पर्वत युवा सञ्जालले बुझायो कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा ध्यानाकर्षण पत्र

पर्वत युवा सञ्जालले बुझायो कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा ध्यानाकर्षण पत्र

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । पर्वत जिल्लाका युवाहरूले स्थानीय तहमा व्याप्त भ्रष्टाचार र सुशासनका मुद्दाहरूमा जागरण ल्याउने उद्देश्यले महत्वपूर्ण कदम चालेका छन्। पर्वत युवा सञ्जालको नेतृत्वमा आज कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा व्यथितीविरुद्ध ध्यानाकर्षण पत्र बुझाइएको छ।

यो पहलले स्थानीय तहहरूमा हुने पर्दा पछाडिका गतिविधिहरू, भ्रष्टाचारका घटनाहरू र सुशासन अभियानका प्रमुख मुद्दाहरूमा सचेतना फैलाउने तथा सुधारका लागि आवश्यक कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य राखेको छ। पर्वत युवा सञ्जालका प्रतिनिधिहरूले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, प्रशासक तथा अन्य सरोकारवालाहरूसँग भेटघाट, छलफल र समन्वय गरी ध्यानाकर्षण गराएका हुन्।

यस अवसरमा सहभागीहरूले स्थानीय तहहरूमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिताको कमीले गर्दा विकासका योजना तथा सेवाहरू प्रभावित भएको बताए।

विशेष गरी बजेटको दुरुपयोग, नेपोटिज्म र पर्दा पछाडिका सेटिङहरूले आम नागरिकको हितमा ठेस पुगेको उनीहरूको भनाइ थियो। पर्वत युवा सञ्जालका संयोजक समुन्द्र गिरी,सचिव मदन पौडेल, सामाजिक कार्यमा सक्रिय युवाहरु संविधान गिरी, अभिलाष गिरी लगायतका युवाहरूले स्थानीय तहलाई सुशासनको नमुना बनाउन सहयोग गर्न तयार भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कार्यक्रममा युवा सञ्जालका सदस्यहरू, कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका प्रमुख, पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । यो पहलले पर्वत जिल्लामा युवा शक्तिको सक्रियताले स्थानीय शासन प्रणालीमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित स्थानीय तहहरूले पनि पत्रको सकारात्मक पक्षलाई ग्रहण गर्दै आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता जनाएको अभिलाष गिरीले जानकारी दिएका छन् । पर्वत युवा सञ्जाल पछिल्लो समय सामाजिक रुपमा सक्रिय हुँदै आईरहेको छ ।

Skip This
Skip This
Logo