काठमाडौं । आज सोमबार बेलुकादेखि मौसममा बदली भई केही स्थानमा शुक्रवारसम्म वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिन र मौसमविद्हरूको विश्लेषणका आधारमा आजदेखि शुक्रवारसम्म देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको हो ।
बंगालको खाडी र अरब सागरमा विकसित हुँदै गरेका दुई वटा मौसमी प्रणालीका कारण यो अवधिमा विशेषगरी पूर्वी नेपालमा बढी वर्षा हुने अनुमान गरिएको हो । यसले किसानहरूलाई धान काट्ने र भित्र्याउने कार्यमा सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ ।
सोमवार देशभर मौसम आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशमा मौसम थप बदली हुने र तराईमा पनि आंशिक बदली हुने सम्भावना रहेको छ । गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा थोरै ठाउँमा र लुम्बिनी तथा अन्य पहाडी÷हिमाली क्षेत्रमा एक वा दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
मंगलवार पनि मौसम बदलीको अवस्था कायम रहनेछ । गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली हुने र तराईमा आंशिक बदली हुने सम्भावना छ । यी क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । राति बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा बदली कायम रहनेछ भने तराईमा आंशिक बदली हुने अनुमान छ ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना बलियो छ । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार मंगलवारपछि वर्षा र हिमपातको सम्भावना थप बढ्नेछ, जुन शुक्रवारसम्म कायम रहन सक्छ । बंगालको खाडी र अरब सागरमा विकसित भइरहेका दुई वटा मौसमी प्रणालीले नेपालमा वर्षा गराउने सम्भावना देखिएको छ । पूर्वी नेपालमा अन्य क्षेत्रको तुलनामा बढी वर्षा हुने अनुमान छ, जबकि बाँकी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । यी प्रणालीहरूले उच्च हिमाली क्षेत्रमा हिमपातलाई पनि प्रभाव पार्नेछ ।
त्यसैगरी यो समय धान काट्ने र भित्र्याउने मुख्य मौसम भएकाले किसानहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ । मौसमविद् पोखरेलले काटिएको धान तत्काल भित्र्याउन र मंगलवारदेखि शुक्रवारसम्म वर्षाको सम्भावना रहेकाले सम्भव भएसम्म यो अवधिमा धान काट्ने र भित्र्याउने कार्य स्थगित गर्न सल्लाह दिएका छन् । वर्षाले धान भिज्ने र क्षति पुग्ने जोखिम रहेकाले किसानहरूले पूर्वतयारी गर्नुपर्ने देखिन्छ । बंगालको खाडी र अरब सागरमा विकसित हुँदै गरेका मौसमी प्रणालीहरूले नेपालमा वर्षा र हिमपातको अवस्था सिर्जना गर्नेछन् ।
यी प्रणालीहरूले विशेषगरी पूर्वी नेपालमा बढी प्रभाव पार्ने अनुमान छ । यस्ता मौसमी प्रणालीहरूले हिमाली क्षेत्रमा हिमपात र पहाडी तथा तराई क्षेत्रमा वर्षा गराउने सम्भावना हुन्छ । यो अवधिमा तापक्रममा पनि कमी आउन सक्ने भएकाले चिसोबाट बच्न आवश्यक तयारी गर्न पनि सुझाव दिइएको छ ।































प्रतिक्रिया