नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

केन्द्रबिन्दु
6
Shares

राँझा । बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा सतसङ्ग एवं नामदान समारोह सञ्चालन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ बसुदेवपुरमा मङ्गलबारदेखि सुरु भएको सतसङ्गमा बाँके, बर्दिया, दाङ, सुर्खेत र भारतको उत्तर प्रदेश, महाराष्ट्र, उत्तराखण्डबाट करिब १० हजार जयगुरुदेव शिष्यको सहभागिता रहेको कार्यक्रमका प्रचारक डा चेतमान जिसीले जानकारी दिए।

उनका अनुसार बुधवारसम्म सञ्चालन हुने सतसङ्ग एवं नामदान समारोहमा भारतको मध्यप्रदेशस्थित उज्जैनबाट आएका वक्ता गुरु परम सन्त बाबा उमाकान्त जी महाराजले जयगुरुदेव शिष्यसँग सतसङ्ग गर्नेछन्। “यो समयमा सनातन पूजापाठ, रीतिरिवाज, खानपान, पहिरन र भगवान्लाई भुलेर गलत बाटो अपनाई पाप र व्यभिचारमा लिप्त भइरहेका छन्”, डा जिसीले भने, “यस्तो हालतलाई मध्यनजर गरी मानिसहरूलाई सम्झाउन, बुझाउन तथा कष्ट निवारणका लागि सतसङ्ग कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा जयगुरुदेव शिष्यका साथै सबै धर्म र सम्प्रदायका व्यक्तिलाई समेत सहभागी हुनसक्ने व्यवस्था मिलाइएको कार्यक्रमका अर्का प्रचारक डा लोकेन्द्र खड्काले बताए। कार्यक्रममा सहभागी सबै भक्तजनलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ ।

“दुईदिने सतसङ्ग कार्यक्रम आयोजना गर्न करिब रु ४० लाख खर्च हुने अनुमान गरिएको छ, यो खर्च जयगुरुदेव शिष्यबाटै स्वइच्छाले दिएको दानबाट व्यवस्थापन गर्ने गरेका छौँ, डा खड्काले भने, “हामी कार्यक्रम सञ्चालनका लागि कहीँकतै पनि चन्दा उठाउन जाँदैनौँ, गच्छेअनुसार शिष्यले दिएको दानबाटै व्यवस्थापन गर्दै आएका छौँ ।”

बाँके, बर्दिया, दाङ र सुर्खेतका जयगुरुदेव शिष्यलाई मध्यनजर गरेर नेपालगञ्जमा गुरु परम सन्त बाबा उमाकान्त जी महाराजको सतसङ्ग कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo