२०८२ चैत्र १ देखि ७ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ। हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यस हप्ता रोजगारीको क्षेत्रमा राम्रो अवसर आउन सक्छ । तपाईंको कामको प्रशंसा हुन सक्छ र कुनै सम्मान वा पुरस्कार पनि पाउन सक्नुहुन्छ। नयाँ जागिर खोज्दै हुनुहुन्छ भने राम्रो खबर आउन सक्छ। व्यापार गर्नेहरूका लागि पनि आम्दानी बढ्ने र प्रतिष्ठा बढ्ने योग देखिन्छ।
हप्ताको सुरुमा भने केही समस्या आउन सक्छ। मौसम परिवर्तनका कारण स्वास्थ्य अलि कमजोर हुन सक्छ वा सानो चोटपटक लाग्न सक्छ। पुरानो रोग छ भने ध्यान दिनु राम्रो हुन्छ। कामका कारण यात्रा पनि गर्नुपर्ने सम्भावना छ तर त्यसबाट खास फाइदा नहुन सक्छ।
नोकरी गर्नेहरूका लागि कामको दबाब बढ्न सक्छ। घरपरिवारतर्फ खर्च बढ्नाले चिन्ता हुन सक्छ। हप्ताको बीचतिर घरका कुनै बृद्ध व्यक्तिको स्वास्थ्यको चिन्ता हुन सक्छ। घर मर्मत वा अन्य आवश्यक काममा अचानक खर्च पनि हुन सक्छ।
हप्ताको अन्त्यतिर भने अवस्था सुधार हुँदै जानेछ। धार्मिक वा शुभ कार्यक्रममा सहभागी हुने मौका मिल्न सक्छ। कुनै साथी वा चिनजानको सहयोगले काम वा रोजगारीको समस्या समाधान हुन सक्छ। सन्तानबाट राम्रो खबर पनि आउन सक्छ।
प्रेम सम्बन्धका लागि यो हप्ता राम्रो रहनेछ। प्रेमी-प्रेमिकाबीच समझदारी बढ्नेछ। वैवाहिक जीवन पनि सुखद रहनेछ।
अरूसँग बोल्दा नरम शब्द प्रयोग गर्नुहोस्। अनावश्यक झगडा वा विवादबाट टाढा रहनु राम्रो हुन्छ। अपरिचित मानिसमाथि तुरुन्त विश्वास नगर्नुहोस्।
उपाय- यस हप्ता शिवको पूजा गर्नु र शिव रुद्राष्टक पाठ गर्नु शुभ हुनेछ ।
वृष राशि
यस हप्ता वृष राशिका लागि सामान्यतया शुभ र भाग्यशाली रहने देखिन्छ। हप्ताको सुरुदेखि नै राम्रो परिणाम देखिन थाल्नेछ। काम, रोजगारी र व्यवसायमा प्रगतिको संकेत मिल्ने भएकाले मन खुसी रहनेछ।
यस हप्ता आफ्नो दैनिक दिनचर्या मिलाएर राख्नु सबैभन्दा महत्वपूर्ण हुनेछ। कुनै कामका कारण यात्रा गर्नुपर्ने सम्भावना छ। व्यापार गर्नेहरूका लागि अचानक धन लाभ हुने योग देखिन्छ। विदेशसँग सम्बन्धित व्यापार गर्नेहरूका लागि समय अझ राम्रो रहनेछ। कुनै ठूलो सम्झौता वा राम्रो अवसर हात पर्न सक्छ।
नोकरी खोजिरहेका व्यक्तिहरूलाई रोजगारको अवसर मिल्न सक्छ। नोकरी गर्नेहरूलाई मन परेको स्थानमा सरुवा वा पदोन्नति हुने सम्भावना पनि देखिन्छ। तपाईंले गरेको कामको प्रशंसा माथिल्ला अधिकारीबाट प्राप्त हुन सक्छ। सरकारी क्षेत्रबाट पनि सहयोग मिल्ने संकेत छन्।
पारिवारिक जीवन राम्रो रहनेछ । आफन्त र प्रिय व्यक्तिसँग भेटघाट हुने मौका मिल्न सक्छ। घरपरिवारमा खुसीको वातावरण रहनेछ। प्रेम सम्बन्ध पनि राम्रो रहनेछ। प्रेम प्रस्ताव राख्न चाहनुहुन्छ भने समय अनुकूल छ। वैवाहिक जीवनमा पनि समझदारी र सुख रहनेछ । स्वास्थ्य सामान्य रहने देखिन्छ।
सन्तानको भविष्यलाई लिएर केही चिन्ता हुन सक्छ। अरूको कुरा वा निन्दाबाट टाढा रहनु राम्रो हुन्छ। तपाईंप्रति मानिसहरूको धेरै अपेक्षा हुन सक्छ, त्यसैले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउनु आवश्यक छ। आमाबाबुको स्वास्थ्यको चिन्ता हुन सक्छ। कसैले तपाईंमाथि शंका गर्न सक्छ, त्यसैले अनावश्यक प्रतिक्रिया नदिनु राम्रो हुन्छ।
विद्यार्थीहरूलाई पढाइमा केही बाधा महसुस हुन सक्छ। शत्रु वा विरोधीको कुरा सुनेर निर्णय नलिनु राम्रो हुन्छ ।
उपाय- यस हप्ता श्रीसूक्त पाठ गर्नु शुभ हुन्छ । साथै मंगलबार र शनिबार सुन्दरकाण्ड पाठ गर्नु लाभदायक मानिन्छ।
मिथुन राशि
यस हप्ता मिथुन राशिका लागि मिश्रित परिणाम दिने देखिन्छ । कहिले परिस्थिति राम्रो त कहिले चुनौतीपूर्ण हुनसक्छ । काम र व्यवसायमा केही उतार–चढाव हुन सक्छ, त्यसैले धैर्य र समझदारीका साथ अगाडि बढ्नु राम्रो हुनेछ ।
हप्ताको सुरुमा घरपरिवारसँग सम्बन्धित केही समस्या समाधान गर्न धेरै दौडधुप गर्नुपर्ने हुनसक्छ । आमाबाबुबाट अपेक्षित सहयोग नपाउँदा मन अलि खिन्न हुन सक्छ। तर धैर्य राखेर प्रयास गरेमा परिस्थिति बिस्तारै सुधार हुने सम्भावना छ।
हप्ताको बीचतिर कामका कारण छोटो वा लामो यात्रा गर्नुपर्ने योग देखिन्छ। कुनै प्रभावशाली व्यक्तिको सहयोगले जग्गा वा घरसम्बन्धी विवाद समाधान हुन सक्छ। व्यापार गर्नेहरूलाई मनपर्ने लाभ मिल्ने सम्भावना छ।
काम गर्ने ठाउँमा केही विरोधी सक्रिय हुन सक्छन्, तर तपाईंले आफ्नो बुद्धि र समझदारीले उनीहरूको योजना असफल बनाउन सक्नुहुन्छ । यदि अदालत वा कानुनी मुद्दा चलिरहेको छ भने सम्झौताको प्रस्ताव पनि आउन सक्छ।
हप्ताको अन्त्यतिर कामकाजी महिलाहरूका लागि समय अलि चुनौतीपूर्ण हुन सक्छ। घर र कामबीच सन्तुलन मिलाउन कठिनाइ हुन सक्छ। सन्तानसँग सम्बन्धित कुनै विषयले पनि चिन्ता बढाउन सक्छ।
हप्ताको अन्तिमतिर स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। मौसम परिवर्तनका कारण सानो रोग वा चोटपटक लाग्न सक्छ, त्यसैले सावधानी अपनाउनु राम्रो हुन्छ ।सम्बन्धका हिसाबले हप्ता राम्रो रहनेछ। परिवार र प्रियजनसँग प्रेम र समझदारी कायम रहनेछ। दाम्पत्य जीवन सुखद रहनेछ र प्रेम सम्बन्धमा पनि सकारात्मकता रहनेछ ।
उपाय- विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।
कर्कट राशि
यस हप्ता कर्कट राशिका लागि मनले चाहेको जस्तो परिणाम आउने सम्भावना छ। तपाईंले गरेको मेहनत र कामको राम्रो फल पाउन सक्नुहुन्छ। धेरै क्षेत्रमा सकारात्मक परिणाम देखिने भएकाले आत्मविश्वास बढ्नेछ र नयाँ उत्साहका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न सक्नुहुन्छ।
विद्यार्थी र प्रतियोगी परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूका लागि समय विशेष राम्रो रहनेछ। हप्ताको सुरुतिर पढाइ र परीक्षामा सफलता प्राप्त हुने योग देखिन्छ। लामो समयदेखि प्रतीक्षा गरेको राम्रो समाचार पनि आउन सक्छ। उच्च शिक्षामा देखिएका बाधा बिस्तारै हट्ने सम्भावना छ।
विदेशमा करियर वा व्यवसाय गर्ने सोच बनाएका व्यक्तिहरूका लागि पनि यो हप्ता अनुकूल रहनेछ। त्यस दिशामा गरिएको प्रयास सफल हुन सक्छ। नोकरी गर्ने व्यक्तिहरूलाई मन परेको स्थानमा सरुवा हुने वा राम्रो संस्थाबाट नयाँ प्रस्ताव आउने सम्भावना छ।
कार्यस्थलमा वरिष्ठ अधिकारीको सहयोग प्राप्त हुनेछ। उनीहरूको सहयोगले नयाँ योजना वा काम सुरु गर्ने अवसर पनि मिल्न सक्छ। व्यापार गर्नेहरूका लागि बजारको राम्रो अवस्थाबाट राम्रै लाभ हुने सम्भावना देखिन्छ। यदि केही समयदेखि पारिवारिक समस्या थियो भने घरका कुनै ज्येष्ठ सदस्यको सहयोगले समाधान निस्कन सक्छ। सही दिशामा मेहनत गरेमा आम्दानी, प्रतिष्ठा र मानसम्मान पनि बढ्न सक्छ।
प्रेम सम्बन्धका लागि यो हप्ता सुखद रहनेछ। प्रेम सम्बन्ध अझ गहिरो र बलियो हुन सक्छ। प्रेमी वा जीवनसाथीबाट सानो उपहार वा सरप्राइज पनि मिल्न सक्छ। सामाजिक दृष्टिले हप्ता राम्रो रहनेछ। आफन्त र साथीभाइसँग भेटघाट बढ्नेछ। व्यापारमा पुरानो अनुभवले राम्रो फाइदा दिन सक्छ। साहसिक काम गर्न मन लाग्न सक्छ। दाजुभाइबाट सहयोग मिल्ने सम्भावना छ।
कसैलाई पैसा सापटी दिनुअघि राम्रो सोच्नुहोस्। सानो गल्तीले ठूलो विवाद हुन सक्छ। कामको व्यस्तताले परिवारलाई समय दिन नसक्ने स्थिति आउन सक्छ। अनावश्यक लामो यात्रा नगर्नु राम्रो हुन्छ। लोभका कारण प्रतिष्ठामा असर पर्न सक्छ।
उपाय- यस हप्ता भगवान श्रीकृष्णको मन्त्र “ॐ क्लीं कृष्णाय नमः” जप गर्नु शुभ मानिन्छ।
सिंह राशि
यस हप्ता सिंह राशिका व्यक्तिहरू व्यस्ततामा बित्ने सम्भावना छ । विभिन्न काम र जिम्मेवारीका कारण समय निकै व्यस्त हुन सक्छ । अविवाहित व्यक्तिहरूको विवाह तय हुने सम्भावना पनि देखिन्छ । विदेशी कम्पनीमा काम गर्नेहरूलाई नयाँ जागिरको अवसर आउन सक्छ । बाहिरी सम्बन्ध र चिनजानबाट सहयोग मिल्नेछ।
परिवारबाट टाढा बस्ने व्यक्तिहरूले घर जाने वा छुट्टी लिने योजना बनाउन सक्छन्। भविष्यलाई ध्यानमा राखेर बीमा वा कुनै योजनामा लगानी गर्ने विचार पनि आउन सक्छ। मेडिकल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो हप्ता अनुकूल रहनेछ। नोकरी गर्नेहरूले आफ्नो काम जिम्मेवारीका साथ पूरा गर्ने प्रयास गर्नेछन्।
तर यो हप्ता सावधानी अपनाउनु अत्यन्त आवश्यक छ। सानो लापरवाहीले ठूलो समस्या ल्याउन सक्छ, त्यसैले सबै काम सोचेर र सावधानीका साथ गर्नु राम्रो हुन्छ। कार्यस्थलमा विरोधीले बाधा पुर्याउने प्रयास गर्न सक्छन्, त्यसैले आफ्नो योजना सबैलाई नबताउनु राम्रो हुन्छ। धैर्य र समझदारीले काम गरेमा कठिन परिस्थिति पनि नियन्त्रणमा आउन सक्छ।
हप्ताको बीचतिर घरपरिवारसँग सम्बन्धित केही समस्या आउन सक्छ। परिवारका सदस्यसँग बोल्दा नम्रता र संयम राख्नु आवश्यक हुन्छ। सानो कुरा ठूलो विवाद नबनोस् भनेर ध्यान दिनु राम्रो हुन्छ। स्वास्थ्यतर्फ पनि ध्यान दिनु आवश्यक छ। टाउकोमा चोट लाग्ने सम्भावना देखिन्छ, त्यसैले सावधानी अपनाउनुहोस्। शारीरिक सफाइमा ध्यान दिनु राम्रो हुन्छ। खुट्टामा दुखाइ वा थकान पनि हुन सक्छ।
व्यापार गर्नेहरूले हतारमा निर्णय नगर्नु राम्रो हुन्छ। कसैको कुरा सुनेर ठूलो लगानी वा सम्झौता नगर्नुहोस्, नत्र आर्थिक समस्या आउन सक्छ।अनावश्यक जिद्दी नगर्नुहोस्।कसैसँग झगडा वा विवाद नगर्नुहोस्।पैसासम्बन्धी निर्णय सोचेर मात्र गर्नुहोस्।
