मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन गाउँका बासिन्दा आफ्नो दैनिक चुनौतीको समाधान खोज्न व्यस्त छन्। यहाँ बर्सेनि डुबान, आधारभूत पूर्वाधारको अभाव, माध्यमिक तहको विद्यालय नहुँदा पढाइ छाड्ने बाध्यता र सीमित रोजगारी मुख्य समस्या बनेका छन् ।
नारायणी नदी र विनयी खोलाको बीचमा रहेको बस्ती वर्षा लाग्नेबित्तिकै जोखिममा पर्छ। राति पानी परेपछि बाढी आउने डरले धेरै परिवार निद्रा त्यागेर जाग्राम बस्ने बाध्यता छ । बाढी कहिले आउँछ भन्ने ठेगान नहुँदा सतर्क बस्नुपर्ने अवस्था रहेको छ ।
गाउँमा माध्यमिक तहसम्मको विद्यालय नहुँदा कक्षा ८ पछि पढाइ जारी राख्न विद्यार्थीलाई सात–आठ किलोमिटर टाढा जानुपर्छ । दुर्गम बाटो, वन क्षेत्र र यातायात अभावका कारण धेरै किशोरकिशोरी पढाइ बीचमै छाड्न बाध्य छन् । खोला र जङ्गल पार गरेर जानुपर्ने भएकाले वर्षाका बेला बाढी र वन्यजन्तुको जोखिम पनि रहन्छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँमा वन्यजन्तुसँगको द्वन्द्व निरन्तर समस्या बनेको छ । साँझपख खेतबारी जानु वा राति आवतजावत गर्नु जोखिमपूर्ण रहन्छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थायी उपाय सरकारले पुर्याउन नसकेको स्थानीय भुवन सिंहले जनाएका छन् ।
गाउँमा कृषिबाहेक अन्य आयआर्जनका अवसर न्यून छन् । सीपमूलक तालिम, साना उद्यम वा स्वरोजगार कार्यक्रमको पहुँच नहुँदा धेरै युवायुवती वैदेशिक रोजगारी वा सहर पलायनको विकल्प रोज्छन् । गाउँमै रहेर काम गर्न वातावरण नहुँदा युवाहरू विदेश जान बाध्य छन् ।
मगर, दलित र केही कुमाल समुदायको बसोबास रहेको बगुवनमा सरसफाइ र जनचेतना स्तर पनि न्यून छ । स्वास्थ्य, शिक्षा र पोषणजस्ता कार्यक्रमको आवश्यकता रहेको स्थानीय वडासदस्य मोतिसरा लोहनीले बताइन् । सडक भए पनि बीचमा खोला र जङ्गल पर्ने भएकाले पूर्ण रूपमा निर्माण हुन सकेको छैन ।
गण्डकी प्रदेशको गौरव आयोजना अन्तर्गत रहेको कोरला–त्रिवेणी सडक क्षेत्रभित्र रहेको बगुवन, त्रिवेणीमार्ग नखुल्दा विकट बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले विकास निर्माण र पूर्वाधारमा अवरोध धेरै छन् । बगुवन–दुम्कीवास सडक, नदी नियन्त्रण, सुरक्षित आवास, माध्यमिक विद्यालय स्थापना र आयआर्जन कार्यक्रम समग्र विकास प्याकेजका रूपमा अघि बढाउन आवश्यक छ ।
बगुवनका बासिन्दाको मुख्य चासो बाढीबाट सुरक्षित बस्ती, गाउँमै पढ्न पाउने विद्यालय र युवालाई गाउँमै टिकाउने रोजगारीका अवसर सिर्जना हुनु रहेको छ । यहाँका जनता आशा गर्छन् कि नेतृत्वले अधुरो बाचा नभई परिणाम दिने कामको थालनी गरोस् ।





























प्रतिक्रिया