दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ का करिब २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथ रहेका छन्। साउद ट्याक्टर चालक र नाथ उनका सहयोगी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउदकै योजनामा जोशीको हत्या गरी गरगहना लुटिएको खुलेको छ। पक्राउ परेका दुवै जनाको साथबाट करिब दुई तोला बराबरका गरगहना बरामद गरिएको छ।
साउद यसअघि चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए। उनीहरू लागुऔषध दुव्र्यसनीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनाले बयानका क्रममा घटनामा संलग्नता स्वीकार गरेको र थप अनुसन्धान जारी रहेको जनाएको छ।





























प्रतिक्रिया