निर्मल पौडेल,पर्वत। कालीगण्डकी र काठेखोलाको दोभानमाथि, घना हरियाली वन क्षेत्रको बीचमा अवस्थित बागलुङ कालिका भगवती मन्दिर नेपालका प्रमुख शक्तिपीठहरूमध्ये एक हो। बागलुङ नगरपालिका–२ मा रहेको यो मन्दिर धार्मिक आस्था, ऐतिहासिक गौरव, सांस्कृतिक सम्पदा, व्यापारिक गतिविधि र पर्यटकीय आकर्षणको जीवन्त केन्द्र मानिन्छ ।
कालिका भगवतीको दर्शन गर्दा शक्ति, सफलता, सन्तान प्राप्ति, रोग निवारण तथा विभिन्न मनोकामना पूरा हुने जनविश्वास छ । यस कारण नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारत लगायत अन्य देशबाट समेत हजारौं–लाखौं श्रद्धालु दर्शनार्थी आउने गर्छन्।
मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा रहेको छ र प्राकृतिक हरियाली, शान्त वातावरण र नदीको दृश्यले यसलाई थप पवित्र बनाएको छ । बागलुङ कालिका भगवती मन्दिरको स्थापना वि.सं. १५९१ (सन् १५३४ आसपास) तिर भएको मानिन्छ ।
लोककथा र स्थानीय इतिहासअनुसार, पर्वतका राजा प्रतापी नारायण सिंह मल्ल (प्रताप नारायण मल्ल) ले पाल्पाका राजा मणिमुकुन्द सेन की छोरी विश्रुवा देवी (वा बिश्राव) सँग विवाह गरेका थिए । राजकुमारी कालिका भगवतीकी परम भक्त थिइन् र उनले बाल्यकालदेखि नै देवीको प्रत्यक्ष दर्शन पाउने गरेको विश्वास रहेको छ । विवाहमा दाइजोस्वरूप राजकुमारीले पाल्पाली कालिकाको पवित्र मूर्ति मागेकी थिइन्। विवाहपछि दुलही र दुलहा सहितको जन्ती टोली फर्कने क्रममा हाल मन्दिर रहेको घना जङ्गलमा एक रात बास बस्नुप¥यो। भोलिपल्ट बिहान मूर्ति उठाउन कोही पनि सफल भएनन्। यो घटनालाई दैवी संकेत ठानेर राजाले त्यही ठाउँमा मन्दिर स्थापना गर्न आदेश दिएको मानिन्छ । सुरुमा सानो मन्दिर बनाइएको थियो। पछि राजा मणिमुकुन्द सेनले आफ्नी छोरीको मनोकामना पूरा गर्न दुई तले प्यागोडा शैली को भव्य मन्दिर निर्माण गराएको किंवदन्ती प्रचलित छ ।
त्यसयता खड्का वंशले निरन्तर पूजा–अर्चना गर्दै आएका छन्। मन्दिरको मूर्ति भूगर्भमा राखिएको छ र सीधा आँखाले हेर्न नसकिने हुँदा यसले थप रहस्यमयता थपेको छ । मन्दिर परिसरमा शिव, राधा–कृष्ण, लक्ष्मी–नारायण लगायतका साना मन्दिरहरू पनि छन्।
अद्धभुद शक्तिको प्रतिक मानिने यस मन्दिरमा विशेष गरी चैते दशैं (चैत्र शुक्ल अष्टमी) र बडादशैं मा विशेष पूजा, नवदुर्गा पाठ र परम्परागत पूजा गरिन्छ । भक्तजनहरूले शक्ति प्राप्ति, मनोकामना पूरा हुने विश्वाससाथ भाकल गर्छन्। दैनिक रूपमा कालीगण्डकी नदीको पवित्र जल ले अभिषेक गरी पूजा गर्ने परम्परा अझै जीवित छ । मन्दिर परिसरमा नौधारा, स्नानगृह, सत्तल, १०८ तामाका दियो, प्रस्तर मूर्तिहरू, ठूला तामाका घण्टा र सिंहका मूर्तिले आध्यात्मिक वातावरणलाई थप गहिरो बनाएका छन्।
स्थानीय किंवदन्तीअनुसार, मध्यरातमा देवी बाघमा चढेर कालीगण्डकीमा स्नान गर्न आउने र भक्तलाई प्रत्यक्ष दर्शन दिने विश्वास रहिआएको छ ।
