कालिकोट
कालिकोटको कालिका गाउँपालिका ६ निवासी पवित्रा खत्री छाउपीडित बुहारी हुन् । उनका सासूससुराले बुहारी कहिले महिनावारी हुन्छे भन्ने सम्मको हेक्का राख्छन् । महिनावारी भएको समयमा पवित्रालाई घर भित्र पस्न प्रतिबन्ध जस्तै छ । दैलेख कुसापानी माइती भएकी पवित्रा महिनावारी हुँदा घर पर बनाइएको छुट्टै कोठामा बस्न बाध्य छिन् । महिनावारी हुँदा घरमा बस्दा अशुभ हुने, देवताले नहेर्ने तथा घरमा केही न केही क्षति हुने मान्यता उनका सासू ससुराको छ ।
‘पराइ घरका हामीलाई सासूससुराको भावनात्मक माया कम हुने भएर होला, हामीलाई छाउ बढी नै बार्न बाध्य पारिन्छ,’ पवित्राले पीडा सुनाइन्, ‘आफ्ना छोरीहरू महिनावारी हुँदा सासूससुराको बेग्लै हाउभाउ देखिन्छ, उनीहरू प्रति गरिने व्यवहार पनि फरक हुन्छ ।’ अविवाहित छोरी पवित्र हुने मान्यताले होला बुहारीको भन्दा कम छुई हुने विश्वास सासूससुरामा रहेको उनले बताइन् ।
खाँडाचक्र नगरपालिका १ निवासी एकल महिला तस्बीरा शाहीको पीडा पनि उस्तै छ । उनको परिवारले पनि महिनावारी भएका बेला खलामा समेत आउन दिँदैनन् । बजारमा होटल व्यवसाय गर्ने उनी घरमा पूजा लगाउँदा छुई छु भनेपछि गरिने व्यवहार अलग्गै हुने उनको अनुभव छ । विवाह अघि आमाहरूले महिनावारी हुँदा धेरै कडाइ नगरेको उनले बताइन् ।
‘छोरीको मायाले होला महिनावारी भएको समयमा पनि उहाँहरूले खानेकुरा ल्याएर हातमै दिनु हुन्थ्यो’, उनले सुनाइन्, ‘तर अहिले सासूआमाले हातमा दिनु हुन्न थालीमा ल्याएको खाना भुइँमा राख्नु हुन्छ ।’ कालिकोटको खाँडाचक्र नगरपालिका ३ की ७० वर्षीया लक्ष्मी शाही सासू बुहारीको सम्बन्धका कारण परम्परा देखि नै छाउलाई कडाइ गर्ने गरिएको हुन सक्ने तर्क गर्छिन् । महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी शाहीले आफू बुहारी हुँदा छाउमा निकै कष्ट सहनु परेको सुनाइन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया