जलजलामा यसरी मनाईयो ६१औं अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवस [फोटो फिचर]

जलजलामा यसरी मनाईयो ६१औं अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवस [फोटो फिचर]

केन्द्रबिन्दु
123
Shares

निर्मल पौडेल,पर्वत। पर्वतको जलजला गाउँपालिकामा ६१औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जलजला गाउँपालिकाको कार्यालयमा सम्पन्न कार्यक्रमले विभेदको जरैदेखी निर्मूल हुनुपर्ने आवश्यकता औँलाएको छ ।

“विविधतामा एकता, समानतामा समृद्धि” भन्ने नारासहित आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले कानुनमा मात्र नभएर व्यवहार र सोचमै परिवर्तन नआएसम्म विभेद अन्त्य सम्भव नहुने बताएका छन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख अतिथि विष्णुराम विकले राज्यले कानुनी रूपमा समानता सुनिश्चित गरे पनि समाजमा अझै विभेद जरा गाडेर बसेको उल्लेख गरे।

उनले भने, “संविधानले बराबरीको हक दिएको छ, तर व्यवहारमा त्यो पूर्ण रूपमा लागू भएको छैन । गाउँदेखि सहरसम्म विभेदका विभिन्न रूप देखिन्छन्।” विभेदलाई अन्त्य गर्न शिक्षा, चेतना र सामाजिक अभियान सँगसँगै लैजानपर्ने भन्दै विकले हरेक नागरिकले आफ्नो सोच परिवर्तन नगरेसम्म कानुन मात्रै पर्याप्त नहुनेमा जोड दिए।कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजु आचार्यले स्थानीय सरकार विभेद अन्त्यको अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए ।


आचार्यले भने, “हामीले नीति निर्माण मात्रै होइन, त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका छौँ। समाजका सबै वर्गलाई समान अवसर दिने वातावरण बनाउने प्रयत्नमा निरन्तर लागिरहेका छौं। समाजमा विकास तब मात्र सार्थक हुन्छ, जब त्यसको लाभ सबैसम्म समान रूपमा पुग्छ । विभेदरहित समाज निर्माण हाम्रो प्राथमिकता हो।” गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले विभेद अन्त्यलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए ।

उनले विभेद कुनै एक समुदायको मात्र मुद्दा नभएर यो समग्र समाजको समस्या भएको औल्याउँदै यसलाई हटाउन सरकार, समुदाय र व्यक्तिहरूबीच सहकार्य आवश्यक रहेको जिकिर गरे। चेतना अभिवृद्धि, शिक्षा र व्यवहार परिवर्तन बिना दिगो समाधान सम्भव नहुने आचार्यको भनाई रहेको थियो । दलित अधिकारकर्मी निर्मल विश्वकर्माले व्यवहारमा अझै विभेद कायम रहेको यथार्थ प्रस्तुत गरे ।

उनले भने, “कागजमा समानता भए पनि व्यवहारमा असमानता देखिन्छ । दलित समुदायले अझै पनि सम्मान, अवसर र पहुँचमा विभेद भोगिरहेको अवस्था छ । यस्ता कार्यक्रमले आवाज उठाउन सहयोग गर्छ, तर त्यसलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै पक्ष गम्भीर हुनुपर्छ।”

कार्यक्रममा कार्यपालिका सदस्य भिमसेन बहादुर बराइलीले स्वागत मन्तव्य राख्दै सामाजिक रूपान्तरणका लागि यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विन्दु शर्माले सञ्चालन गरेको कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत हरीकृष्ण आचार्य,वडा नम्वर ४ का अध्यक्ष भरत बहादुर क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रममा गाउँपालिकाभित्रका अन्य वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि गरी करिब ५५ जनाको सहभागिता रहेको थियो।

सहभागीहरूले शिक्षा प्रणालीमा समानताको मूल्य समावेश गर्नुपर्ने, विभेदविरुद्ध कडा कार्यान्वयन आवश्यक रहेको र समुदायस्तरमै निरन्तर संवाद गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमले विभेद अन्त्यका लागि केवल नारामुखी अभियान पर्याप्त नहुने, ठोस नीति, व्यवहारिक कदम र सामाजिक चेतना आवश्यक हुने निष्कर्ष निकालेको छ ।

जलजला गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo