सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती

सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती

केन्द्रबिन्दु
21
Shares

खाँदबारी । जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन् । जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भीडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो ।

“जिल्लामा शान्ति र सुरक्षाको अवस्था सुदृढ गर्न सबै सुरक्षा निकाय एकताबद्ध भएर काम गरिरहेका छौँ”, उनले भने, “मुख्य सडक, भीडभाड हुने स्थान, बसपार्क, बजार, बैङ्क तथा सरकारी कार्यालय वरपर निगरानी बढाइएको छ, सुरक्षा निकायका अनुसार यस्तो संयुक्त गस्तीले आपराधिक गतिविधि नियन्त्रण, चोरी, डकैती, झैझगडा तथा अवाञ्छित समूहको गतिविधि रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।”

स्थानीयवासीले संयुक्त सुरक्षाबलको उपस्थिति देखिएपछि बजार क्षेत्र थप सुरक्षित महसुस भएको प्रतिक्रिया दिएका छन् । सेना र प्रहरीसँगै बजार गस्ती गर्दा वातावरण सुरक्षित महसुस हुन्छ, यस्तो पहल निरन्तर हुनुपर्ने खाँदबारीका व्यवसायी हिमाल श्रेष्ठ बताउछन्। सुरक्षा स्रोतका अनुसार चाडपर्वमा भीडभाड बढ्ने सम्भावना भएकाले गस्तीलाई राति पनि निरन्तर गर्ने तयारी भइरहेको छ ।

Skip This
Skip This
Logo