सिरहामा ’लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु

सिरहामा ’लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु

केन्द्रबिन्दु
6
Shares

सिराहा । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजबाट सिराहा जिल्लाभर ‘लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु भएको छ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस)सम्म मनाइने यो अभियानको पहिलो दिन सिराहामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरि मनाइएको हो ।

सिरहाको सदरमुकाम सिरहामा आयोजित र्यालीमा नगरपालिकाका नगरप्रमुख डा नबिन कुमार यादव, उपप्रमुख बबिता साह, सिरहाका प्रमुख जिल्ला अधिकारी, पहरी उपरीक्षकलगायत बिभिन्न संघसंस्था र नागरिक समाजका सयौं ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सिरहा नगर परिक्रमापछि नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । उपप्रमुख बबिता कुमारी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नपाका प्रमुख डा नविन कुमार यादवले लैंगिक हिंसा रोकथाम र अन्त्यका लागि पहिला घरबाटै सुधार गर्नुपर्ने बताए । उनले बालबालिका र किशोर किशोरीलाई उचित शिक्षा र राम्रो बातावरण दिन सकिए एक हदसम्म हिंसामा कमी आउने बताए ।

युवाहरू कामको अभावमा भडकिरहेका र गलत ब्यक्तिहरूको संगतले कुलत र दुव्र्यसनीमा फस्ने बताउँदै यस्तै कारण पछि गएर महिला हिंसामा परिणत हुने अबगत गराए । महिला हिंसा रोक्न महिला आफै पनि सशक्त हुनुपर्ने र हिंसा गर्नेसंग आबश्यक परे प्रतिकार गर्न पनि पछि पर्न नहुने उनले बिचार ब्यक्त गरे ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालयद्वारा साइबर अपराध र यसको रोकथाम सम्बन्धी प्रजेन्टेशन प्रस्तुत गरिएको थियो। त्यसैगरि सिराहाका अन्य विभिन्न पालिकाहरू (लहान, गोलबजार, मिर्चैया आदि) मा कानुनी साक्षरता, सडक नाटक, र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। समाजमा लुकेर रहेका हिंसाका घटनालाई बाहिर ल्याउन र पीडितलाई न्यायको पहुँचमा पुर्याउन यो अभियान केन्द्रित रहनेछ।

Logo