काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म (आजीवन) जन्मकैद सजाय हुने ठहर गरेको हो ।
अदालतले रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरञ्जीवी शाही, रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो ।यस्तै, अन्य पाँच जना हेमन्त शाही, मदन शाही, दिपेन्द्र शाही, निशान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकेन्द्र कुँवर र समिरजंग शाहीलाई अभियोग दाबीबमोजिम जन्मकैदको फैसला सुनाइएको छ ।
अशोक रावल, महेश रावल, जयेन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास शेरचन थकाली र कपिल श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ । एक जना फरार प्रतिवादी लोकेन्द्रजंग शाहीको मुद्दा मुल्तबीमा राखिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका– १ का २३ वर्षीय बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका– १ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
लम्कीचुहा नगरपालिका– ३, चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भनिने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा– १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, लम्कीचुहा नगरपालिका– ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका– १ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका– ७ घर भएर टीकापुर बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका– ३ बस्ने २६ वर्षीय सन्तोष भनिने सविनजंग शाहीविरुद्व मुद्दा दायर भएको थियो ।































प्रतिक्रिया