यहाँ दशैँको अवसरमा भव्य मेला लाग्ने गर्छ। यहाँ लाग्ने कालिका मेला केवल धार्मिक जमघट मात्र नभएर यो ऐतिहासिक व्यापारिक केन्द्र पनि मानिन्छ । पहिले मुस्ताङबाट नुन, च्याङ्ग्रा र ऊनी सामग्री तथा तल्लो भेगबाट अन्न, डोको, डालो, राडीपाखी, काठका ठेकी र हस्तकला सामग्री ल्याएर वस्तु विनिमय गर्ने चलन यही मेलाबाट विकसित भएको मानिन्छ ।
अहिले पनि मेलाको समयमा स्थानीय उत्पादन, हस्तकला, कृषिजन्य वस्तु र पर्यटकीय सामग्रीको ठूलो कारोबार हुन्छ । स्थानीय व्यवसायीहरूका लागि यो वर्षको सबैभन्दा ठूलो व्यापारिक अवसर बन्छ । पहिले १५ दिनसम्म लाग्ने मेला अहिले कालिका भगवती गुठी व्यवस्थापन समिति को संयोजनमा ७ देखि १० दिनसम्म सञ्चालन हुने गर्दछ ।
कालिका मेला गण्डकी प्रदेशको सांस्कृतिक पहिचानसँग अटुट जोडिएको छ । यहाँ सालैजो, यानीमाया, सोरठी जस्ता लोकगीत, दोहोरी प्रतियोगिता, रथयात्रा, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरूले विशेष आकर्षण दिने गरेका छन् । यस्तै ‘कालिका कप’ खुला भलिबल प्रतियोगिता (महिला तथा पुरुष दुवै) राष्ट्रिय स्तरमै चर्चित छन् । यसले बागलुङलाई भलिबलको उर्वर भूमिका रूपमा स्थापित गरेको छ । विभिन्न नृत्य, छेलो र खेलकुद कार्यक्रमले युवाहरूलाई मेलासँग जोड्ने गरेको छ । हाल कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिर र मेलाको व्यवस्थापन गर्दै आएको छ ।
धार्मिक एतिहासिक तथा पौराणिक मन्दिर ताम्रपत्रले छाइएको छ, मन्दिर कलात्मक इँटा प्रयोग गरी निर्माण गरिनुले मन्दिरको थप आकर्षण थपेको छ। मन्दिर परिसरमा हरियाली संरक्षण, सौन्दर्यकरण र पूर्वाधार विकासले धार्मिक पर्यटनलाई बल दिएको छ । यहाँ जोडी परेवा उडाए रोगव्यादी दुखकष्ट सवै हटेर जाने जनविश्वास रहेको छ । कालिका मन्दिरमा चैते दशैं र बडादशैंमा भक्तजनको भीड अत्यधिक हुन्छ । गुठी समितिले ‘कालिका दर्शन वर्ष’ जस्ता अभियान पनि सञ्चालन गरेको छ ।
आज बागलुङ कालिका मन्दिर पूर्वाधार सुधार, प्रचारप्रसार र व्यवस्थापनका कारण धार्मिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । मन्दिर केवल आस्थाको केन्द्र मात्र नभएर सामाजिक एकता, सांस्कृतिक निरन्तरता र स्थानीय अर्थतन्त्रको बलियो आधार बन्दै गएको छ ।
पाँच सय वर्षभन्दा लामो इतिहास बोकेको यो शक्तिपीठ आस्था, संस्कृति, व्यापार, खेलकुद र प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा समेटेको बागलुङ कालिका भगवती मन्दिर नेपाली समाजको विश्वास, परम्परा, सामाजिक एकता र आर्थिक परिवर्तनको महत्वपूर्ण आधार मानिन्छ । आज पनि नेपाली संस्कृति र पहिचानको जीवित प्रतीकका रूपमा मन्दिर उभिएको छ जसले आउने पुस्तालाई आस्था, भक्ति र सांस्कृतिक निरन्तरताको अमूल्य पाठ सिकाइरहन्छ ।





























प्रतिक्रिया