चितवन कसरामा विक्रमबाबा पूजा : चैत ५ देखि १९ गतेसम्म आयोजना

चितवन कसरामा विक्रमबाबा पूजा : चैत ५ देखि १९ गतेसम्म आयोजना

केन्द्रबिन्दु
0
Shares

चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरामा हरेक वर्ष चैतेदसैँमा हुने विक्रमबाबा पूजाको तयारी सुरु भएको छ। यस वर्ष चैत ५ देखि १९ गतेसम्म पूजा आयोजना गरिने छ।

विक्रमबाबा पूजास्थल राप्ती पुलबाट करिब दुई किलोमिटर भित्र रहेको छ। परम्परागत रूपमा थारू जातिले गर्दै आएका यस पूजामा अहिले सबै समुदायका मानिसहरूले सन्तान प्राप्ति, सुखसमृद्धि र मनोकाङ्क्षा पूर्ति गर्ने विश्वासका साथ सहभागी हुने गर्छन्।

भरतपुर महानगरपालिका–२३ संरक्षकत्वमा मेलाको व्यवस्थापन गरिँदैछ। वडाध्यक्ष दीपक दवाडीका अनुसार मन्दिर सरसफाइ, सडक मर्मत, प्रदर्शनीकक्ष व्यवस्थापन र स्वास्थ्यसम्बन्धी तयारी भइरहेको छ।

पूजा व्यवस्थापनको संयोजन केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीले गर्नेछन्। यसमा पटिहानी मध्यवर्ती उपभोक्ता समिति, निकुञ्ज प्रशासन, नेपाली सेना र घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि सहभागी हुनेछन्।

सामुदायिक वन क्षेत्रमा २५० प्रदर्शनीकक्ष निर्माण गरिनेछ। सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स र पानी ट्याङ्कीको व्यवस्था पनि गरिने छ। विगतका वर्षअनुसार यस वर्ष पनि करिब छ लाख भक्तजन मेला भर्न आउने अनुमान छ।

निकुञ्जमा पूजा बिहान ६:०० देखि साँझ ५:०० बजेसम्म प्रवेश खुला रहनेछ। मेलाको सञ्चालन बिहान ५:०० देखि साँझ ८:०० बजेसम्म हुनेछ। सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वयमा व्यवस्था गरिनेछ। पुल क्षेत्रमा भक्तजनहरूको भीड व्यवस्थापनका लागि नगरप्रहरीले लाइन व्यवस्थापन गर्नेछ।

Logo