२०८२ पुष ६ देखि १२ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो हप्ता मेष राशिका जातकका लागि सतर्कता अत्यन्त आवश्यक देखिन्छ। करियर र व्यवसायमा सानो लापरवाही पनि ठूलो समस्या बन्न सक्छ। परिस्थितिले पटक–पटक चेतावनी दिनेछ, तर यदि त्यसलाई हल्का रूपमा लिनुभयो भने आर्थिक क्षति मात्र होइन, मान–सम्मानमा पनि असर पर्न सक्छ। यो सप्ताह तपाईंको मेहनत, धैर्य र संयमको परीक्षा लिने खालको रहनेछ ।
घरपरिवारको वातावरण पूर्ण रूपमा स्थिर रहने छैन। हप्ताको उत्तरार्धमा कुनै बुजुर्ग व्यक्तिसँग मतभेद हुन सक्छ। प्रत्येक कुरालाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्नुभयो भने विवाद झन् बढ्न सक्छ। सम्बन्ध जोगाउन चाहनुहुन्छ भने केही कुरामा नजरअन्दाज गर्नु नै बुद्धिमानी हुनेछ ।
प्रेम सम्बन्धमा हतारो गर्नु हानिकारक हुन सक्छ। भावनामा बगेर लिएको निर्णयले सम्बन्धमा चिसोपन ल्याउन सक्छ। विवाहिता व्यक्तिले जीवनसाथीको भावना बेवास्ता गरेमा दूरी बढ्ने सम्भावना छ। संवाद र समझदारी अत्यावश्यक छ।
व्यवसायीहरूका लागि यो सप्ताह ठूला परिवर्तन ल्याउन सक्ने देखिन्छ। जोखिम लिनु अघि परिस्थितिको राम्रो मूल्याङ्कन गर्नुहोस्। हप्ताको दोस्रो भागमा चुनौतीहरू बढ्नेछन्, तर सुखद पक्ष के छ भने शुभचिन्तक र सहयोगीहरूबाट सहयोग प्राप्त हुनेछ।
नौकरीपेशा व्यक्तिहरूमा कामको अचानक दबाब बढ्न सक्छ। टार्गेट–आधारित काम गर्नेहरूका लागि सप्ताह तनावपूर्ण रहनेछ। गल्तीको कुनै ठाउँ नरहने भएकाले सजगतामा कमी आए वरिष्ठहरूको असन्तुष्टि भोग्नुपर्ला।
विद्यार्थीहरूको मन पढाइबाट भड्किन सक्छ, जुन प्रत्यक्ष रूपमा नोक्सानदायी हुनेछ। प्रतियोगी परीक्षाको तयारी गरिरहेका युवाले यस सप्ताह आफूमाथि कडाइ अपनाउनुपर्ने छ। लापरवाहीको अर्थ पछाडि पर्नु हो।
कार्यस्थलमा गति आउनेछ तर मानसिक तनाव पनि साथमा रहनेछ। विवादबाट टाढा रहनु हितकर हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुने संकेत छ। कुनै अपरिचित व्यक्तिबाट प्राप्त सहयोग तपाईंका लागि लाभदायक साबित हुन सक्छ।
धनको लेनदेनमा विशेष सावधानी अपनाउनुहोस्। कसैमाथि आवश्यकता भन्दा बढी विश्वास गर्नु घाटाको कारण बन्न सक्छ। अनावश्यक खर्च नियन्त्रणमा नराखे बजेट बिग्रिन सक्छ।
उपाय- मंगलबार रातो कपडा दान गर्नुहोस् । हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।
वृष राशि
यो हप्ता वृष राशिका जातकले अनावश्यक खर्च नियन्त्रण गर्नु अत्यन्त जरुरी छ। पैसाको गलत व्यवस्थापनले भविष्यमा समस्या आउन सक्छ। मानसिक तनावका कारण आर्थिक पक्ष केही कमजोर महसुस हुन सक्छ, त्यसैले शान्त भएर निर्णय लिनुहोस्।
व्यवसायमा परिवर्तन गर्न यो सप्ताह अनुकूल छ। नयाँ योजना वा सुधारले राम्रो परिणाम दिन सक्छ। उच्च अधिकारीहरू तपाईंको कामबाट खुसी रहने संकेत छ। कार्यक्षेत्रमा कहिलेकाहीँ उबाउ काम आउन सक्छ, जसले तनाव बढाउन सक्छ, तर धैर्य राख्नु लाभदायक हुनेछ। अनलाइन कारोबारमा सावधानी अपनाउनुहोस्।
विद्यार्थीहरूका लागि समय राम्रो छ। प्रतियोगी परीक्षामा सफलता मिल्ने सम्भावना छ। एकाग्रतामा कहिलेकाहीँ कमी आए पनि प्रयास जारी राख्दा ढिला भए पनि राम्रो नतिजा प्राप्त हुनेछ।
हप्ताको सुरुवातमा भावनात्मक उतार–चढाव हुन सक्छ। जीवनसाथीको अपेक्षा बढ्न सक्छ, त्यसैले संवादमा ध्यान दिनुहोस्। रिस नियन्त्रण गर्नुहोस् र कडा वा अपशब्द प्रयोग नगर्नुहोस्। साथीभाइ र आफन्तसँग मनका कुरा साझा गर्दा हल्कापन महसुस हुनेछ। साना भाइ–बहिनीलाई आर्थिक सहयोग गर्दा आन्तरिक सन्तुष्टि मिल्नेछ।
आर्थिक स्थितिमा क्रमशः सुधारको संकेत छ। पुराना लगानी, रोकिएको पैसा वा पैतृक सम्पत्तिसँग सम्बन्धित विषयमा सकारात्मक प्रगति हुन सक्छ। तर नयाँ लगानी अहिले टार्नु नै राम्रो हुनेछ। नयाँ सम्पत्ति खरिद गर्ने सोच बन्न सक्छ।
स्वास्थ्यमा ध्यान दिनुपर्ने समय हो। खानपान, निद्रा र दिनचर्या सन्तुलित राख्नुहोस्। वजन, थाइराइड, सुगर, बीपी वा कोलेस्ट्रोल सम्बन्धी समस्या भएकाले विशेष सतर्कता अपनाउनुहोस्। अनावश्यक दौडधुप र तनावबाट टाढा रहनु राम्रो ।
उपाय- दुर्गा चालीसा बिहान–साँझ पाठ गर्नुहोस्।यसले मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्नेछ।
मिथुन राशि
मिथुन राशिका लागि यो सप्ताह समग्रमा अनुकूल रहनेछ, तर सक्रियता अत्यन्त आवश्यक हुनेछ। समयमै काम पूरा हुने संकेत छन् र लामो समयदेखि रोकिएका कामहरू अगाडि बढ्ने सम्भावना छ। भाग्यले साथ दिनेछ, तर आलस्य गर्नुभयो भने राम्रो अवसर हातबाट जान सक्छ, त्यसैले सजग र चलायमान रहनु जरुरी छ।
आर्थिक अवस्था बलियो रहने देखिन्छ । रोकिएको पैसा, रिफन्ड वा अचानक धनलाभका योग बन्न सक्छन्, जसका कारण घरका लागि नयाँ सामग्री खरिद गर्ने अवसर मिल्न सक्छ। तर खर्चमा संयम नअपनाए लाभ टिक्न गाह्रो हुन सक्छ।
परिवारिक जीवन सुखद रहनेछ। घरमा सकारात्मक वातावरण रहनेछ र आफन्तको सहयोगले आत्मविश्वास बढ्नेछ। घरसम्बन्धी कुनै निर्णय वा छलफल तपाईंको पक्षमा जान सक्छ। प्रेम जीवन सन्तुलित र सुखद रहने संकेत छ। अविवाहित व्यक्तिका जीवनमा नयाँ सम्बन्ध सुरु हुन सक्छ भने पहिलेबाट चलिरहेका सम्बन्धमा मिठास कायम रहनेछ। वैवाहिक जीवन पनि सामान्य र सन्तोषजनक रहनेछ।
करियर र व्यवसायको कुरा गर्दा यो सप्ताह निकै राम्रो देखिन्छ। जागिरे व्यक्तिहरूले काममा स्थिरता महसुस गर्नेछन् र आफ्नो मेहनतको प्रशंसा पाउने सम्भावना छ। वरिष्ठ अधिकारीहरूको विश्वास बढ्नेछ र केहीलाई नयाँ जिम्मेवारी पनि मिल्न सक्छ। व्यवसायीहरूका लागि नयाँ साझेदारी, सम्झौता र आम्दानी बढ्ने योग छ। हप्ताको दोस्रो भागमा व्यापारमा गति आउनेछ र दैनिक आम्दानीमा सुधार हुनेछ।
विद्यार्थीहरूको लागि समय अलि चुनौतीपूर्ण हुन सक्छ। एकाग्रतामा कमी र मानसिक तनाव महसुस हुन सक्छ, तर धैर्य र निरन्तर प्रयास गरे ढिलो भए पनि राम्रो नतिजा प्राप्त हुनेछ। युवाहरूका लागि करियरमा अगाडि बढ्ने अवसर देखिन्छ, सही मानिससँग सम्पर्क बढ्नेछ र भविष्यका लागि नयाँ बाटो खुल्न सक्छ।
स्वास्थ्य सामान्य रहनेछ, तर दिनचर्या बिग्रिन नदिनु राम्रो हुनेछ। अनावश्यक तनाव, अनियमित खानपान र निद्रामा लापरवाही गरे समस्या बढ्न सक्छ। नियमित व्यायाम, प्राणायाम र सकारात्मक सोचले मानसिक र शारीरिक सन्तुलन कायम रहनेछ।
उपाय- यस सप्ताह ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नाले मानसिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुनेछ।
कर्कट राशि
यो सप्ताह भावनात्मक रूपमा केही उतार–चढावपूर्ण रहनेछ, तर अन्ततः सकारात्मक दिशातर्फ अगाडि बढ्ने संकेत छन्। सुरुवातमा मन अलि कमजोर र अस्थिर महसुस हुन सक्छ, साना कुराले पनि मनमा असर पार्न सक्छ। तर परिवार र नजिकका मानिसको सहयोगले बिस्तारै आत्मबल बढ्नेछ। घरभित्रको वातावरण सामान्य रहनेछ र आपसी समझदारी कायम राख्न सके सम्बन्ध अझ बलियो बन्नेछ। कुनै पुरानो पारिवारिक विषयमा छलफल हुन सक्छ, जसको समाधान संवादबाट सम्भव देखिन्छ।
आर्थिक पक्ष क्रमशः सुधारतर्फ जाने संकेत छन्। खर्च केही बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनु आवश्यक हुनेछ। पुरानो लगानी, रोकिएको पैसा वा विगतका प्रयासबाट लाभ मिल्ने सम्भावना छ। नयाँ लगानी वा ठूलो आर्थिक निर्णय गर्दा हतार नगर्नु नै उचित हुनेछ। धैर्यका साथ अगाडि बढे भविष्यमा फाइदा मिल्नेछ।
करियर र कामकाजको क्षेत्रमा मिश्रित अनुभव हुन सक्छ। जागिरे व्यक्तिहरूले कामको दबाब महसुस गर्न सक्छन्, तर मेहनतको कदर पनि हुनेछ। वरिष्ठको सहयोग मिल्नेछ र आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गरे राम्रो छवि बन्नेछ। व्यवसायीहरूका लागि यो समय स्थिरताको संकेत दिने खालको छ। ठूला जोखिम लिनुभन्दा चलिरहेका कामलाई व्यवस्थित गर्नु लाभदायक हुनेछ।
प्रेम र दाम्पत्य जीवनमा भावनात्मक समझदारी आवश्यक रहनेछ। जीवनसाथी वा प्रिय व्यक्तिको भावनालाई बेवास्ता गरे दूरी बढ्न सक्छ, त्यसैले खुलेर कुरा गर्नु राम्रो हुनेछ। अविवाहितका लागि नयाँ सम्बन्ध सुरु हुने सम्भावना कमजोर देखिए पनि आत्मीय मित्रता बढ्न सक्छ। धैर्य र विश्वासले सम्बन्ध सन्तुलित रहनेछ।
विद्यार्थीहरूका लागि यो सप्ताह ध्यान केन्द्रित गर्नुपर्ने समय हो। मन भड्किन सक्छ, तर निरन्तर अभ्यासले पढाइमा सुधार आउनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक तनाव, निद्राको कमी र चिसो–खानपानमा लापरवाही नगर्नुहोस्। ध्यान, प्राणायाम र नियमित दिनचर्याले लाभ दिनेछ।
उपाय- यस सप्ताह चन्द्रलाई जल अर्पण गर्नु र शान्त मनले पूजा–पाठ गर्नाले मानसिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुनेछ।
सिंह राशि
सिंह राशिका लागि यो सप्ताह सुरुवातमा केही उतार–चढावपूर्ण रहनेछ, तर हप्ताको उत्तरार्धतिर परिस्थितिहरू क्रमशः सुधारिँदै जाने संकेत छन्। सुरुका दिनमा अपेक्षित सफलता नआए पनि निराश हुनु आवश्यक छैन। यो समयले तपाईंलाई रोकिनु होइन, सही दिशामा निरन्तर अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकाउनेछ।
व्यवसायमा हप्ताको सुरुवातमा दबाब रहनेछ। अचानक ठूला खर्चहरू आउन सक्छन्, जसले आर्थिक तनाव बढाउन सक्छ। तर हप्ताको मध्यतिर पुराना गल्ती सुधार्ने अवसर मिल्नेछ र त्यसको सकारात्मक असर अन्तिम दिनहरूमा देखिनेछ। जागिरे व्यक्तिहरूका लागि कामकै कारण आम्दानीका नयाँ बाटा खुल्ने सम्भावना छ। व्यवसायमा ठूलो घाटा नदेखिए पनि खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ।
नौकरीपेशा व्यक्तिहरू हप्ताको पहिलो भागमा निकै व्यस्त रहनेछन्। कामको दौडधुप बढी हुनेछ, तर निरन्तर प्रयास गरे परिस्थितिहरू आफ्नो पक्षमा आउन थाल्नेछन्। कुनै वरिष्ठ वा प्रभावशाली व्यक्तिको सहयोगले अड्किएको काम अघि बढ्न सक्छ। सन्तानको तर्फबाट खुशीको खबर पाउने सम्भावना पनि देखिन्छ।
परीक्षा र प्रतियोगिताको तयारी गरिरहेका युवाहरूका लागि हप्ताको उत्तरार्ध शुभ समाचार लिएर आउन सक्छ। ध्यान र एकाग्रता कायम राख्न सके मेहनतको राम्रो फल प्राप्त हुनेछ।
अचानक खर्च बढ्दा बजेट अलि बिग्रिन सक्छ र आवश्यकता परे उधारो लिनुपर्ने अवस्था पनि आउन सक्छ, त्यसैले फजुल खर्चबाट टाढा रहनु बुद्धिमानी हुनेछ। हप्ताको अन्त्यतिर आर्थिक अवस्था केही हदसम्म सन्तुलित हुँदै जानेछ।
स्वास्थ्यको हिसाबले यो सप्ताह अलि कमजोर देखिन्छ। खानपान र दिनचर्यामा लापरवाही गरे समस्या बढ्न सक्छ, त्यसैले शरीरका संकेतहरूलाई बेवास्ता नगर्नुहोस्। हप्ताको मध्यतिर परिवारका कुनै सदस्यसँग मतभेद हुन सक्छ। प्रत्येक विषयमा आफ्नै कुरा थोपर्ने प्रयास गरे सम्बन्ध बिग्रन सक्छ, त्यसैले संयम र सन्तुलन राख्नु नै सबैभन्दा राम्रो उपाय हुनेछ।
उपाय- प्रत्येक दिन हनुमान चालिसा पाठ गर्नुहोस् र सूर्यलाई जल चढाउनुहाेस् ।
कन्या राशि
यो सप्ताह विशेष र सकारात्मक रहने संकेत छ । यस अवधिमा आत्मविश्वासमा स्पष्ट वृद्धि हुनेछ र लामो समयदेखि रोकिएका कामहरू क्रमशः पूरा हुँदै जानेछन्। आर्थिक दृष्टिले पनि अवस्था सुधारतर्फ जानेछ। लगानी, सवारीसाधन वा कुनै मूल्यवान वस्तु खरिद गर्ने सोच बनिरहेको छ भने यो समय अनुकूल मानिन्छ, तर निर्णय सोचविचार गरेर लिनु राम्रो हुनेछ।
घर–परिवार र विशेषगरी आमाबुवाको स्वास्थ्य तथा आवश्यकतामा ध्यान दिनु आवश्यक रहनेछ। पारिवारिक तथा व्यावसायिक सम्बन्धहरूमा सन्तुलन कायम राख्न सके मनमा शान्ति रहनेछ। घरमा पाहुनाको आगमन हुन सक्छ र उनीहरूसँग महत्वपूर्ण विषयमा छलफल पनि हुने सम्भावना छ। सामाजिक दायित्व निभाउँदा समय बित्नेछ।
करियर र व्यवसायको क्षेत्रमा राम्रो प्रगतिको संकेत देखिन्छ। सरकारी वा राजकीय कामसँग सम्बन्धित व्यवसायमा सफलता मिल्ने योग छ। जागिरे व्यक्तिहरूले आफ्नो काम इमानदारी र गम्भीरताका साथ गरे पदोन्नति वा जिम्मेवारी बढ्ने सम्भावना छ। आलस्य र लापरवाही त्यागेर योजनालाई व्यवहारमा उतार्न ध्यान दिनु आवश्यक हुनेछ।
विद्यार्थीहरू पढाइप्रति सजग रहनेछन् र राम्रो नतिजा प्राप्त गर्ने संकेत छन्। केहीलाई विदेश अध्ययनसम्बन्धी अवसर पनि प्राप्त हुन सक्छ। यद्यपि कुनै प्रोजेक्ट वा योजनामा असफलता आए तनाव नलिई पुनः प्रयास गर्नु बुद्धिमानी हुनेछ। धेरै सोचेर समय खेर फाल्नुभन्दा काम सुरु गर्नु नै लाभदायक हुनेछ। यस समयमा अनावश्यक यात्रा गर्नु उपयुक्त देखिँदैन।
दाम्पत्य जीवन सुखद् रहनेछ । पति–पत्नीबीच समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा एक–अर्काको भावना बुझ्नु आवश्यक रहनेछ, नत्र साना गलतफहमीले मन दुखाउन सक्छ। स्वास्थ्यका हिसाबले मानसिक तनावका कारण थकान र ऊर्जा कमी महसुस हुन सक्छ, त्यसैले योग, ध्यान र मेडिटेशनलाई दैनिक जीवनमा समावेश गर्नु लाभदायक हुनेछ।
उपाय- प्रत्येक दिन गणेश भगवानको पूजा गर्दा दूबो अर्पण गर्नुहोस् र गणेश चालिसाको पाठ गर्नुहोस्।
तुला राशि
तुला राशिका लागि यो सप्ताह व्यस्त तर फलदायी रहनेछ। तर परिणाममुखी रहने संकेत छन्। कामका कारण दौडधुप बढ्नेछ, तर त्यसको सकारात्मक नतिजा देखिँदा उत्साह पनि कायम रहनेछ। युवाहरूले पढाइ र करियरप्रति एकाग्रता राख्न सके सफलता प्राप्त गर्ने सम्भावना छ।
प्रतियोगी परीक्षाको तयारी गरिरहेकाहरूका लागि समय सामान्य रहनेछ, निरन्तर अभ्यास आवश्यक हुनेछ। घरका कुनै सदस्य असन्तुष्ट भए पनि शान्तिपूर्वक संवाद गरे समस्या समाधान हुनेछ।
कहिलेकाहीँ थकान र सुस्तीले घरपरिवारमा ध्यान दिन गाह्रो हुन सक्छ, जसले पारिवारिक असन्तोष निम्त्याउन सक्छ। विद्यार्थीहरूले स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ, नत्र पढाइमा अवरोध आउन सक्छ।
व्यापारीहरूले नयाँ प्रोजेक्टमा उत्साहित रहनुहोस् र अनुभवी व्यक्तिको मार्गदर्शन लिनु लाभदायक हुनेछ। साझेदारी सम्बन्धी निर्णय लाभ दिनेछ। जागिरेहरूले प्रोजेक्ट सुरु गर्नु अघि स्पष्ट योजना बनाएर काम गर्नु आवश्यक छ।
पति–पत्नीबीच साना विवाद परिवारमा असर पर्न सक्छ, त्यसैले परिवारसँग समय बिताउनु, मनोरञ्जन गर्नु र आपसी समझदारी कायम राख्नु आवश्यक छ। स्वास्थ्यमा सुधार हुनेछ, र नियमित औषधि तथा प्राकृतिक उपचारमा भरोसा राख्दा लाभ हुनेछ।
सम्बन्धमा चलिरहेको तनाव मध्यस्थता वा संवादबाट समाधान हुनेछ। पारिवारिक वातावरण सुधारका लागि योजना बनाउने र सफल हुने अवसर छ। व्यक्तिगत विकास र सम्बन्ध सुधारका लागि यो समय अनुकूल छ। आर्थिक मामलामा पूर्ण सतर्कता आवश्यक छ, र अनावश्यक आवाजाही स्थगित राख्नु बुद्धिमानी हुनेछ।
व्यवसायमा लाभदायक परिस्थितिहरू बन्नेछन्। नयाँ काम सुरु गर्नु अघि परिवारजनसँग परामर्श गर्नु राम्रो हुनेछ। पार्टनरशिप व्यवसायमा तालमेल र कार्यशैली राम्रो रहनु आवश्यक छ।
उपाय- प्रत्येक दिन गणेश भगवानको पूजा गर्नुहोस् र श्री गणपति अथर्वशीर्षको पाठ गर्नुहोस्।
वृश्चिक राशि
वृश्चिक राशिका लागि यो सप्ताह सावधानी र संयम आवश्यक रहनेछ। वैवाहिक जीवनमा साना बिबादले घरको वातावरण प्रभावित हुन सक्छ। कार्यालय वा कामकाजमा विवादबाट बच्नु आवश्यक छ। जागिरेहरूले सतर्क रहँदा आफ्नो फाइदा सुरक्षित राख्न सक्नेछन्। व्यवसायमा लाभको संकेत छ, तर सतर्कता आवश्यक छ।
सम्बन्धमा चलिरहेको तनाव मध्यस्थता वा समझदारीबाट समाधान हुनेछ। पारिवारिक वातावरण सुधार्न योजना बनाएर त्यसमा सफल हुनु सम्भावित छ। व्यक्तिगत विकास र सम्बन्ध सुधारको लागि यो समय अनुकूल छ। स्वभावमा लचीलोपन राख्न आवश्यक छ। छिमेकी वा समाजसँगको सम्बन्धमा सानातिना मतभेद आउन सक्छ। आर्थिक मामलामा पूर्ण सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ। अनावश्यक यात्रा स्थगित राख्नु राम्रो हुनेछ।
व्यवसायमा लाभदायक अवसरहरू बनिरहेका छन्। नयाँ काम सुरु गर्नु अघि परिवारजनसँग परामर्श गर्नु लाभदायक हुनेछ। पार्टनरशिप व्यवसायमा तालमेल र कार्यशैली सुधार्दा फाइदा हुनेछ। कार्यालयमा व्यवस्थापन सही राख्न ध्यान दिनुहोस्। पति–पत्नीको सम्बन्ध सुखद रहनेछ, प्रेम सम्बन्धमा पारिवारिक स्वीकृति प्राप्त हुँदा खुशी बढ्नेछ।
परिवार र मित्रसँग समय बिताउने मौका मिल्नेछ। माता–पिताको सम्मान गर्नुहोस्। साथीहरूले उत्सव वा कार्यक्रममा आमन्त्रण गर्न सक्छन्। सप्ताहको मध्य भाग अपेक्षाकृत फलदायी हुनेछ। सोशल मिडियामा सक्रियता रहन सक्छ। प्रेमीजनले मनोबल बढाउन सहयोग गर्नेछन्। सूझबूझ र समझदारीले काममा सफलता दिलाउनेछ। सम्बन्धी वा परिचितको माध्यमबाट लाभ मिल्ने सम्भावना छ। होटल र पर्यटनसम्बन्धी व्यवसायमा यस सप्ताह विशेष लाभदायक रहनेछ।
विद्यार्थीहरूले सर्तक रहनु पर्छ। आफ्नै वस्तुहरू हराउने सम्भावना छ। बिहान सूर्य नमस्कार र प्राणायाम गर्नाले ऊर्जा बढ्नेछ। अनजान व्यक्तिमा तुरुन्त विश्वास नगर्नुहोस् र अनावश्यक प्रतिक्रिया दिनुबाट बच्नोस्। हँसी–मजाकमा अपमान हुन सक्ने भएकाले अलि गम्भीर रहनु बुद्धिमानी हुनेछ।
उपाय- ‘ॐ नमो नारायणाय’ मन्त्रको एक माला दैनिक जप गर्नु लाभदायक हुनेछ।
धनु राशि
धनु राशिका लागि यो सप्ताह सकारात्मक र फलदायी रहनेछ। आफ्ना प्रयास र बुद्धिमत्ताबाट रुकेका कामहरूमा गति ल्याउन सक्नेछन्। विदेश यात्रा वा नयाँ अवसरका योग देखिन्छन्। कार्यक्षेत्रमा भावुक भएर निर्णय लिनुको सट्टा विवेक र चतुराइले काम गर्नु लाभदायक हुनेछ। व्यक्तिगत कामका साथै अन्य जिम्मेवारीमा ध्यान दिनाले कार्यक्षमता वृद्धि हुनेछ।
युवाहरूले फुर्सदिलो समयमा बेकारको मौजमस्ती र अनावश्यक खपिनबाट बच्नु पर्छ। वाद–विवाद वा कहासुनीबाट टाढा रहँदा मान–सम्मानमा असर पर्ने छैन। सट्टेबाजी वा उच्च जोखिमका गतिविधिहरूबाट पूर्ण रुपमा बच्न आवश्यक छ।
व्यवसायमा कार्यप्रणालीमा सुधार आवश्यक छ। व्यापारमा गति ल्याउन अनुभवी व्यक्तिसँग परामर्श गर्नु लाभदायक हुनेछ। नयाँ जानकारी र अवसर प्राप्त हुनेछन्। कार्यालयको काम अत्यधिक हुँदा घरमा पनि काम गर्नु पर्न सक्छ। कुनै समारोह वा सामाजिक मेल–मिलापबाट मन प्रसन्न हुनेछ। प्रेम सम्बन्धमा भेटघाट र सम्बन्ध सुधारको समय छ। अत्यधिक व्यस्तताले नसामा तनाव वा दुखाइ उत्पन्न गर्न सक्छ, त्यसैले विश्राम र तनाव कम गर्ने उपाय अपनाउनुहोस्।
सप्ताहको सुरूवातमा व्यापारिक यात्रा शुभ रहनेछ। काम समयमै पूरा हुँदा आत्मविश्वासमा वृद्धि हुनेछ। अधीनस्थ कर्मचारी वा सहकर्मीको सहयोग लाभदायक हुनेछ। विद्यार्थीहरूले शिक्षा र परीक्षा क्षेत्रमा राम्रो सफलता प्राप्त गर्नेछन्। व्यापारिक दृष्टिले सप्ताह अत्यन्त शुभ छ। नयाँ प्रेम सम्बन्ध विकास हुने र सोसल मिडियामा नयाँ मित्रता बढ्ने सम्भावना छ। नयाँ परियोजनाका लागि फण्ड व्यवस्थापनमा सफलता प्राप्त हुनेछ। रुकेका निर्माण वा योजनामा अचानक गति आउनेछ। सोमवार र बुधवार विशेष शुभ रहन सक्छन्।
राजनीति वा सार्वजनिक क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि विरोधी वा प्रतिद्वन्द्वीबाट चुनौती आउन सक्छ। परिवारका सदस्य केही मामिलामा असन्तुष्ट हुन सक्छन्। सोसल मिडियामा अफवाहमा ध्यान नदिनु राम्रो हुनेछ। गुप्त शत्रुबाट नोक्सान हुन सक्छ, त्यसैले सतर्क रहनु आवश्यक छ। वैवाहिक जीवनमा विशेष ध्यान दिनुपर्छ। प्रेम सम्बन्धमा समय बढी खर्च हुन सक्छ। परिवारसँग समय बिताउने व्यवस्था गर्नु लाभदायक हुनेछ। मधुमेहका रोगीले नियमित सुगर जाँच गर्नु पर्छ।
उपाय-भगवान विष्णुको पूजा गरी श्री विष्णु सहस्त्रनामको पाठ गर्नुहोस्।
मकर राशि
यो साता सामाजिक प्रतिष्ठा र व्यक्तिगत सफलताको लागि अनुकूल रहने छ। आफ्नो कूटनीति र समझदारीद्वारा कार्यक्षेत्रमा प्रभावशाली प्रदर्शन गर्नेछन्।
नाेकरीपेशा व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारी दिइनसक्छ । युवाहरूलाई करियरमा उत्कृष्ट सफलता प्राप्त हुने योग देखिन्छ। सन्तानको सुख तथा घर परिवारमा आनन्द रहन सक्छ। शेयर मार्केट वा निवेश सम्बन्धी कार्यमा लाभ प्राप्ति सम्भावना छ। कानूनी मामिलामा विजय प्राप्त हुने संकेत देखिन्छ।
सप्ताहको सुरूवातमा स्वास्थ्यमा स–साना समस्या देखा पर्न सक्छ। लापरबाही वा अत्यधिक कामले थकान बढाउन सक्छ, त्यसैले कामलाई सन्तुलित तरिकाले गर्नु लाभदायक हुनेछ । पारिवारिक विवादबाट टाढा रहनुहोस् र व्यवहार सहज र सामान्य राख्नु राम्रो हुनेछ ।
आर्थिक पक्ष बलियो रहनेछ। व्यक्तिगत जिम्मेवारी व्यवस्थित र गंभीरतापूर्वक पुरा गर्दा लक्ष्य शीघ्र प्राप्त हुनेछ। घरको वरिष्ठ सदस्यको मान–सम्मानको ध्यान दिनु लाभदायक छ। आलोचना वा नकारात्मक टिप्पणीले मन आहत भए पनि व्यस्त रहनु बुद्धिमानी हुनेछ । मानसिक शान्तिका लागि एकान्त अथवा आध्यात्मिक स्थलमा समय बिताउनु लाभदायक छ।
व्यवसाय वा व्यापारमा नयाँ अवसर प्राप्त हुनेछन्। नयाँ गतिविधि र परियोजनामा ध्यान दिनु लाभदायक छ। पैसासँग सम्बन्धित लेनदेन गर्दा सतर्क रहनु जरुरी छ। महिलासँग सम्बन्धित व्यवसायमा लाभको स्थिति छ। कार्यालयीन गतिविधि व्यवस्थित रहनेछ। जीवन साथीको साथ समय बिताउँदा सम्बन्ध मधुर हुनेछ। अविवाहित व्यक्तिहरूलाई नयाँ सम्बन्ध वा प्रेम अवसर मिल्नेछ।
संतुलित आहार र व्यवस्थित दिनचर्याले स्वास्थ्यमा सुधार ल्याउनेछ। केही समयदेखि चलिरहेको शारीरिक समस्या कम हुनेछ र तपाईं ऊर्जावान तथा तन्दुरुस्त महसुस गर्नु हुनेछ।
उपाय- प्रत्येक दिन सूर्योदयको समयमा ‘ॐ नमः शिवाय’ वा ‘ॐ नमो नारायणाय’ मन्त्रको जप गर्नु लाभदायक हुनेछ।
कुम्भ राशि
यस हप्ता कुम्भ राशि हुनेहरुको लागि मिश्रित परिणाम रहन सक्छ । पारिवारिक जीवनमा कहिले काहीँ असमझदारी वा झगडा हुन सक्छ। बच्चाहरूको खुशीका लागि उनीहरूलाई घुमाउन लैजाने र उनीहरूको मनपर्ने किनमेल गर्ने अवसर रहन सक्छ। यस सप्ताह तपाईंले सतर्क रहनु आवश्यक छ, विशेषगरी पैसासँग सम्बन्धित निर्णयमा। जोखिमपूर्ण आर्थिक कदम चाल्नुको सट्टा समय अनुसार योजनाबद्ध ढंगले अघि बढ्नु लाभदायक हुनेछ।
व्यक्तिगत जीवनमा परिस्थितिहरू सधैं अनुकूल नहुन सक्छन्, तर तपाईंको आत्मविश्वास र हौसला बलियो रहनेछ। आफ्नो कार्यप्रति पूर्ण समर्पण देखाउनुहोस्। परिवारमा धार्मिक अनुष्ठान वा मांगलिक कार्यक्रमको आयोजना हुने योग छ। अत्यधिक भावुकता वा आदर्शवादमा नअड्किनुहोस्, समयअनुसार स्वभावमा लचिलोपन ल्याउनु बुद्धिमानी हुनेछ। पैसासँग सम्बन्धित लेनदेनमा सतर्क रहनुहोस्, किनभने धोखाधडी वा ठगीको सम्भावना रहन सक्छ।
व्यवसायमा केही काम मनअनुसार पूरा नहुन सक्छ, तर मेहनत अनुसार उचित नतिजा प्राप्त हुने सम्भावना छ । नयाँ अर्डर वा अवसर मिल्न सक्छ । इम्पोर्ट-एक्सपोर्ट वा व्यापारमा अनावश्यक जोखिमबाट बच्नु लाभदायक हुनेछ। बाहिरी व्यक्तिहरूलाई परिवार वा घरमा दखलअन्दाजी गर्न नदिने कुरा ध्यान दिनुहोस्, किनभने यसले घरको शान्ति प्रभावित गर्न सक्छ।
मानसिक स्थिरता र आत्मबल कायम राख्न मेडिटेशन गर्न अत्यन्त लाभदायक हुनेछ। स्वास्थ्यमा सुधार ल्याउन नियमित ध्यान र व्यायाम गर्नुहोस्। कार्यक्षेत्रमा तपाईंको प्रभुत्व बलियो रहनेछ। विदेश यात्रा वा पेशागत अवसरहरू आउने योग देखिन्छ। जॉब वा व्यवसायमा उच्च अधिकारी वा वरिष्ठको सहयोग र विश्वास प्राप्त हुनेछ। समाजमा तपाईंको विशिष्ट पहिचान बढ्नेछ।
घरको व्यवस्थापन, मर्मत तथा सुधारमा खर्च गर्नुपर्ने परिस्थिति देखिन्छ। सम्बन्धहरूमा समय दिनुहोस् र दाम्पत्य सम्बन्धमा अहंकार वा विवाद नहोस्। आफ्ना विचार प्रस्तुत गर्दा संयम राख्नुहोस्। बच्चाहरूको पालनपोषणमा विशेष ध्यान दिनुहोस्, उनीहरूलाई सही र गलतको ज्ञान गराउनु आवश्यक छ। वाहन चलाउँदा सावधानी अपनाउनुहोस्। भूमि वा वाहन सम्बन्धी ऋण योजना गर्दा बाहिरी व्यक्तिको हस्तक्षेपले समस्या उत्पन्न हुन सक्नेछ।
सोमबार र मंगलवार तुलनात्मक रूपमा कमजोर दिन हुनसक्छ, तर बुद्धिमानीपूर्वक निर्णय लिँदा चुनौती पार गर्न सकिन्छ।
उपाय- प्रत्येक दिन भगवान शिवको साधना गर्नुहोस् र रुद्राष्टकंको पाठ गर्नु लाभदायक हुनेछ।
मीन राशि
यस हप्ता मीन राशि हुनेहरूका लागि मिश्रित परिणाम रहने छ । सरल, स्पष्ट र सोझो स्वभावका कारण कहिलेकाहीँ परिस्थितिहरू चुनौतीपूर्ण हुन सक्छन्। यो साता नौकरीपेशा गर्नेहरूको कामकाजमा बाधा आउन सक्छ । आर्थिक दृष्टिले नोक्सानको संभावना रहन्छ, जसले जीवन र रोजगारीमा असर पार्न सक्छ। विद्यार्थी र युवाहरूका लागि यो सप्ताह केही कलात्मक र सिर्जनशील प्रयासको समय हुनेछ, जसले सफलता हासिल गर्न सहयोग गर्नेछ। अफिस वा कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्नु लाभदायक हुनेछ।
घरमा विशेष पाहुनाहरूको आगमनले वातावरण रमाइलाे रहनेछ। पारिवारिक तथा व्यवसायिक गतिविधिहरूमा सन्तुलन बनाए राख्दा उचित व्यवस्था कायम रहनेछ। विद्यार्थी र युवाहरूले मेहनत अनुसार परिणाम प्राप्त गर्नेछन् । सप्ताहको दौरान स–साना कुरा वा असमझदारीका कारण उदासी, चिड़चिड़ापन वा रिस देखिन सक्छ, त्यसैले आत्म–मूल्याङ्कन गर्नु आवश्यक छ। खर्चमा वृद्धि हुने सम्भावना छ, जसले परिवारमा केही मनमुटाव पैदा हुन सक्छ।
सप्ताहको सुरूवात व्यस्त रहनेछ । कर्मचारी वा सहकर्मीहरूसँग आपसी सम्बन्ध सुधार हुनेछ। नयाँ योजनाहरू कार्यान्वयन गर्ने समय अनुकूल छैन। घरमा मनोरञ्जन वा परिवारसँग समय बिताउने अवसर रहनेछ। प्रेम सम्बन्धमा सावधानी आवश्यक छ, र पुराना मुद्दा वा स्वास्थ्य सम्बन्धी समस्याहरू पुनः उठ्न सक्छन्। नियमित औषधि सेवन र प्राकृतिक उपचारमा भरोसा राख्नु लाभदायक हुनेछ।
सप्ताहको अधिकांश भाग अनुकूल रहनेछ। पुराना बाँकी कार्यहरू शीघ्रता साथ पूरा गर्नु लाभदायक हुनेछ। अध्यात्मिक र दार्शनिक विचारहरूको प्रभावले निर्णयमा सकारात्मकता ल्याउनेछ। पेशागत क्षमताहरूको विकासको लागि यो उत्तम समय हो। बच्चाहरूको साथमा बढी समय बिताउनु लाभदायक हुनेछ। उच्च नैतिक मूल्यका कारण समाजमा सम्मान बढ्नेछ। प्रेमी जोडीका लागि सप्ताह रोमान्टिक रहनेछ। व्यवसायिक मामिलामा ठूला सम्झौता वा लाभका अवसरहरू मिल्न सक्छन्।
जीवनसाथीको स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। कहिलेकाहीँ मनाेमानी व्यवहारले पारिवारिक तनाव उत्पन्न गर्न सक्छ । कुनै विषयमा असहमति भएमा शान्ति र संयमका साथ आफ्नो विचार व्यक्त गर्नुहोस्। मामा पक्ष वा अन्य सम्बन्धित व्यक्तिहरूका कारण केही असुविधा हुन सक्छ। गोप्य कुरा साझा नगर्नुहोस् र अरूको कुरा सुनेर छिटो निर्णय नगर्नुहोस्। अनियमित बानीहरूले स्वास्थ्यमा असर पार्न सक्छ।
उपाय- प्रत्येक दिन पूजा गर्दा श्री राम रक्षा स्तोत्रको पाठ गर्नु लाभदायक हुनेछ।































प्रतिक्रिया