उपाय- हरेक दिन देवीको अगाडि घ्यूको बत्ती बाल्नु र दुर्गा चालीसा पाठ गर्नु शुभ हुनेछ ।
कन्या राशि
यस हप्ता कन्या राशिका लागि मिश्रित परिणाम आउने देखिन्छ। हप्ताको सुरुमा कामका कारण छोटो वा लामो यात्रा गर्नुपर्ने सम्भावना छ। यो यात्रा अलि थकानपूर्ण हुन सक्छ र अपेक्षा गरेजस्तो परिणाम नआएर मन अलि खिन्न हुन सक्छ।
यस समयमा घरपरिवारसँग सम्बन्धित केही समस्या पनि देखिन सक्छ। यस्तो अवस्थामा अनुभवी व्यक्ति र शुभचिन्तकको सल्लाहलाई बेवास्ता नगर्नु राम्रो हुन्छ, किनकि उनीहरूको सुझाव तपाईंका लागि लाभदायक हुन सक्छ।
यस हप्ता दैनिक जीवन र खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। लापरवाही गरेमा शारीरिक वा मानसिक समस्या आउन सक्छ। हप्ताको बीचतिर स्वास्थ्यमा अझ बढी ध्यान दिनु राम्रो हुन्छ। मौसम परिवर्तनका कारण सानो रोग लाग्ने सम्भावना हुन
सक्छ।
अरूसँग कुरा गर्दा उनीहरूको मानसम्मानको ख्याल राख्नुहोस्। गलत व्यवहारले प्रतिष्ठामा असर पर्न सक्छ। यस समयमा जग्गा वा घरसम्बन्धी विवाद पनि चिन्ताको कारण बन्न सक्छ।
यस हप्ता विपरीत लिङ्गप्रति आकर्षण बढ्न सक्छ। नयाँ बनेको मित्रता प्रेम सम्बन्धमा बदलिन सक्ने सम्भावना छ। तर हतारमा निर्णय नगर्नु राम्रो हुन्छ, नत्र सामाजिक छविमा असर पर्न सक्छ। वैवाहिक जीवन सुखद बनाउन जीवनसाथीको भावना बुझेर सम्मान गर्नु आवश्यक छ।
काम गर्ने ठाउँमा सहकर्मीबाट सहयोग मिल्नेछ। यस हप्ता तपाईंको लोकप्रियता पनि बढ्न सक्छ। शुक्रबार व्यवसाय वा कामका लागि राम्रो अवसर मिल्न सक्छ। लक्ष्य प्राप्त गर्न तपाईं गम्भीर भएर मेहनत गर्ने सोच बनाउनुहुनेछ। कार्यस्थलमा महिला सहकर्मीहरूसँग विनम्र व्यवहार गर्नुहोस्।कसैले गरेको वाचा पूरा नगर्दा मन दुख्न सक्छ। पुराना गल्तीबाट सिकेर सुधार गर्ने प्रयास गर्नु राम्रो हुन्छ। तनाव कम गर्न परिवारसँग समय बिताउनु राम्रो हुन्छ।
उपाय- यस हप्ता गणेश चालीसा पाठ गर्नु शुभ र लाभदायक मानिन्छ।
तुला राशि
यस हप्ता तुला राशिका लागि सावधानी र सन्तुलनका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । सानो फाइदाको लोभमा ठूलो नोक्सान हुन नदिन विशेष ध्यान दिनु राम्रो हुन्छ।
कामकाजको क्षेत्रमा अचानक लाभ हुने सम्भावना देखिन्छ। परिवारमा आपसी समझदारी र राम्रो तालमेल रहनेछ । रियल इस्टेट, निर्माण वा जग्गा–घरसम्बन्धी काम गर्नेहरूलाई राम्रो परिणाम मिल्न सक्छ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान र प्रतिष्ठा बढ्न सक्छ।
प्रेम सम्बन्ध भएका व्यक्तिहरूले विवाहको तयारी गर्ने सोच बनाउन सक्छन्। आफ्नो कामको गुणस्तर सुधार गर्ने प्रयास गर्ने भएकाले बिस्तारै परिस्थिति पनि तपाईंको पक्षमा आउन सक्छ । प्रतियोगी परीक्षा दिने विद्यार्थीहरूलाई राम्रो सफलता मिल्ने सम्भावना छ।
तर हप्ताको सुरुमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ। खर्चमा नियन्त्रण नगरेमा आर्थिक समस्या आउन सक्छ। अनावश्यक कुरामा पैसा खर्च नगर्नु राम्रो हुन्छ। व्यापार गर्नेहरूले जोखिमपूर्ण लगानी नगर्नु राम्रो हुन्छ र पैसाको लेनदेन गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ।
नियम–कानुनको बेवास्ता नगर्नुहोस्, नत्र आर्थिक जरिवाना वा प्रतिष्ठामा असर पर्न सक्छ। हप्ताको बीचतिर नोकरी गर्नेहरूलाई साना काम पूरा गर्न पनि धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ।
विद्यार्थीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुनसक्छ, त्यसैले आलस्य त्यागेर मेहनत गर्नु आवश्यक छ। स्वास्थ्यतर्फ पनि ध्यान दिनु राम्रो हुन्छ। हड्डीसम्बन्धी समस्या वा शरीर दुख्ने समस्या आउन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनु आवश्यक छ।
सम्बन्धको दृष्टिले हप्ताको अन्त्यतिर प्रेमी वा जीवनसाथीसँग सानो मतभेद हुन सक्छ। यस्तो अवस्थामा धैर्य र समझदारी राख्नु राम्रो हुन्छ।बच्चाहरूसँग नरम र राम्रो व्यवहार गर्नुहोस्।अरूलाई छिटो विश्वास नगर्नुहोस्।नकारात्मक सोचबाट टाढा रहनुहोस्।महत्वपूर्ण निर्णय सोचेर मात्र लिनुहोस्।
उपाय- हरेक दिन दुर्गा अष्टोत्तरशतनाम स्तोत्र पाठ गर्नु शुभ मानिन्छ।
वृश्चिक राशि
यस हप्ता अगाडि बढ्ने राम्रो अवसर आउने सम्भावना छ । धेरै क्षेत्रमा सकारात्मक परिणाम देखिन सक्छ। नोकरी गर्ने व्यक्तिहरूका लागि समय विशेष राम्रो रहनेछ। कार्यस्थलमा यश, सम्मान र प्रशंसा प्राप्त हुन सक्छ।
व्यापार गर्नेहरूका लागि आम्दानी बढ्ने संकेत छ। रोकिएको पैसा पनि प्राप्त हुन सक्छ। जग्गा–जमिन वा घरजग्गा किनबेचमा फाइदा हुने सम्भावना छ। नयाँ र रचनात्मक विचार प्रयोग गरेर आफ्नो कामलाई अझ राम्रो बनाउने अवसर मिल्नेछ।परिवारमा प्रेम र विश्वास बढ्नेछ। आफन्तले तपाईंलाई सहयोग र साथ दिनेछन्। तपाईंको व्यक्तित्वमा आकर्षण बढ्ने भएकाले मानिसहरू प्रभावित हुन सक्छन्।
तर केही सावधानी पनि आवश्यक छ। जीवनमा केही परिवर्तन आउने संकेत देखिन्छ, त्यसैले धैर्य र संयम राख्नु राम्रो हुन्छ। कामको दबाब बढ्न सक्छ र धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ। नोकरी वा पढाइमा सानो अवरोध पनि आउन सक्छ।
खराब संगतबाट टाढा रहनु राम्रो हुन्छ। कसैसँग कठोर वा तीतो शब्द प्रयोग नगर्नुहोस्। सानो लापरवाहीका कारण राम्रो अवसर हातबाट निस्कन सक्छ।
यस हप्ता वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ र सहकर्मीको साथले काम सजिलो बन्न सक्छ। योजना बनाएर काम गरेमा अपेक्षा भन्दा राम्रो सफलता प्राप्त हुन सक्छ। सरकारी वा कानुनी विषयमा पनि राम्रो समाचार आउने सम्भावना छ।
हप्ताको बीचतिर कुनै मांगलिक कार्यक्रम वा समारोहमा सहभागी हुने मौका मिल्न सक्छ। लामो समयपछि पुराना साथीभाइसँग भेटघाट हुन सक्छ। युवाहरूको समय सामाजिक गतिविधि र रमाइलोमा बित्न सक्छ।
हप्ताको अन्त्यतिर व्यापारसँग सम्बन्धित राम्रो खबर आउन सक्छ। व्यवसाय विस्तार गर्ने योजना पनि सफल हुन सक्छ। बजारमा प्रतिष्ठा र विश्वास बढ्ने सम्भावना छ।सम्बन्धका दृष्टिले हप्ता सामान्य र सन्तुलित रहनेछ। दाजुभाइसँग सम्बन्ध राम्रो रहनेछ। प्रेम सम्बन्ध पनि अनुकूल रहनेछ र परिवारले प्रेम सम्बन्धलाई स्वीकार गरेर विवाहको कुरा अघि बढाउन सक्छ। वैवाहिक जीवन पनि सुखद रहनेछ।
उपाय- यस हप्ता हनुमान चालीसा पाठ गर्नु शुभ फलदायी मानिन्छ।
धनु राशि
यस हप्ता धनु राशिका लागि मेहनत र धैर्यको परीक्षा हुने सम्भावना छ । आफ्ना सोचिएका कार्यहरू पूरा गर्न अतिरिक्त प्रयास र परिश्रम गर्नुपर्नेछ । “डरको अगाडि जीत छ” भन्ने मंत्र सम्झँदै लगातार सही दिशामा मेहनत गरेमा सफलता पाउनु सम्भव छ।
यस हप्तामा तपाईंका शुभचिन्तक र नजिकका व्यक्तिहरूले तपाईंको प्रयासमा सहयोग गर्नेछन्। उनीहरूको सहयोगले कामकाजमा आउने कठिनाइहरू सजिलै समाधान हुन सक्छन्। हप्ताको बीचतिर अचानक केही समस्याले प्रगति रोक्न सक्छ, जसका कारण काम ढिला हुन सक्छ र मन अलिकति उदास हुन सक्छ। तर यो अवस्था लामो समय टिक्ने छैन र हप्ताको अन्त्यतिर परिस्थितिहरू फेरि तपाईंको पक्षमा आउन सक्छन्।
करियर र व्यवसायका दृष्टिले हप्ताको उत्तरार्ध अधिक अनुकूल रहनेछ। यस समयमा व्यापारसँग सम्बन्धित कुनै ठूलो सफलता वा शुभ समाचार मिल्ने सम्भावना छ। कामका सिलसिलामा लामो दूरीको यात्रा पनि हुन सक्छ। परिवारसँग तीर्थ यात्रा जाने अवसर पनि मिल्न सक्छ। मागलिक र धार्मिक कार्यक्रममा सहभागी हुने मौका पनि हुनेछ। गुरूको आशीर्वादले तपाईंका धेरै काम सहजै पूरा हुनेछन्। अल्प प्रयासले पनि कार्य सिद्ध हुन सक्छ।
महिलाहरूका लागि याे हप्ता विशेष शुभ रहनेछ । साहस र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग सम्बन्ध राम्रो रहनेछ। वित्तीय क्षेत्रमा कार्यरतले धन लाभ पाउनेछन्। परिवारका सदस्यलाई केही उपहार दिने योजना पनि बन्न सक्छ। मंगलवार र बुधवार शुभ रहने दिन हुन्।
प्रेम सम्बन्धमा हप्ता अनुकूल रहनेछ। पार्टनरसँग नजिकपन बढ्नेछ र खुशीका पल बिताउने अवसर मिल्नेछ। विवाहितहरूलाई ससुराल पक्षबाट विशेष सहयोग र समर्थन मिल्नेछ, जसले वैवाहिक जीवन सुखद बनाउनेछ।
उपाय- यस हप्तामा आदित्य हृदय स्तोत्र पाठ गर्नु शुभ र लाभकारी मानिन्छ।
मकर राशि
यस हप्ता महत्वपूर्ण कार्य सुरु गर्ने अवसर हाे । युवा जातकहरूले नयाँ जागिर पाउने सम्भावना छ। कार्यप्रणालीमा विशेषता र निपुणता आउनेछ। सन्तानको करियरमा आएको अवरोध हट्नेछ। आर्थिक अवस्था सुदृढ रहनेछ। व्यापारमा नयाँ सम्झौता स्थापित हुन सक्छ। अचानक धन लाभ मिल्ने योग बनिरहेका छन्।
काममा निष्ठावान रहने र विरोधीहरूमा प्रभाव पार्ने क्षमता रहनेछ। तर अति आत्मविश्वासले कहिलेकाहीँ समस्या पनि सिर्जना गर्न सक्छ। स्वास्थ्यमा कफ जम्ने कारण केही असुविधा हुन सक्छ। पाचनतन्त्र कमजोर हुन सक्छ। अधीनस्थ कर्मचारीहरूलाई अनुशासित राख्नु आवश्यक छ। अरूको सामु आफ्नो कमजोरी देखाउनबाट बच्नुहोस्। प्रेम सम्बन्धमा मर्यादा पालन गर्नु लाभदायक हुनेछ। घुँडामा दुखाइ हुन सक्छ। छिमेकीसँग झगडा हुन सक्ने सम्भावना छ।
मकर राशिकाहरूलाई धैर्य र समझदारीका साथ अगाडि बढ्न सल्लाह दिइन्छ। जीवनमा दुई कदम अघि बढ्न एक कदम पछाडि हट्नुपरे पनि पछि नहिचकिचाउनुहोस्। परिस्थिति अनुसार निर्णय लिनु भविष्यमा लाभदायक साबित हुनेछ।
हप्ताको सुरुमा केही घरेलु समस्याले मन चिन्तित हुन सक्छ। यस्ता समस्याको समाधान गर्दा भावनात्मक नभई विवेक र समझदारीको प्रयोग गर्नु आवश्यक छ। साना कुरामा बढी ध्यान नदिनुहोस्, अन्यथा तनाव बढ्न सक्छ।
नौकरीपेशा जातकहरूलाई कार्यक्षेत्रमा विरोधीबाट सतर्क रहनु आवश्यक छ। कतिपयले तपाईंको काममा बाधा पुर्याउने प्रयास गर्न सक्छन्, त्यसैले सबै काम सावधानीपूर्वक र पूर्ण ध्यानसाथ गर्नुहोस्।
हप्ताको मध्यमा भूमि वा भवन सम्बन्धी विवाद सुल्झाउन कोर्ट–कचहरीको दौडधूप हुन सक्छ। पैतृक सम्पत्तिसँग सम्बन्धित केही अड़चन पनि आउन सक्छ। क्रोध वा भावनामा बहेर ठूलो निर्णय लिनुबाट बच्नुपर्छ। आवश्यक परे केही समयको लागि निर्णय स्थगित गर्नु लाभदायक हुनेछ।
व्यवसायसँग सम्बन्धित जातकहरूले आफ्नो सबै कागजी काम व्यवस्थित राख्नुपर्छ, नत्र अनावश्यक झन्झट बढ्न सक्छ। साझेदारी व्यवसाय गर्नेहरूले सबै कुरा स्पष्ट गरी अघि बढ्नु फाइदाजनक हुनेछ। हप्ताको उत्तरार्धमा छोटो वा लामो यात्रा हुन सक्छ, जसले सुखद अनुभव र लाभ दुवै दिनेछ। यस क्रममा सत्ता वा सरकारी व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना पनि छ।
उपाय- हनुमानजीको मन्दिरमा गएर हनुमान चालीसा पाठ गर्नु लाभदायी हुनेछ।
कुम्भ राशि
यो हप्ताले सावधानी र धैर्यसाथ अगाडि बढ्ने संकेत दिइरहेको छ। यस समयमा कुनै पनि काममा छिटो गर्ने वा लापरवाही गर्ने गल्तीले ठूलो समस्या ल्याउन सक्छ।
नौकरीपेशा जातकहरूले यस हप्तामा आफ्नो काममा विशेष सतर्कता अपनाउनु पर्नेछ। कामलाई अरूको भरोसामा छोड्नु ठीक हुँदैन, किनभने गल्ती भएमा वरिष्ठ अधिकारीको गुनासो वा असन्तोषको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले आफ्नै ध्यान राखेर काम समयमै पूरा गर्नु लाभदायक हुनेछ।
हप्ताको सुरुमा छिमेकी वा वरिपरिका मानिससँग साना कुरामा विवाद हुने सम्भावना छ। अनावश्यक बहस वा तकरारबाट टाढा रहनु नै समझदारी हुनेछ, किनभने यसले धन र मान–सम्मान दुवैमा असर पुर्याउन सक्छ। यसै क्रममा मनमा अनजान डर वा चिन्ता पनि उत्पन्न हुन सक्छ।
आर्थिक पक्षमा यो हप्ता आयभन्दा खर्च बढी रहने सम्भावना छ। त्यसैले अनावश्यक खर्चबाट बच्न प्रयास गर्नुहोस्। सट्टा, लटरी वा छोटो बाटोबाट धन कमाउने प्रयासबाट टाढा रहनु नै राम्रो हुनेछ।
स्वास्थ्यको दृष्टिले हप्ताको उत्तरार्ध केही प्रतिकूल रहन सक्छ। मौसम वा पुरानो रोगको पुनरुत्थानले शारीरिक–मानसिक असुविधा ल्याउन सक्छ। त्यसैले दिनचर्या र खानपानमा विशेष ध्यान दिनुहोस्। वाहन चलाउँदा पनि सावधानी अपनाउनु लाभदायक हुनेछ।
पढाइमा संलग्न छात्र–छात्राहरूले अधिक मेहनत गर्नुपर्नेछ। परीक्षा वा प्रतियोगिता तयारीका लागि समय र परिश्रम आवश्यक हुनेछ। उच्च शिक्षामा प्रयासरतले केही अवरोधहरूको सामना गर्न सक्छ।
परिवार वा लव पार्टनरसँग कहिलेकाहीँ गलतफहमी उत्पन्न हुन सक्छ। विवादको सट्टा बातचीत र समझदारीबाट समस्या समाधान गर्नु लाभदायक हुनेछ। यस हप्तामा तपाईंको कार्यक्षेत्रमा प्रभाव बढाउन सजिलो हुनेछ। मित्रहरूको सुझाव धेरै लाभदायक हुनेछ। सेल्स र मार्केटिङसँग सम्बन्धित जातकहरूको आम्दानी बढ्न सक्छ। परिवारमा मांगलिक कार्यक्रमको योजना बन्नेछ। विदेश यात्रा सम्बन्धी बाधा हट्नेछ। धार्मिक कार्यमा रुचि लिने अवसर मिल्नेछ।
सप्ताहको आरम्भमा खर्च बढ्न सक्छ। कुनै बुजुर्गसँग वाद–विवाद हुन सक्छ। आँखासम्बन्धी समस्या उत्पन्न हुन सक्छ। दिनचर्या अलमलिनेछ। देखावटी काममा भूल हुन सक्छ। खानपानमा लापरवाही नगर्नुहोस्। व्यवसायमा अपेक्षित लाभ नपाउन सकिन्छ। उच्चाधिकारीसँग सम्बन्ध मधुर राख्नु र कानुनी मामिलामा सतर्क रहनु लाभदायक हुनेछ। परिवारिक सुखमा केही कमी आउन सक्छ।
उपाय- सूर्यदेवलाई जलमा हल्दी मिसाएर अर्घ्य दिनु लाभदायी हुनेछ।
मीन राशि
मीन राशि हुनेहरूले यस हप्तामा आत्मविश्वास र निश्चयका साथ आफ्ना निर्णय लिन सक्नेछन्। घरका सदस्यहरूले आफ्नो जिम्मेवारीमा निष्ठा देखाउनेछन्। आफ्नो उत्पादन वा कामको गुणस्तर सुधार्ने प्रयास रहन सक्छ। तपाईंको सूझबुझका कारण कठिन कामहरू पनि सहज रूपमा पूरा हुनेछन्। वैवाहिक जीवनमा सामञ्जस्य रहनुका साथै परिवारमा खुशीको वातावरण बनिरहनेछ। आफ्नो कुरा प्रभावकारी तरिकाले व्यक्त गर्ने क्षमता बढ्नेछ। सप्ताहन्त विशेष सुखदायी रहनेछ।
हप्तामा आचरणमा संयम र समझदारी देखाउनु लाभदायक हुनेछ। अरूको बहकावटमा नपर्नुहोस्। थोड़ी टालमटोलले अवसर हराउन सक्छ। मूड स्विङ्गका कारण मानिसहरूमा तपाईंको प्रतिष्ठा कम हुन सक्छ, त्यसैले आफूलाई अशान्त र असहज नहुन दिनुहोस्। विदेशसँग सम्बन्धित व्यापारमा केही समस्या आउन सक्नेछ।
मीन राशिका जातकहरूका लागि यो हप्ता शुभता र सौभाग्य लिएर आएको छ। सोचेका कार्यहरू समयमै पूरा हुनेछन्, जसले तपाईंको उत्साह र आत्मविश्वास बढाउनेछ। आफ्नो मेहनत र सूझबुझका बलमा ठूलो काम पनि सजिलै पूरा गर्न सकिनेछ।
कार्य क्षेत्रमा वरिष्ठ अधिकारीहरूबाट पूर्ण सहयोग र समर्थन प्राप्त हुनेछ। हप्ताको सुरुमा केही समयदेखि चलेका समस्याहरू समाधान हुनेछन्, जसले ठूलो राहत दिनेछ। योजनाबद्ध रूपमा काम गर्दा अधिकांश कार्य सफलतापूर्वक पूरा हुनेछन्।
व्यवसायसँग सम्बन्धित जातकहरूका लागि सप्ताहको पूर्वार्ध विशेष लाभदायक हुन सक्छ। यस समयमा कुनै ठूलो डील वा सम्झौता गर्न सकिनेछ, जसले राम्रो लाभ दिने सम्भावना छ। नौकरीपेशा जातकहरूका लागि पनि यो समय शुभ रहनेछ। आयका अतिरिक्त स्रोत बन्नेछन् र संचित धनमा वृद्धि हुन सक्छ।
समाजसेवा वा राजनीति संग सम्बन्धित व्यक्तिहरूका लागि यो हप्ता गुडलक लिएर आउँछ। मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ। कुनै विशेष कार्यको लागि सम्मान पाउन सकिन्छ। लामो समयदेखि रोजगारी खोजिरहेका व्यक्तिहरूका लागि सप्ताहको उत्तरार्धमा मनचाहा रोजगारी प्राप्त हुने संकेत छन्।
घरका लागि सुख–सुविधासँग सम्बन्धित वस्तु खरिद गर्ने मौका मिल्नेछ, जसले परिवारमा खुशी ल्याउनेछ। प्रेम सम्बन्धहरूमा अनुकूलता रहनेछ। लव पार्टनरसँग खुशीका पल बिताउने अवसर मिल्नेछ र आपसी समझ बढ्नेछ। संतानसँग सम्बन्धित सुखद खबरले परिवारमा खुशीको वातावरण बनाउनेछ। स्वास्थ्य सामान्य र सन्तुलित रहनेछ।
उपाय- विष्णु सहस्रनामको पाठ गर्नु शुभ र लाभकारी हुनेछ।































प्रतिक्रिया