विशेष पूजा हुन्छ । उपत्यका बाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना, पोखराको बिन्ध्यवासिनी, सप्तरीको छिन्नमस्ता र षखडा मन्दिरहरूमा नवदुर्गा अवधिभर उत्सव मनाइन्छ ।

घटस्थापनादेखि पूर्णिमासम्म चल्ने यो पर्वले १५ दिनसम्म नेपाली संस्कृतिलाई जीवन्त बनाउँछ, जसमा दुर्गा सप्तशती (चण्डी) र देवी भागवत जस्ता ग्रन्थहरूको पाठ गरिन्छ । स्कन्दमाताको पूजा केवल धार्मिक अनुष्ठान मात्र होइन; यो जीवनको व्यवहारिक पक्षसँग जोडिएको छ । आधुनिक जीवनमा चुनौतीहरू सामना गर्दा सैद्धान्तिक ज्ञानलाई क्रियामा बदल्नु आवश्यक हुन्छ, यो नै स्कन्दमाताको सन्देश पनि हो ।

यो पर्वले हामीलाई ब्रह्मको सर्वव्यापितालाई क्रियात्मक रूपमा अनुभव गर्न सिकाउँछ । नवरात्रिको पहिलो दिन शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैठौं कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी र नवौं सिद्धिदात्रीको पूजा गरिन्छ । यो क्रमले देवीका विभिन्न शक्तिहरूको क्रमिक विकासलाई दर्शाउँछ ।

Logo