दुई दिनदेखि किन अशान्त छ सिमरा ?

दुई दिनदेखि किन अशान्त छ सिमरा ?

जेनजीका नाममा माओवादी र राप्रपाका युवाहरु सडकमा उत्रिए -युवा संघ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । बाराको सिमरामा यतिबेला कफ्र्यू आदेश जारी गरिएको छ । सिमरा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि तनावग्रस्त बनेको हो । बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । स्थिति नियन्त्रणमा लिन सिमरा क्षेत्रमा राति ८ बजेसम्म कर्फ्यु लगाइएको छ ।

बुधबार राष्ट्रिय युवा संघले बारा जिल्लाको परवानीपुर गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेललगायत नेताहरू सिमरा विमानस्थल हुँदै कार्यक्रममा सहभागी हुने तयारी थियो ।

तर काठमाडौंबाट विमान उड्नुभन्दा केही समयअघि मात्रै नेताहरुलाई स्वागत गर्न बसेका एमालेका कार्यकर्ता र जेनजीबीच भिडन्त हुन थाल्यो। सो क्रममा युवा संघका कार्यकर्ताहरूको कुटपिटबाट सम्राट उपाध्यायसहित जेनजीका ५ जना सामान्य घाइते भए । उपाध्यायको नाक र मुखमा चोट लागेको र रगत बगेको थियो भने घटनामा प्रहरी निरीक्षक जीवन लामिछाने र प्रहरी नायव निरीक्षक कृष्णनन्दन ठाकुर पनि सामान्य घाइते बनेका छन् ।

युवा संघका कार्यकर्ताहरूले जेन–जी अगुवा सम्राट उपाध्यायलगायतलाई कुटपिट गरेपछि बढेको तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो साँढे १२ बजेबाट राति ८ बजेसम्म कर्फ्यु आदेश नै जारी गरेको थियो ।

कुटपिटपछि आक्रोशित जेन–जी युवा युवा संघका कार्यकर्ताको पिछा गर्दै विमानस्थलको गेटबाहिर पुगेका थिए । सोही क्रममा विमानस्थलभित्र बसेका एमालेका अन्य नेता र कार्यकर्ताहरूलाई लक्षित गर्दै उनीहरूले ढुंगामुढा गरेका थिए । ढुंगामुढाले विमानस्थलको मुख्य गेट भत्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । जेनजी युवाहरूले कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै त्रिभुवन राजपथको वीरगञ्ज–पथलैया सडक खण्ड दिनभरि नै अवरुद्ध समेत पारेका थिए ।

उनीहरुले कारबाहीको माग गरे लगत्तै जीतपुर सिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई पक्राउ समेत गरे । बुधबारको झडपमा ६ जना जेन–जी घाइते भएका थिए । जेन–जीहरुले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए ।

बुधबारको झपडमा अवरुद्ध भएको सडक साँझ ६ बजेबाट खुलेको थियो । बाराको चैनपुरमा युवा संघले बुधबार आयोजना गरेको कार्यक्रममा एमाले नेता महेस बस्नेत र महासचिव पोखरेलसहितका नेताहरू सिमरा विमानस्थलबाट आउने खबर पाएपछि जेन–जीको नाममा स्थानीय युवाले अघिल्लो दिन नै गत भाद्र २३ को जेन–जी आन्दोलनमा भएको दमनविरुद्ध सिमरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । जेन–जीको प्रदर्शनपछि सिमरा विमानस्थल बन्द भयो ।

विमानस्थल बन्द भएपछि नेकपा एमालेका महासचिव पोखरेल र बस्नेत बारा आउने कार्यक्रम रोकिएको थियो । उनले विमानस्थलबाट निस्किएर तुरुन्तै पत्रकार सम्मेलन समेत गरेका थिए ।

यद्यपी बुधबार नै गृह मन्त्रालयले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा भनिएको थियो– ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकोले यसतर्फ गम्भीर रहन सबै पक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो । हाल बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्तामा आउन आग्रह गरेका छन् । प्रजिअ मिश्रले संवाद र छलफलबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी वार्तामा बोलाएका हुन् । प्रहरीको लाठीचार्जबाट जेनजीहरु घाइते भएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने माग राखेका छन् ।

यसैबीच सिमरा घटनापछि बिहीबार एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पाैडेलले जेनजीका नाममा माओवादी र राप्रपाका युवाहरु सडकमा उत्रिएको बताएका छन् । बिहीबार केन्द्रविन्दुसँगको कुराकानीमा उनले घटनाक्रमबारे त्यहाँका स्थानीयसँग बुझ्दा जेनजीको आन्दोलनमा जेनजीको अगुवाई गर्ने राप्रपा र माओवादीका कार्यकर्ता रहेको भन्दै उनीहरुले कार्यक्रम हुन नदिनका लागि यो षडन्त्र गरेका बताएका हुन् ।

उनले हिजोको घटनालई राज्यले निश्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo