काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा मंगलबार राति करिब ११ बजे बस्तीका टहरामा आगलागी भएको छ ।
सुरक्षाकर्मी र दमकलको प्रयासमा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको छ । घटनामा त्यहाँ रहेका सात जनालाई सकुशल उद्धार गरिएको छ ।
मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगोले २४ कोठा बराबरका टहरा जलेर नष्ट भएका छन्। विस्थापित परिवारलाई नजिकका टहरामा राखेर खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउने तयारी भइरहेको छ ।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएका जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्दै आएका थिए । टहरामा बस्दै आएका २४ परिवार विस्थापित भएका वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
प्रारम्भिक अनुमान अनुसार आगलागी विद्युत सट हुँदा लागेको हो, तर क्षतिको पूर्ण विवरण आज प्रहरी र स्थानीय प्रशासनको मुचुल्का उठाइसकेपछि मात्रै सुनिश्चित हुनेछ ।































प्रतिक्रिया