गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ अन्तर्गत झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो। जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ।
बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्याग्दीका ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेका बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियानअन्तर्गत यसअघि ११५ थान बन्दुक फेला पारिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए। सोमबार पनि सोही अभियानअन्तर्गत खोजी गर्दा बेवारिसे अवस्थामा बन्दुक बरामद भएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाभरका युनिट परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अभियान सञ्चालन गरेको थियो। निर्वाचनका बेला स्थानीयले लुकाइराखेका हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको थापाले बताए ।





























प्रतिक्रिया