सिरहा। औरही गाउँपालिका–३ पिपराकी कपलेश्वरी यादवले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। नागरिकता प्राप्तिका लागि उनले आठ वर्षदेखि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा प्रक्रिया अघि बढाएकी थिइन्।
जिल्ला प्रशासन कार्यालय सिरहाले बुधबार यादवलाई नागरिकता प्रदान गरेको हो। नागरिकता नहुँदा उनले आफ्नो नाममा रहेको जग्गाको बिक्री, नामसारी तथा सामाजिक सुरक्षा भत्ता लिन सकिरहेकी थिइनन्।
यादवका श्रीमानको २०३१ सालमा निधन भएको थियो। अंश मुद्दा जितेर साढे ११ धुर जग्गा पाए पनि नागरिकता अभावकै कारण कानुनी उपयोग गर्न नसकेको परिवारले जनाएको छ। वडाबाट सिफारिस नपाउँदा प्रक्रिया लामो समय अल्झिएको थियो।
सञ्चारमाध्यममा विषय सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षको पहलमा प्रक्रिया अघि बढेको प्रशासनले जनाएको छ। नागरिकता प्राप्त भएसँगै अब उनले सामाजिक सुरक्षा भत्ता र सम्पत्तिसम्बन्धी कानुनी सेवा लिन सक्ने भएकी छन्।































प्रतिक्रिया